काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  नेतृत्वको सरकारलाई पाँच वर्ष नै काम गर्न दिनुपर्ने पक्षमा उभिएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा अहिले प्रधानमन्त्री बालेन्द्र शाह सँग आमनेसामने भएका छन्। केही समयअघिसम्म सरकारलाई काम गर्न दिनुपर्ने र राम्रा काममा सहयोग गर्ने बताउँदै आएका थापा अहिले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै प्रतिपक्षी भूमिकालाई आक्रामक बनाउने निष्कर्षमा पुगेका छन्।

विवाद संसद्, प्रेस स्वतन्त्रता, राज्यशक्तिको प्रयोग र सरकारको जवाफदेहितासँग जोडिएको छ। पछिल्लो समय दुवै नेताबीच सामाजिक सञ्जालबाट समेत अप्रत्यक्ष कटाक्ष र चेतावनीपूर्ण अभिव्यक्ति आउन थालेपछि राजनीतिक वृत्तमा उनीहरूको सम्बन्धलाई लिएर चर्चा चुलिएको छ। यसको पछिल्लो उदाहरण प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमा लेखेको चेतावनीपूर्ण स्टाटस र त्यसको जवाफमा कांग्रेस सभापति थापाले सोमबार साँझ ६ बजे लेखेको व्यङ्ग्यात्मक स्टाटस हो। शाहले सही समय आएपछि सबैको गलत समय आउने र एक–दुई जना उम्किने सपना नदेख्न चेतावनी दिएका थिए। त्यसको जवाफमा थापाले लेखे, ‘अहिले ठीक १८:०० बजेको छ, तर्साउने धेरै आए, तर्सिने बानी परेन।’

यसअघि पनि असोजमा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा थापाले संसद्लाई खुला बहसको थलो बनाउन प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने टिप्पणी गरेका थिए। त्यसको जवाफमा शाहले खुलामञ्चलाई नयाँ पार्टीले आलोचना गर्ने कार्यक्रम गर्न सक्ने गरी सुधारिएको भन्दै व्यङ्ग्य गरेका थिए। यसरी सुरु भएको सार्वजनिक कटाक्ष अहिले सरकारको कार्यशैली र राजनीतिक जवाफदेहितासँग जोडिएर थप चर्किएको देखिन्छ।

बालेनको चेतावनी र गगनको प्रतिवाद
थापाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सार्वजनिक रूपमा धारणा राखेको भोलिपल्ट प्रधानमन्त्री शाहको चेतावनीपूर्ण स्टाटस आएको थियो। शाहले कसैलाई उम्किन नदिने आशयको अभिव्यक्ति दिएपछि त्यसलाई थापासँग जोडेर व्याख्या गरिएको छ। थापाको १८:०० बजेको स्टाटसलाई पनि दुई अर्थमा हेरिएको छ। उनले प्रधानमन्त्रीको चेतावनीलाई प्रत्यक्ष जवाफ दिएका हुन् भने सार्वजनिक वृत्तमा उनीमाथि चर्चामा रहेको १८ करोड रुपैयाँको कारोबारसम्बन्धी आरोपप्रति पनि व्यङ्ग्य गरेको हुन सक्ने व्याख्या गरिएको छ। यद्यपि थापाले आफ्नो स्टाटसमा कसैको नाम उल्लेख गरेका छैनन्।

तर पाँच वर्ष सरकार चलाउने जनादेश पाउनु र पाँच वर्षसम्म सरकारका हरेक गतिविधिलाई प्रश्नविहीन स्वीकार गर्नु फरक कुरा भएको उनको तर्क छ। अर्कोतर्फ प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमाथि प्रमुख प्रतिपक्षी कांग्रेसले प्रश्न उठाउन थालेपछि सरकार र प्रतिपक्षबीचको दूरी बढेको छ। सामाजिक सञ्जालमा देखिएको कटाक्षले यो राजनीतिक असमझदारीलाई व्यक्तिगत टकरावतर्फ समेत धकेलिरहेको संकेत गर्छ।

वास्तवमा अहिलेको विवाद पाँच वर्ष सरकार चलाउने कि नचलाउने भन्ने होइन, पाँच वर्ष सरकार चलाउँदा राज्यशक्ति कसरी प्रयोग गर्ने र त्यसको जवाफदेहिता कसले लिने भन्ने हो। गगन थापाले सरकारको स्थायित्वलाई समर्थन गर्दै त्यसको कार्यशैलीमाथि खबरदारी गर्न खोजेका छन् भने बालेन शाहले त्यसको जवाफ कसरी दिन्छन् भन्ने कुराले आगामी राजनीतिक सम्बन्ध निर्धारण गर्नेछ।

५ वर्षको म्यान्डेट स्वीकार, मनोमानी अस्वीकार !

थापाले सरकारसँगको आफ्नो असन्तुष्टि आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक रूपमा सार्वजनिक गरेका थिए। उनले रास्वपालाई पाँच वर्ष सरकार चलाउने जनादेश प्राप्त भएको स्वीकार गरे पनि त्यसको अर्थ मनमौजी शासन गर्ने छुट नभएको स्पष्ट पारे। उनको भनाइमा रास्वपाले पाँच वर्ष सरकार चलाउने म्यान्डेट पाएको छ भने कांग्रेसले पनि पाँच वर्ष प्रमुख प्रतिपक्षमा रहेर सरकारको निगरानी गर्ने म्यान्डेट पाएको छ। त्यसैले सरकारलाई सहयोग गर्नुपर्ने ठाउँमा सहयोग गर्ने र विरोध गर्नुपर्ने ठाउँमा विरोध गर्ने कांग्रेसको नीति रहेको उनले बताएका थिए।

भ्रष्टाचार नियन्त्रण र सुशासनका नाममा कर्मचारीलाई पक्राउ गर्ने, प्रधानमन्त्री कार्यालयमा लगेर बयान गराउने तथा राज्यका निकायलाई दबाबको माध्यम बनाउने प्रवृत्तिप्रति पनि थापाले प्रश्न उठाएका छन्। उनले प्रधानमन्त्री, मन्त्री र प्रहरीसमेत कानुनभन्दा माथि हुन नसक्ने भन्दै अधिकारको सीमा उल्लंघन हुँदा त्यसले दुरुपयोगको रूप लिने बताएका छन्।

विचौलियासँग जोडिएका प्रकरण तथा सार्वजनिक भएका आर्थिक अनियमितताका घटनामा सरकारले निष्पक्ष अनुसन्धान गर्नुपर्ने थापाको माग छ। कसैलाई जोगाउन वा कसैलाई फसाउन राज्यका निकाय प्रयोग गर्न नहुने उनको भनाइ छ।विशेषगरी अनुसन्धान चयनात्मक भएको आशंका व्यक्त गर्दै उनले सबै प्रकरणमा प्रमाणका आधारमा अनुसन्धान र दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन्। विचाैलिया इनल सापकाेटाले कांग्रेस वैधािनकताकाे विवादमा अदालत र निर्वाचन आयोग सेटिंगमा थापा संलग्न रहेकाे भन्दै अडियाे बाहिर आएपछि थापा सरकारविरुद्ध थप आक्रामक भएका छन् । थापा पक्षले सरकारले आफुहरुमाथि षड्यन्त्र गर्न खोजिएको दाबी गरेको छ ।  कांग्रेस संस्थापनइतरपक्षले संस्थापनले आयोगमा चोलेन्द्र शमशेर राणाको भाइ सगुन शमशेरमार्फत सेटिङ गरेको दाबी गरेको छ । इतरका नेता जीतजंग बस्नेत राणाकै सेटिङले आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको