काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २४ गते आफूलाई प्रधानमन्त्रीबाट अपदस्थ गरिएको बताएका छन्सम्पादकहरूसंगकाे छलफलमा उनले आफ्ना धारणा राखेका छन्। राज्यसंयन्त्रले साथ नदिएको र भदौ २३ तथा २४ का घटना भूराजनीतिक चलखेलको परिणाम भएको ओलीको भनाइ छ।
त्यसबेला राज्यसंयन्त्रले प्रधानमन्त्रीलाई सहयोग नगरेको बताउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २४ गते आफूलाई प्रधानमन्त्रीबाट अपदस्थ गरिएको दाबी गरेका छन्। उनले आज मङ्सिर १० गते बिहीबार काठमाडौंमा सम्पादकहरूसँग भएको अन्तरक्रियामा यस्तो बताएका हुन्।
२०८२ भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोलीबाट केही युवाहरूको मृत्यु भएकाे थियाे। भोलिपल्ट २४ गतेकाे प्रदर्शन हिंसात्मक बनेको थियो। त्यसदिन सिंहदरबार, संसद् भवन रहेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सर्वोच्च अदालतलगायतका संरचनामा आगजनी गरेर ध्वस्त पारिएकाे थियाे। साथै प्रधानमन्त्री ओेली, काङ्ग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी अध्यक्ष प्रचण्ड लगायत नेताहरूकाे निजी निवास जलाएर ध्वस्त पारिएकाे थियाे। हिंसा चर्किएपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएको घोषणा गरेका थिए। त्यसपछि उनलाई बालुवाटारबाट सैनिक हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लगिएको थियो।
बिहीबारको अन्तरक्रियामा ओलीले त्यस दिन आफूले राज्यसंयन्त्रबाट सहयोग नपाएको बताए।
ठूलो हिंसात्मक प्रदर्शन हुन लागेको सूचना प्रधानमन्त्रीले कसरी पाउन सकेनन् भन्ने प्रश्नमा उनले राज्यसंयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले सूचना पाएर वा घटनाबारे थाहा पाएर पनि के गर्न सक्छन् भन्ने जवाफ दिएका छन्।
ओलीले त्यसबेला सुशीला कार्कीलाई गैरसंवैधानिक बाटोबाट प्रधानमन्त्री बनाउन आफूले सिफारिस नगरेको बताए।
‘म प्रधानमन्त्रीबाट अपदस्थ भएको थिएँ। राष्ट्रपति र प्रधानसेनापति अब समाधान दिनुपर्यो भनेर आउनुभयो,’ ओलीले भने, ‘मैले संविधानभित्रबाट समाधान खोज्न सिफारिस गर्दछु भनेर राष्ट्रपतिलाई लिखित सिफारिस गरेको हुँ। संविधान मिचेर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस मैले गरेको होइन।’

