काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले पार्टी सभापति गगन थापालाई लक्षित गर्दै प्रजातन्त्रका लागि संघर्ष गरेका नेता–कार्यकर्तालाई पदको लोभ र धम्की नदेखाउन चुनौती दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले कांग्रेसभित्र विगतमा आफूहरूलाई कारबाही गर्नुपर्ने बताउने र स्पष्टीकरण सोध्नेहरू नै अहिले सभापति थापाको वरिपरि रहेको टिप्पणी गरेका छन्।
‘हामी प्रजातन्त्रका लागि छातीमा सैनिक र विद्रोहीका गोली थापेर हिँडेका मानिसलाई केको पदको धम्की र लोभ हो ? दास र लासलाई सम्बोधन गर्दा होस न गुमाउनुस्,’ कार्कीले लेखेका छन्। उनले निर्वाचनमा रुख चिह्नमा भोट मागेको र आफूहरूले पनि रुखमै मतदान गरेको स्मरण गराउँदै रुखमा भोट नहालेको आरोपमा उम्मेदवारले उजुरी दिएका तथा अनुशासन समितिले स्पष्टीकरण सोधेका व्यक्तिहरू अहिले पनि नेतृत्वकै वरिपरि रहेको दाबी गरेका छन्।
कार्कीले पार्टीभित्र भ्रष्टाचारको आरोप लागेकाहरूलाई निष्कासन गर्नुपर्ने माग आफूहरूले उठाएको भए पनि अहिले तिनै व्यक्तिहरू नेतृत्वसँग नजिक रहेको भन्दै प्रश्न गरेका छन्। ‘वारवार भनेको छु, पुग्ने बोल्नुहोस्। हिजो निर्वाचनमा रुखमा भोट हाल्यौँ, माग्यौँ पनि। तर रुखमा भोट हालेनन् भनेर उम्मेदवारले उजुरी हालेका र तथाकथित अनुशासन समितिले स्पष्टीकरण सोधेका, भ्रष्ट भएकाले पार्टीबाट निकाल्नुपर्छ भनेका मानिसहरू तपाईं सँगै किर्नाजसरी टाँसिएर बसेका छन् होइन ?’ उनले प्रश्न गरेका छन्।
उनले कांग्रेसको इतिहास र राजनीतिक विरासत स्मरण गराउँदै आफूहरू पदका लागि नभई विचार र प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टीका सिपाही भएको बताएका छन्।‘बीपी र सयौँ प्रजातन्त्रवादीले प्रजातन्त्रका लागि पद त्यागेर जेल र सहिद हुने बाटो रोजेको पार्टीका सिपाही र विचारका अनुयायी हौँ हामी। हेक्का रहोस्,’ कार्कीले लेखेका छन्।
उनले आफ्नो अभिव्यक्तिमार्फत सभापति थापालाई पार्टीका पुराना नेता तथा कार्यकर्ताको संघर्ष, योगदान र राजनीतिक निष्ठाको सम्मान गर्नसमेत चुनौती दिएका छन्।

