काठमाडौं : नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) मा रिक्त नेतृत्व चयनका लागि लोकतान्त्रिक पद्धति अपनाउन माग गर्दै विद्यार्थीहरूले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्। पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै गरिएको उक्त ध्यानाकर्षणमा १२औं महाधिवेशनलाई सुनिश्चित गर्न महाधिवेशन समिति पार्टीकै तर्फबाट गठन गरी प्रक्रिया अघि बढाउनुपर्ने माग गरिएको छ।
विद्यार्थीहरूको भनाइमा नेविसंघजस्तो संगठनको नेतृत्व चयन केवल सहमतिका आधारमा होइन, खुला प्रतिस्पर्धा र पारदर्शी अभ्यासमार्फत हुनुपर्छ। उनीहरूले भावी नेतृत्व छनोट गर्दा आकांक्षीबीच छलफल, कार्यशैलीको प्रस्तुति तथा आगामी संगठनात्मक कार्ययोजना सार्वजनिक गर्ने अवसर दिनुपर्नेमा जोड दिएकाे नेविसंघ नेता कृष्ण सुवेदीले जानकारी दिए ।
उनीहरूका अनुसार नेतृत्वमा पुग्ने व्यक्तिको क्षमता, संगठनप्रतिको प्रतिबद्धता र विद्यार्थी हितमा काम गर्ने दृष्टिकोणलाई आधार बनाएर मात्र छनोट हुनुपर्छ। यसले संगठनभित्र लोकतान्त्रिक संस्कृति बलियो हुने र नयाँ पुस्ताको विश्वास पनि बढ्ने उनीहरूको तर्क छ।
ध्यानाकर्षणमा सहभागी विद्यार्थीहरूले नेविसंघलाई चलायमान, उत्तरदायी र परिणाममुखी बनाउन समयमै महाधिवेशन आवश्यक रहेको बताए। लामो समयदेखि रिक्त नेतृत्व र अनिश्चितताको अवस्था रहिरहँदा संगठनात्मक गतिविधि कमजोर भएको उनीहरूको भनाइ छ।
उनीहरूले पार्टी नेतृत्वसँग छात्र संगठनलाई आन्तरिक भागबण्डा वा अस्थायी व्यवस्थापनको भरमा होइन, विधि र प्रक्रियाअनुसार अघि बढाउन आग्रह गरेका छन्। महाधिवेशन समितिले निष्पक्ष वातावरण तयार गरी प्रतिनिधि, उम्मेदवार र मतदातालाई समान अवसर दिनुपर्ने माग पनि गरिएको छ।
विद्यार्थीहरूले प्रस्तुत गरेको यो ध्यानाकर्षणले नेविसंघको आगामी नेतृत्व चयनबारे बहसलाई फेरि सतहमा ल्याएको छ। लोकतान्त्रिक अभ्यासमार्फत सक्षम नेतृत्व चयन भए संगठन सशक्त हुने र विद्यार्थी आन्दोलनको विश्वसनीयता बढ्ने उनीहरूको अपेक्षा छ।



