काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्विकार गरेको छ ।  आफूलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन रोक्ने अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले आफूलाई पुनः प्रहरी महानिरीक्षक पदमा बहाली गर्न र नयाँ आईजीपीलाई कामकाज गर्न रोक लगाउन माग गरेका थिए। सरकारले कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएको थियो। उनको स्थानमा एआईजी डा मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो।

यसअघि प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्काल अल्पकालीन अन्तरिम आदेश जारी नगरी सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। अदालतले कार्कीलाई पदबाट हटाउनुको कानुनी आधार र कारणसहित लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको थियो। तर अन्तरिम आदेशको विषय भने त्यसबेला टुंगिएको थिएन। दुवै पक्षलाई छलफलमा बोलाउने आदेशअनुसार बुधबार मंसिर ९ गते न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ भएको छ।

कार्कीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले चार वर्षे कार्यकाल पूरा नहुँदै पर्याप्त कानुनी आधार र प्रक्रिया नपुर्‍याई आईजीपीबाट हटाइएको जिकिर गरेका थिए। उनीहरूले सरकारको निर्णय बदर गरी कार्कीलाई पुनर्बहाली गर्न माग गरेका थिए। सरकारका तर्फबाट महान्यायाधिवक्ता नारायण कँडेलले भने कार्कीलाई कारबाही नभई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएर सम्मान गरिएको तर्क गरेका थिए। सरकारले सुरक्षा अवस्थालाई ध्यानमा राखेर मन्त्रिपरिषद्बाट निर्णय गर्न सक्ने उनको जिकिर थियो।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको