काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान केन्द्रीय सदस्य डा. नरेश भट्टले पार्टीका भ्रातृ संगठनहरूमा टीका लगाएर नेतृत्व चयन गर्ने परम्पराको अन्त्य गर्न माग गरेका छन् । पछिल्लो समय पार्टी नेतृत्वले तदर्थ समिति बनाउँदा निर्वाचन नगरी मनोनीत गर्ने प्रवृत्ति बढेको भन्दै उनले त्यसको विकल्प प्रस्तुत गरेका हुन् ।
भट्टले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वलाई सुझाव दिँदै भ्रातृ संगठनमा फेरि टीका लगाउनुको साटो पार्टीकै नेतृत्वमा एउटा अधिकारसम्पन्न कमिटी गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले उक्त कमिटीको मुख्य जिम्मेवारी नै तोकिएको समयभित्र भ्रातृ संगठनको अधिवेशन सम्पन्न गराउनु हुनुपर्नेे छ ।
`पार्टी नेतृत्वलाई मेरो सुझाव— भ्रातृ संगठनमा फेरि टीका लगाउनु भन्दा पार्टीकै नेतृत्वमा एउटा कमिटी बनोस् र सोही कमिटीले भ्रातृ संगठनको अधिवेशन सम्पन्न गरिदियोस्,´ डा.भट्टले भनेका छन्, टीका प्रथा अब अन्त्य गरियोस ।´
लोकतान्त्रिक अभ्यास कमजोर हुँदा संगठन चलायमान हुन नसकेको टिप्पणी गर्दै उनले तल्लो तहदेखि नै निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका छन् । नेविसंघलगायतका भ्रातृ संस्थाहरू लामो समयदेखि महाधिवेशन हुन नसकेर तदर्थवादमा चलिरहेका बेला डा.भट्टको यो सुझाव आएको हो।



