जयप्रकाश आनन्द / मेरो बाल्यकालका केही दृश्यहरू समयको धुलोले पुरिन सकेका छैनन्। ती आज पनि स्मृतिको कुनै कुनामा उस्तै ताजा छन्—मानौँ हिजो मात्र देखिएका दृश्यहरू हुन्। ती स्मृतिहरूमध्ये एउटा स्मृति हो—सीमापारिको शहर, बिहारको बीरपुरमा पढेको एक नारा।

म सानो हुँदा हाम्रो गाउँबाट सदरमुकाम राजबिराज पुग्नु भन्दा सीमावर्ती शहर बीरपुर पुग्नु सजिलो लाग्थ्यो। त्यसैले सिनेमा हेर्न, लुगाफाटा किन्न, औषधोपचार गर्न, फोटो खिच्न—जीवनका साना–साना उत्सव र आवश्यकताहरूका लागि हामी बारम्बार बीरपुर पुग्थ्यौं। त्यो समयको बीरपुर अहिले सम्झँदा एउटा अनौठो उज्यालो शहर जस्तो लाग्छ।त्यो सीमावर्ती सानो शहरमा कुनै ठूला महानगरको झल्को थियो। अहिलेका शब्दमा भन्नुपर्दा, त्यसमा एउटा ‘कस्मोपोलिटन’ आत्मा धड्किरहेको थियो।

कोशी योजनाको मुख्यालय त्यहीं थियो।

भारतका विभिन्न प्रान्तबाट आएका इन्जिनियरहरू, प्राविधिकहरू, उच्च कर्मचारीहरू, अनि कोशी ब्यारेज निर्माणमा संलग्न हजारौं श्रमिकहरूले बीरपुरलाई एउटा नयाँ सामाजिक भूगोलमा बदलिदिएका थिए।
त्यहाँ केवल एउटा शहर थिएन—त्यहाँ अनेक भाषा, अनेक अनुहार, अनेक सपना र अनेक विचारहरू मिसिएर बनेको एउटा चलायमान संसार थियो। सायद पहिलो पटक मैले त्यहीँ ‘राजनीति’ लाई किताब वा कथाको विषय होइन, सडकमा हिँड्ने जीवित शक्तिका रूपमा देखेको थिएँ। कोशी कामगार युनियनको कार्यालयअगाडि दिनभरि र मध्यरातसम्म हँसिया–हथौडाको विशाल रातो झण्डा फहराइरहेको हुन्थ्यो। त्यहाँ श्रमिक नेताहरूका जोशिला भाषणहरू गुञ्जिरहन्थे। म अलिक सानै थिएँ, धेरै कुरा बुझ्दिनथेँ, तर ती आवाजहरूमा एउटा अदृश्य आगो थियो, जसले मेरो मनलाई अनौठोसँग तान्थ्यो। त्यो समयको बिहार सामन्तवाद, जातीय विभाजन, ठूला जमीन्दारहरूको दबदबा र भारतीय काँग्रेसको राजनीतिक प्रभुत्वले भरिएको समाज थियो।

तर त्यही समाजको भित्री तहमा कम्युनिष्ट आन्दोलनको एउटा प्रचण्ड उथलपुथल पनि चलिरहेको थियो। माकपा र भाकपाको प्रभाव गाउँदेखि शहरसम्म गहिरोसँग फैलिएको देखिन्थ्यो। सोभियत धारको कम्युनिष्ट विचार र चिनियाँ क्रान्तिको प्रभाव—दुवै धाराहरू त्यहाँ समानान्तर बगिरहेका थिए। चिया पसलहरूमा, पानका गुम्तीहरूमा, रेल्वे स्टेशनका वरिपरि, मजदुर बस्तिहरूमा—राजनीतिक बहसहरू अनवरत् चलिरहन्थे। ‘जनशक्ति’, ‘आर्यावर्त’, ‘सर्चलाइट’ जस्ता पत्रिकाहरू केवल समाचारपत्र थिएनन्, ती विचारका हतियारजस्तै लाग्थे। राजनीति त्यहाँ नेताहरूको विषय मात्र थिएन, साधारण मानिसहरूको दैनिकीको हिस्सा बनिसकेको थियो।
तर बीरपुरसँग जोडिएको मेरो सबैभन्दा गाढा स्मृति एउटा नारासँग सम्बन्धित छ। शहर प्रवेश गर्नेबित्तिकै सरकारी कार्यालयको लामो र अग्लो पर्खालमा रातो रङका कलात्मक अक्षरहरूमा एउटा नारा लेखिएको हुन्थ्यो—“लाल किले पर लाल निशान, जल्द आ रही है हिन्दोस्तान !”

सोभियत संघको पतनपछि नयाँ मोडमा प्रवेश गरिसकेको थियो। चीनले बजार अर्थतन्त्र अँगालिसकेको थियो। तर भारतीय कम्युनिष्ट आन्दोलन अझै इतिहासका पुराना घोषणापत्रहरूको छायामा उभिएको देखिन्थ्यो। पश्चिम बंगाल यसको सबैभन्दा मार्मिक उदाहरण बन्यो। तीन दशकभन्दा बढी शासन गरेको शक्ति अन्ततः परिवर्तनको प्रतीक होइन, थकित सत्ताको प्रतीक बन्न पुग्यो। जुन आन्दोलन भूमिसुधारको नायक थियो, उही पछि किसान असन्तोषको आरोपमा घेरियो। र, इतिहासले निर्मम मोड लियो। त्रिपुरामा पनि समयले यस्तै फैसला सुनायो। लामो राजनीतिक प्रभुत्वपछि संगठनहरू वृद्ध भए, भाषाहरू पुराना भए, नयाँ पुस्तासँग संवाद कमजोर हुँदै गयो। आज भारतीय कम्युनिष्ट आन्दोलनलाई हेर्दा मलाई कहिलेकाहीँ पुराना रेल स्टेशनहरूको सम्झना आउँछ—जहाँ कुनै समय अत्यन्त भीड हुन्थ्यो, नाराहरू हुन्थे, यात्राको हतार हुन्थ्यो, इतिहासको गति हुन्थ्योस तर समय फेरिएपछि त्यहाँ केवल पुराना साइनबोर्ड बाँकी रहन्छन्, केही स्मृतिहरू बाँकी रहन्छन्। तर इतिहासप्रति न्याय गर्नुपर्छ।

म हरेक पटक त्यो नारा हेर्थें। टकटकी लगाएर। मानौँ त्यो कुनै साधारण लेखोट होइन, भविष्यको उद्घोष हो।त्यो नाराले मेरो बालमनलाई विचित्र ढंगले हल्लाउँथ्यो।म लामो समयसम्म त्यसैलाई सोचिरहन्थेँ। र बिस्तारै मेरो मनमा एउटा दृढ विश्वास जन्मिएको थियो— एक दिन भारतभर कम्युनिष्टहरूको शासन हुनेछ। त्यो केवल मेरो कल्पना मात्र थिएन। त्यो समयका लाखौं मानिसहरूको अनुमान पनि लगभग त्यस्तै थियो।किनकि समाजको असमानता, गरिबी, श्रमिक असन्तोष, किसान विद्रोह, जातीय विभाजन र राजनीतिक बेचैनी—सबैले मानौँ एउटै दिशातर्फ संकेत गरिरहेका थिए। पश्चिम बंगाल, त्रिपुरा, केरलजस्ता प्रदेशहरू लगभग पूर्ण रूपमा कम्युनिष्ट प्रभावमा पुगिसकेका थिए। बिहार, उडिसा, आन्ध्रा, तमिलनाडु, महाराष्ट्र र पूर्वी भारतका अन्य भूभागहरूमा पनि रातो राजनीति तीव्र गतिमा फैलिरहेको थियो।
मेरो विश्वासको बलियो जग त्यहीँ थियो—बीरपुरका ती सडकहरूमा, ती भाषणहरूमा, ती पत्रिकाहरूमा, र त्यो रातो अक्षरमा लेखिएको नारामा। आज धेरै दशकपछि फर्केर हेर्दा लाग्छ—त्यो केवल एउटा शहरको स्मृति थिएन। त्यो मेरो राजनीतिक चेतनाको पहिलो पाठशाला थियो।

भारतमा एक दिन साम्यवाद आउनेछ—कमसेकम त्यहाँको संसदीय लोकतन्त्रभित्रै धेरै प्रदेशहरूमा कम्युनिष्टहरूले निर्णायक शक्ति बनाउनेछन् भन्ने मेरो पुरानो विश्वास थियो। त्यो विश्वास कुनै आकस्मिक भावुकता थिएन। इतिहासका अनेक दृश्यहरूले त्यसलाई मलजल गरेका थिए। किनभने, संसारको इतिहासमै जननिर्वाचनबाट कम्युनिष्टहरूले पहिलो पटक सरकार बनाएको देश भारत थियो। सन् १९५७ मा केरलाको जनादेशले संसारलाई चकित पारेको थियो। लोकतन्त्र र साम्यवाद एकअर्काका शत्रु मात्र होइनन्, सहयात्री पनि हुन सक्छन् भन्ने सन्देश त्यसले दिएको थियो। त्यसपछि पश्चिम बंगालका लाल झण्डाहरू दशकौँसम्म हावामा फहराइरहे। त्रिपुराका पहाड र सीमावर्ती भूगोलमा वाम आन्दोलनले आफ्नै स्थायित्व निर्माण गर्‍यो। केरलम्, बंगाल, त्रिपुरा—यी केवल प्रदेश थिएनन्, भारतीय वामपन्थका जीवित प्रतीक थिए।

दिल्लीको सत्ता राजनीतिमा पनि कम्युनिष्टहरू कुनै हाशियाको शक्ति थिएनन्। कहिले सरकार निर्माणका निर्णायक सूत्रधार, कहिले संघीय सत्ताका अनिवार्य साझेदार। भारतीय संसद लोकसभाको सभामुखजस्तो गरिमामय पदमा समेत वामपन्थ पुगेको थियो। त्यतिबेला लाग्थ्यो—भारतमा साम्यवाद बन्दूकबाट होइन, मतपत्रबाट अघि बढिरहेको छ। तर इतिहास सधैँ रेखीय हुँदैन। राजनीतिमा स्थायित्वभन्दा परिवर्तन नै अधिक स्थायी सत्य रहेछ।
आज जब म भारतीय निर्वाचन परिणामहरू हेर्छु, समयले कसरी सम्पूर्ण राजनीतिक भूगोल उल्ट्याउँदो रहेछ भन्ने अनुभूति हुन्छ। एक समय वर्गसंघर्षका नाराले गुञ्जिने भूगोलहरूमा आज कम्युनिष्टहरू आफ्नो अस्तित्व जोगाउन संघर्षरत देखिन्छन्। भारतीय राजनीतिमा पहिलो पटक यस्तो अवस्था आएको छ, जहाँ वाम आन्दोलन राष्ट्रिय शक्ति होइन, स्मृतिको अध्यायझैँ देखिन थालेको छ। यो केवल निर्वाचन हार होइन। यो एउटा युगको क्रमशः अवसान हो।
भारतीय कम्युनिष्ट आन्दोलनले मजदुरका कारखानामा, किसानका खेतमा, विश्वविद्यालयका प्राङ्गणमा, साहित्यकारका बहसमा, बुद्धिजीवीका चेतनामा गहिरो प्रभाव छोडेको थियो। तर समयसँगै भारत बदलिँदै गयो। समाजको आकांक्षा बदलियो।राजनीतिक भावनाहरू बदलिँदै गए। वर्गको राजनीतिलाई जातीय समीकरणले विस्थापित गर्‍यो।आर्थिक बहसलाई धार्मिक ध्रुवीकरणले ढाक्न थाल्यो।अन्तर्राष्ट्रिय समाजवादको आदर्शभन्दा राष्ट्रवादको भावनात्मक उभार अधिक शक्तिशाली बन्यो। वामपन्थ भने धेरै हदसम्म आफ्नै पुराना भाष्यभित्र कैद रह्यो।

संसार सोभियत संघको पतनपछि नयाँ मोडमा प्रवेश गरिसकेको थियो। चीनले बजार अर्थतन्त्र अँगालिसकेको थियो। तर भारतीय कम्युनिष्ट आन्दोलन अझै इतिहासका पुराना घोषणापत्रहरूको छायामा उभिएको देखिन्थ्यो। पश्चिम बंगाल यसको सबैभन्दा मार्मिक उदाहरण बन्यो। तीन दशकभन्दा बढी शासन गरेको शक्ति अन्ततः परिवर्तनको प्रतीक होइन, थकित सत्ताको प्रतीक बन्न पुग्यो। जुन आन्दोलन भूमिसुधारको नायक थियो, उही पछि किसान असन्तोषको आरोपमा घेरियो। र, इतिहासले निर्मम मोड लियो। त्रिपुरामा पनि समयले यस्तै फैसला सुनायो। लामो राजनीतिक प्रभुत्वपछि संगठनहरू वृद्ध भए, भाषाहरू पुराना भए, नयाँ पुस्तासँग संवाद कमजोर हुँदै गयो। आज भारतीय कम्युनिष्ट आन्दोलनलाई हेर्दा मलाई कहिलेकाहीँ पुराना रेल स्टेशनहरूको सम्झना आउँछ—जहाँ कुनै समय अत्यन्त भीड हुन्थ्यो, नाराहरू हुन्थे, यात्राको हतार हुन्थ्यो, इतिहासको गति हुन्थ्योस तर समय फेरिएपछि त्यहाँ केवल पुराना साइनबोर्ड बाँकी रहन्छन्, केही स्मृतिहरू बाँकी रहन्छन्। तर इतिहासप्रति न्याय गर्नुपर्छ।

भारतीय वाम आन्दोलनले भारतको लोकतन्त्रलाई गहिरो योगदान पनि दिएको छ। भूमिसुधार, श्रमिक अधिकार, संघीय बहस, धर्मनिरपेक्षता, सामाजिक न्याय, बौद्धिक प्रतिरोध—यी क्षेत्रमा वामपन्थको योगदान अस्वीकार गर्न सकिँदैन। भारतमा लोकतन्त्र केवल दक्षिणपन्थको उपलब्धि होइनस त्यसलाई सन्तुलित राख्न वामपन्थी हस्तक्षेपले पनि ठूलो भूमिका खेलेको थियो। यद्यपि, राजनीति केवल गौरवशाली इतिहासले जीवित रहँदैन।
हरेक विचारधाराले हरेक पुस्तासँग पुनः संवाद गर्नुपर्छ।समयको भाषालाई बुझ्नुपर्छ। नत्र, इतिहासले कुनै समय क्रान्तिको प्रतीक बनेका शक्तिहरूलाई पनि क्रमशः स्मृतिमा रूपान्तरण गरिदिन्छ।

-सप्तरी, धरमपुरबाट

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको