काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार र पार्टीबिच कुनै टकराव नरहेको प्रस्ट पारेका छन्। बिहीबार चितवनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूबिच आवश्यक संवाद भइरहने बताए।
‘दुवैले गरेका कामकारबाहीमा कहिलेकाहीँ प्रश्न आए, जिज्ञासा भए, क्लियारिटी चाहिए हामी बस्छौँ, कुराकानी गर्छौँँ। हाम्रो धेरै भेट भइरहन्छ। तपाईंहरूले थाहा पाउने भेट कम हुन सक्छ। समन्वयको कुनै कमी छैन,’ उनले भने। प्रहरी नेतृत्व परिवर्तनका विषयमा पार्टी प्रवक्ता र सरकारका प्रवक्ताबाट फरक फरक जवाफ आएको विषयमा पत्रकारले प्रश्न गरेका थिए।
सरकार र पार्टी दुवैले आफ्नो काम गर्ने प्रस्ट पार्दै लामिछानेले भने, ‘सरकार टिकाउनका लागि, पार्टीमा एकता कायम गर्नका लागि जतिखेरै छेउमा प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सी राख्ने, त्यस्तो किसिमको अभ्यासमा हामी छैनौँ। एब्सुलुट काम सरकारलाई गर्न दिन्छौँ, एब्सुलुट काम पार्टीले गर्छ।’
उनले भने, ‘पार्टी असन्तुष्ट होइन, कुनै पनि सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ। त्यो औचित्य अवश्य पनि सरकारले पुष्टि गर्ला। सुरक्षा निकायसँग सम्बन्धित रहेको यो जिम्मेवारी हेरफेरमा एउटा असाध्यै संवेदनशील विषय समावेश भएको कारणले सरकारले कुनै निश्चित समयमा यसको औचित्य अवश्य पनि पुष्टि गर्ला।’
सरकारका निर्णयमाथि प्रश्न उठाउने, आवश्यक स्पष्टता माग्ने र निगरानी गर्ने काम पार्टीको जिम्मेवारी भएको बताए। उनले अगाडि भने, ‘सरकारले गरेका सबै चिजलाई पार्टीले होमा हो मिलाउँदैन। पार्टीले गरेका हरेक चिजलाई सरकारले पनि होमा हो मिलाउँदैन। सरकारका निर्णयमा आवश्यक पर्दा पार्टीले फरक धारणा राख्ने र थप स्पष्टता माग्ने गर्छ।’
बालेनकाे प्रतिक्रिया फेसबुकमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नै प्रहरी महानिरीक्षक हटाउने पार्टी नेतृत्वको सरकारको निर्णयबारे प्रश्न उठाएपछि प्रधानमन्त्री वालेन्द्र९बालेन० शाहले यसप्रति समेत लक्षित गर्दै जबाफ दिएका छन् । सभापति लामिछानेले बिहीबार आईजीपी हटाउने निर्णयको सरकारले औचित्य पुष्टि गर्ला भन्दै प्रतिक्रिया दिएका थिए । रास्वपाका अन्य नेताले पनि उक्त निर्णयबारे पार्टीसँग सरकारले छलफल नगरेको भन्दै प्रश्न उठाएका थिए ।
त्यसपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जबाफसहित टिप्पणी गरेका हुन्। उनले सरकारको निर्णयबारे प्रश्न उठाइएपनि आफू नेतृत्वको सरकार देश जोगाउनतर्फ लागेकाले पार्टीले पनि आस गरेको आशयसहितको टिप्पणी गरेका हुन्। तर रास्वपाबाहेकका दलमा भने कार्यकर्ता लड्ने र नेता हाँसेर बस्ने परिपाटी रहेको प्रधानमन्त्रीको टिप्पणी छ । उनले लेखेका छन्,‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् । फरक यति हो । देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।’





