काठमाडौं । जापान पठाइदिने भन्दै सयौँ व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेकी नबिना कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। वैदेशिक रोजगार विभागले कार्कीलाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ। विभागको पत्रअनुसार उनीविरुद्ध वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ। वैदेशिक रोजगार न्यायाधिकरणबाट २०८३ साउन २० गते पक्राउ अनुमति प्राप्त भएपछि विभागले प्रहरीलाई पत्र पठाएको हो।
विभागको पत्रमा मदन भण्डारीको जाहेरीका आधारमा नेपाल सरकार वादी र नबिना कार्की प्रतिवादी रहेको वैदेशिक रोजगारसम्बन्धी कसुरको अनुसन्धान भइरहेको उल्लेख छ। उनलाई पक्राउ गरी स्वास्थ्य परीक्षणसमेत गराएर विभागमा उपस्थित गराउन प्रहरीलाई अनुरोध गरिएको छ। पीडितहरूको आरोपअनुसार नबिना र उनका श्रीमान् निमा भन्ने निर्मल राईले जापान पठाइदिने भन्दै ठूलो रकम उठाएका थिए। उनीहरूले सयौँ व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको र जापान पठाइएका कतिपय व्यक्तिलाई समेत अलपत्र पारेको आरोप छ। प्रहरी स्रोतका अनुसार कार्कीसहित उनका पती निर्मलको पनि खोजी भइरहेको छ ।
वैदेशिक रोजगार विभागले अनुसन्धानका क्रममा सहयोग गर्न र नबिना फेला नपरेमा सोही व्यहोराको प्रतिवेदन उपलब्ध गराउन प्रहरीलाई अनुरोध गरेको छ।
हेर्नुस् पक्राउ पुर्जी






