रामेछाप । नेपाली वीरगाथा बोकेको सिन्धुलीको सिन्धुलीगढीस्थित गढी (रानी) दरबार संरक्षण नहुँदा बेवारिसे बनेको छ।

सिन्धुलीको कमलामाई नगरपालिकाले भत्किएको गढी दरबारको पुनर्निर्माण गरेको भएपनि संरक्षण नगर्दा पुनः जीर्ण बन्ने क्रम सुरु भएको छ। पुरानो दरबार भत्किएपछि सिन्धुलीको कमलामाई नगरपालिका–३ मा रहेको सिन्धुलीगढी दरबार चार करोड ३८ लाख रुपैँयाँको लागतमा पुनर्निर्माण गरिएको भए पनि संरक्षण नहुँदा अहिले दरबार भूतबंगला जस्तै बनेको छ।

दरबारको बाहिर आँगनमा झार पलाएर नेपाली वीरताको गाथालाई नै गिज्याइरहेको छ भने दरबारको संरक्षणको कुनै व्यवस्था नहुँदा दरबार भित्र फोहोरको डङ्गुर थुप्रिएको छ। रंगरोगन गरिएको दरबारको भित्ता कोरेर कुरूप बनाइएको छ । कतिपय ढोकाहरू फोरिएका छन् भने माथिल्लो तल्लामा जाने भ‍र्याङ समेत भत्काइएको छ।

इतिहासमा उल्लेख भए अनुसार विसं १८२४ मा नेपाल एकीकरणको समयमा कप्तान किनलकको नेतृत्वमा आएको अंग्रेज फौजलाई तत्कालीन गोर्खाली सेनाले सिन्धुलीगढीको युद्धमा पराजित गरेको कारण यो गढीको गौरवशाली इतिहास छ। सदरमुकाम सिन्धुली माढीबाट २० किलोमिटर उत्तरमा रहेको सिन्धुलीगढी महाभारत क्षेत्रमा पर्छ । बीपी राजमार्गको सोलाभन्ज्याङस्थित गढी प्रवेशद्वारबाट उत्तरतर्फ सिन्धुलीको ठुलो गढी र रानी दरबार रहेका छन्।

ठुलो गढीको संरक्षण गरी टिकट लिएर प्रवेश गर्ने व्यवस्था मिलाइएको भए पनि रानी दरबारको भने कुनै संरक्षण गरिएको छैन। जसले गर्दा दरबार बेवारिसे बनेको छ। नेपालीको वीरतासँग जोडिएको ऐतिहासिक क्षेत्रको रूप रहेको सिन्धुलीगढी दरबारलाई जोगाइराख्ने हो भने विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सकिने भए पनि त्यस तर्फ सरोकारवालाको ध्यान जान सकेको छैन।

पूर्व २ नं क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डाको रूपमा परिचित गढी दरबार तत्कालीन श्री ३ महाराज जङ्गबहादुर राणाका भाइ बमबहादुर राणाका छोरा बमवीर विक्रम राणाले निर्माण गराएको इतिहास छ। सिन्धुलीगढी किल्ला नेपाली वीर गोरखालीको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङको टोलीले विसं १८२४ कात्तिक २४ गतेका दिन अङ्ग्रेज फौजलाई परास्त गर्दै इतिहास रच्नु भएको थियो।

२०२० सालसम्म सिन्धुलीको सदरमुकाम रहेको सिन्धुलीगढीको प्रमुख प्रशासनिक भवन नै गढी दरबार थियो । २०२० सालमा सदरमुकाम सिन्धुलीमाढीमा झरेपछि दरबार भग्नावशेष हुने क्रम सुरु भयो। संरक्षण नहुँदा दरबार भत्कँदै गयो। माओवादीको सशस्त्र द्वन्द्वको समयमा स्थानीयले दरबारका जस्ता पाताहरू लगेपछि दरबारमा आगो समेत लगायो र भवन पूर्ण रूपमा ध्वस्त भयो । पछि कमलामाई नगरपालिकाको अगुवाइमा दरबारको पुनर्निर्माण गरिएको थियो ।

सिन्धुली गढीमा नेपालकै पहिलो युद्ध सङ्ग्रहालय निर्माण भई केही वर्षदेखि सञ्चालनमा आएको भए पनि दरबारको भने संरक्षण हुन सकेको छैन। गढी क्षेत्रमा पृथ्वीनारायण शाहको सालिक स्थापना, वनभोज क्षेत्र, घेराबार लगायत काम सकिएका छन् भने नेपाल–अङ्ग्रेज युद्धका क्रममा सेनाको मृत्यु भएको स्थानमा समाधिस्थलको निर्माण गरिएको छ । त्यति गर्दापनि यो दरबारलाई भने अलग्याइएको छ।

सिन्धुलीगढी नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्ताबेज हो। त्यस क्षेत्रमा सत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्म लाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । वि स १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका ५६ झ्याल टिनको छाना र सिमेन्ट अनि इट्टाको प्रयोग गरी दुई तले दरबार बनाइएको थियो। भत्किएको सोही दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको थियो । तर संरक्षण नभएपछि दरबारले अहिले सबैलाई गिज्याइरहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको