काठमाडौं । नेपालमा धेरैले एमसीसी भन्ने गरेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल) को कानुनी सल्लाहकारका रूपमा काम गरेका अधिवक्ता सेमन्त दाहाल नेपाली कांग्रेसको नेतृत्व विकाससम्बन्धी जिम्मेवारीमा पुगेका छन्। कांग्रेस सभापति गगनकुमार थापाले उनलाई पार्टीको लिडरसिप एकेडेमीको संयोजक नियुक्त गरेका छन्।
दाहाल एमसीसी सम्झौताको कानुनी प्रक्रिया र व्याख्यात्मक घोषणासँग जोडिएका कानुन व्यवसायी हुन्। एमसीए–नेपालमा कानुनी सल्लाहकारका रूपमा काम गरेका उनले एमसीसी सम्झौताका कानुनी पक्षबारे सरकारलाई परामर्श दिएका थिए। सन् २०२२ मा एमसीसी अनुमोदनअघि संसद्बाट पारित व्याख्यात्मक घोषणाको कानुनी वैधताबारे पनि उनले सार्वजनिक रूपमा आफ्नो धारणा राखेका थिए। एमसीसी संसद्बाट अनुमोदन गर्ने क्रममा २०७८ फागुन १५ गते प्रतिनिधिसभामा बोल्दै कांग्रेस सांसद रहेका हालका सभापित थापाले अमेरिकी सेना नेपाल आए आफूलाई ‘चार पाटा मुडेर थानकोट कटाइदिए हुन्छ’ भन्दै दिएको अभिव्यक्तिले चर्चा पाएको थियो ।
नेपालमा एमसीसी सम्झौता निकै विवादित बनेका बेला दाहाल त्यसका कानुनी पक्षबारे व्याख्या गर्ने व्यक्तिमध्ये एक थिए। उनले व्याख्यात्मक घोषणालाई अन्तर्राष्ट्रिय कानुनअनुकूल रहेको तर्क गरेका थिए। एमसीसीका कानुनी प्रावधानबारे उनले विभिन्न सार्वजनिक मञ्च र सञ्चारमाध्यममा धारणा राख्दै आएका छन्। कानुन व्यवसायमा दाहालको संलग्नता एमसीसीमा मात्रै सीमित छैन। उनी संवैधानिक तथा कर्पोरेट कानुन, विदेशी लगानी, पूर्वाधार, ऊर्जा, सार्वजनिक–निजी साझेदारी र अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी कानुनी परामर्शमा सक्रिय छन्। उनी अभिनव ल चेम्बर्सका पार्टनरसमेत हुन्। यसअघि नेपाल बार एसोसिएसनको युवा कानुन व्यवसायीसम्बन्धी समितिको संयोजकका रूपमा पनि उनले काम गरेका थिए।
कांग्रेसको लिडरसिप एकेडेमी संयोजकको जिम्मेवारी पाएसँगै दाहालको भूमिका अब कानुनी परामर्शबाट पार्टीको नेतृत्व विकास र राजनीतिक प्रशिक्षणतर्फ पनि विस्तार भएको छ। एकेडेमीमार्फत स्थानीय तहमा उम्मेदवार बन्न इच्छुकलाई प्रशिक्षण दिने, पार्टीका नेता–कार्यकर्ताको नेतृत्व क्षमता विकास गर्ने र निर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने कांग्रेसको योजना छ।

