हरिकुमार दुलाल ।
२०८२ साल भदौ २३ गते—यो मितिले नेपालका लागि एउटा कालो दिनको परिचय दियो। सडकमा न्याय र अधिकारको माग गर्दै आन्दोलनमा सहभागी जेन-जीका बालकदेखि युवा सम्म 19 जना नेपालीलाई सिधै गोली हानी निर्मम हत्या गरियो।
यस्तो अमानवीय घटना कुनै युद्धमै पनि देखिँदैन, तर नेपालले आफ्नै भूमिमा आफ्ना नागरिकमाथि यसरी गोली चलाएर विश्व समुदाय सामु लज्जास्पद अध्याय देखायो।
आज देशभित्र मात्र होइन, विदेशमा बसेका नेपालीहरूको मनमा एउटै प्रश्न उब्जिएको छ—
“अखिर यो कसको सरकार हो? यो कसको राज्य हो? नागरिकलाई सुरक्षा दिने राज्य नै जब गोलीको निशानामा बदलिन्छ, तब हामी नेपाली भएर कहिले गर्व गर्न सक्छौं?”
यो आन्दोलन केवल दमनविरुद्ध होइन
मलाई लाग्छ, यो आन्दोलन केवल राज्यद्वारा गरिएको दमन र हिंसाविरुद्ध मात्र होइन।यो आन्दोलन नेपाललाई दीर्घकालीन रूपमा खाइरहेको भ्रष्टाचारको जरोविरुद्ध पनि हो।
आज देशमा न्याय ढिलो मात्र होइन, प्रायः नपाउने स्थिति छ।
शक्ति र पैसाले कानूनलाई कब्जा गर्छ। योग्यता होइन, सिफारिसले अवसर बाँडिन्छ। जनताको कर र पसिनाको धन केही गुटले आफ्नो सम्पत्ति बढाउन प्रयोग गर्छ।
यस्तो अवस्थामा युवा पुस्ताले विद्रोह नगरी के गर्ने?केवल जेन-जी होइन, सम्पूर्ण पुस्ताले यो प्रश्नलाई आफ्नो बनाउनु अनिवार्य छ।
मौन बस्नु भनेको अपराधलाई मान्यता दिनु हो
सत्ताले नागरिकको आवाज दबाउँछ।
प्रहरीमार्फत सुरक्षाको साटो गोली बाँडिन्छ।
भ्रष्टाचारले राष्ट्रलाई खोक्रो बनाउँछ।
यी सबैबीच चुपचाप बस्नु भनेको अन्यायलाई मान्यता दिनु हो।
त्यसैले आज आवश्यक छ—
नयाँ पुस्ताले सुरु गरेको आन्दोलनलाई पुराना पुस्ताले पनि काँधमा काँध मिलाएर अघि बढाउनु।
सडकमा नारा गुञ्जिनु।
गाउँ–शहर एक भएर उत्रिनु।
आन्दोलनलाई केवल एक पुस्ताको होइन, सम्पूर्ण पुस्ताको साझा जिम्मेवारीमा बदल्नु।
परिवर्तन सम्भव छ, तर सम्पूर्ण नेपाली उठ्दा मात्र
म विश्वास गर्छु—परिवर्तन सम्भव छ।
तर यो परिवर्तन केवल तब हुन्छ, जब सम्पूर्ण नेपाली एकैसाथ उठ्छन्।
अन्याय, दमन र भ्रष्टाचारविरुद्ध कुनै एक वर्ग वा पुस्ताको मात्र होइन, राष्ट्रव्यापी लडाइँ आवश्यक छ।
आज म एक साधारण नेपालीको हैसियतले प्रश्न गर्छु—
नेपाली भएर स्वतन्त्र, सुरक्षित र गर्वका साथ बाँच्ने अधिकार हामीलाई कहिले दिने?
यो प्रश्न केवल मेरो होइन, हरेक नेपालीको हो।
यसको जवाफ अब सत्ताले दिनै पर्छ।



