काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काले पार्टीबाट प्रमाणपत्र नपाएको विषयलाई लिएर नेतृत्वको नैतिकता र संस्थागत जवाफदेहितामाथि प्रश्न उठाएकी छन्। आफू अन्यायमा परेको दाबी गर्दै उनले पार्टीभित्र सत्यको पक्षमा उभिन नसक्ने नेतृत्व र मौन बस्ने संयन्त्रप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
निर्वाचित सम्पूर्णलाई बधाई दिँदै खड्काले आफूजस्तै अन्याय वा संकटमा भोलि अरू नेता–कार्यकर्ता पनि पर्न सक्ने उल्लेख गरेकी छन्। त्यस्तो अवस्थामा सम्बन्धित व्यक्तिको पक्षमा निर्धक्क भएर उभिन आफू तयार रहेको उनको भनाइ छ।
‘भोलि तपाईंहरूमध्ये कोही पनि यस्तै अन्याय वा संकटमा पर्नुभयो भने, तपाईंको पक्षमा निर्धक्क भएर चट्टानझैँ उभिने ल्याकत र दम राख्ने राजनीतिक प्राणी हुँ म,’ उनले लेखेकी छन्।
खड्काले गल्ती गर्ने जोकोहीले कानुनबमोजिम सजाय भोग्नुपर्ने स्पष्ट पार्दै त्यसमा आफू पनि अपवाद हुन नसक्ने बताएकी छन्। ‘गल्ती गर्नेले कानुनबमोजिम सजाय भोग्नुपर्छ, चाहे त्यो म आफैँ किन नहोस्। यदि गल्ती छ भने “नो इफ, नो बट”,’ उनको भनाइ छ।
तर, आफ्नै निर्दोष सहयात्रीमाथि अन्याय हुँदा सत्य बोल्ने आँट नगर्ने नेतृत्व र मौन बस्ने संयन्त्रलाई पार्टी मान्न नसकिने उनको टिप्पणी छ। उनले यस्तो प्रवृत्तिले संस्थागत राजनीतिको मर्ममाथि प्रश्न उठाउने संकेत गर्दै त्यसलाई ‘स्वार्थी भिड’को संज्ञा दिएकी छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा महिला खुलातर्फ खड्काले २ हजार ८६६ मत पाएर खड्का निर्वाचिच भएकी छन् ।





