आरके शर्मा, नयाँ दिल्ली / प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण सकेर स्वदेश फर्किने तयारीमा छन् । तर, नेपालको सार्वभौमिकता र राष्ट्रियतासँग जोडिएको नेपाल–भारत सीमा विवादको विषयमा उनले भारतीय नेतृत्वसँग कुनै कुरा उठाएको सार्वजनिक भएको छैन । भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठवटा विषयमा सहमति तथा समझदारी भएका छन् । तर, ती कुनै पनि सहमतिमा लामो समयदेखि विवादित रहँदै आएका लिपुलेक, कालापानी र लिम्पियाधुराको विषय समेटिएको छैन ।

नेपालको अभिन्न भूभागका रूपमा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सामा समेट्दै आएको छ । यी भूभागलाई लिएर नेपालले पटक–पटक कूटनीतिक असहमति जनाउँदै आएको छ । तर, प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा यो विषयले प्राथमिकता नपाएको देखिएको छ । भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधार, आपसी सहयोग र सहकार्य विस्तारको अवसरका रूपमा प्रस्तुत गरिए पनि सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले कुरा उठाए वा उठाएनन् भन्ने विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन । उसाे त मेयर हुँदा बालेानले कार्यकक्षमा ग्रेटर नेपालकाे नक्सा नै राखेका थिए । यसभन्दा पहिलेका सरकारले सिमा विवादकाे विषय उठाउने गरेका थिए ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर राजनीतिक वृत्तमा सीमा विवादको विषय उठाउने अपेक्षा गरिएको थियो । तर, आठवटा सहमतिका विषय सार्वजनिक हुँदा पनि लिपुलेक, कालापानी र लिम्पियाधुराबारे कुनै उल्लेख नहुनुले भ्रमणको प्राथमिकतामाथि प्रश्न उठाएको छ । नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको विषयमा प्रधानमन्त्रीको मौनताबारे नेपालमा विपक्षी दलका नेताहरूले प्रश्न उठाएका छन् ।

सहमतिका ८ बुँदामा के छ ? 

भ्रमणका क्रममा भएका आठवटा सहमतिमा फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक अधिकारीहरूको तालिम, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य सेवा र पशुपालन तथा मत्स्यपालनका विषय समेटिएका छन् । सम्झौताअनुसार गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ । त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षणका लागि समझदारी भएको छ ।

त्यसैगरी भारतीय सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच नेपाली सरकारी अधिकारीलाई तालिम दिने सहमति भएको छ । आयुर्वेद तथा परम्परागत चिकित्सा, स्वास्थ्य सेवा, दिगो सहरी विकास, पशुपालन र मत्स्यपालनका क्षेत्रमा पनि दुवै देशले सहकार्य गर्ने भएका छन् । स्याटेलाइट सञ्चारका क्षेत्रमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने समझदारी भएको छ ।

दुई देशबीच प्राविधिक, प्रशासनिक र विकास साझेदारीका विषयमा सहमति हुनु सकारात्मक भए पनि नेपालको राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएको सीमा विवाद भने यी समझदारीमा कतै उल्लेख छैन ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको