आरके शर्मा । राजनीतिमा केही पात्रको परिचय उनीहरूले प्राप्त गरेको पदले दिन्छ, केहीको परिचय उनीहरूले गरेको संघर्षले। कुन्दनराज काफ्ले त्यस्तै पात्र हुन्, जसको राजनीतिक परिचय विद्यार्थी आन्दोलन, गणतन्त्रको पक्षमा गरेको संघर्ष, संगठनात्मक राजनीति र संसदीय यात्रासँग जोडिएको छ।

आज उनी नेपाली कांग्रेसको महामन्त्री बन्ने आकांक्षासहित पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। नेविसंघको पूर्वमहामन्त्री, कांग्रेसको केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य, प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री र संसदीय दलको मुख्य सचेतकको अनुभव बोकेका काफ्लेको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो। कांग्रेसमा शेरबहादुर देउवा पक्षधरले मंसिर २१-२३ महाधिवेशन गर्दैछन् ।

राजतन्त्रविरुद्धको विद्रोह र गणतन्त्रको अभियान

कुन्दनराज काफ्लेको राजनीतिक जीवनको सबैभन्दा चर्चित अध्याय राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालसँग जोडिन्छ। राजदरबार हत्याकाण्डपछि राजसंस्थाविरुद्ध असन्तुष्टि बढ्दै गएको थियो। राजनीतिक दलहरू तत्कालीन समयमा संवैधानिक राजतन्त्रको पक्षमा रहे पनि विद्यार्थी राजनीतिमा सक्रिय काफ्ले गणतन्त्रको पक्षमा उभिएका थिए।

२०६१ सालमा पशुपति क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित भएपछि उनले राजतन्त्र कि गणतन्त्र भन्ने विषयलाई विद्यार्थीबीच बहसको मुद्दा बनाए। उनले विभिन्न शैक्षिक संस्थामा नमुना जनमतसंग्रह गराउने अभियान चलाए। करिब दुई सय शैक्षिक संस्थामा गरिएको उक्त अभियानमा गणतन्त्रको पक्षमा ९३ प्रतिशत मत आएको थियाे। यो अभियान सामान्य विद्यार्थी गतिविधिमा सीमित रहेन। राजाको प्रत्यक्ष शासनविरुद्ध बोल्नसमेत कठिन रहेको समयमा गणतन्त्रको पक्षमा सार्वजनिक रूपमा मत माग्नु आफैँमा राजनीतिक चुनौती थियो। अभियानका क्रममा प्रहरी हस्तक्षेप र गिरफ्तारीसमेत भोग्नुपरेको थियो।

काफ्लेको राजनीतिक जीवनको अर्को चर्चित घटना राजाको नागरिक अभिनन्दनविरुद्ध गरिएको प्रतीकात्मक विरोध हो।

राजा ज्ञानेन्द्र नागरिक अभिनन्दनका नाममा विभिन्न ठाउँमा पुगिरहेका बेला काफ्ले र उनका सहकर्मीले पाँचवटा घुमन्ते कुकुरलाई श्रीपेच पहिर्‍याएर राजाको अभिनन्दनको प्रतीकात्मक विरोध गर्ने योजना बनाए। प्रहरीलाई सूचना पुगेपछि उनी पक्राउ परे ।

त्यसपछि देशका विभिन्न ठाउँमा पनि बाघ, गधा र बाँदरको प्रतीकात्मक अभिनन्दनजस्ता विरोधका शैली देखिए।

राजतन्त्रविरोधी आन्दोलनमा उनको यो शैलीले उनलाई विद्यार्थी राजनीतिमा फरक पहिचान दिलायो। उनी पटकपटक आन्दोलनमा सहभागी भए, प्रहरी हिरासतमा पुगे र जेल जीवनसमेत भोगे।

विद्यार्थी राजनीतिबाट संगठनको महामन्त्रीसम्म

दोलखाको राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किएका काफ्ले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए। उनकी आमा स्थानीय निकायको निर्वाचनबाट तामाकोशी गाविस अध्यक्ष निर्वाचित भएकी थिइन्।

२०५५ सालतिर पशुपति क्याम्पसको स्ववियू सदस्यबाट उनको विद्यार्थी राजनीति सुरु भएको थियो। २०५६ मा नेविसंघको क्याम्पस सचिव, २०५७ मा स्ववियू सचिव र २०५८ मा नेविसंघको क्याम्पस सभापति बने।

२०६१ सालमा पशुपति क्याम्पसको स्ववियू सभापति निर्वाचित भएपछि उनको संगठनात्मक प्रभाव थप विस्तार भयो।

नेविसंघको ११औँ महाधिवेशनमा महामन्त्री निर्वाचित हुनु उनको विद्यार्थी राजनीतिको महत्त्वपूर्ण उपलब्धि थियो। महाधिवेशनको माग गर्दै उनले रिले अनशनदेखि आमरण अनशनसम्मको नेतृत्व गरेका थिए।

विद्यार्थी संगठनभित्र लामो समय बिताएका काफ्लेले संगठन सञ्चालन, आन्दोलन परिचालन र आन्तरिक प्रतिस्पर्धाको अनुभव सँगाले। यही अनुभवलाई उनले मूलधारको पार्टी राजनीतिमा प्रवेश गर्ने आधार बनाए।

कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश

विद्यार्थी राजनीतिबाट मूल पार्टी राजनीतिमा प्रवेश गरेपछि पनि काफ्लेले आफ्नो राजनीतिक यात्रा दोलखालाई केन्द्रमा राखेर अघि बढाए। कांग्रेसको १३औँ महाधिवेशनका बेला उनी दोलखा जिल्ला सभापतिको उम्मेदवार बनेका थिए। जिल्ला राजनीतिमा प्रतिस्पर्धा गर्दै पार्टीको संगठनात्मक संरचनामा आफ्नो स्थान बनाउन खोजेका उनी १४औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भए।

२०७८ पुसमा सम्पन्न मतगणनामा उनले खुला केन्द्रीय सदस्यतर्फ २ हजार २ सय ७९ मत प्राप्त गरेका थिए। उनी कृष्णप्रसाद सिटौलाको समूहबाट शेरबहादुर देउवा प्यानलमा उम्मेदवार बनेका थिए।

विद्यार्थी संगठनको नेतृत्वबाट पार्टीको केन्द्रीय कार्यसमितिसम्म पुग्नु उनको राजनीतिक यात्राको अर्को महत्त्वपूर्ण खुड्किलो थियो।

संसदीय राजनीतिदेखि प्रदेशको अर्थमन्त्रीसम्म

२०७९ को प्रदेशसभा निर्वाचनमा काफ्ले दोलखा निर्वाचन क्षेत्र नम्बर १ ९१० बाट प्रदेशसभा सदस्य निर्वाचित भए।

उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ८ हजार ४२ मतको अन्तरले पराजित गरेका थिए। काफ्लेले २२ हजार ७ सय ९७ मत प्राप्त गर्दा श्रेष्ठले १४ हजार ७ सय ५५ मत पाएका थिए।

निर्वाचित भएपछि उनी बागमती प्रदेशसभामा कांग्रेसको मुख्य सचेतक बने। २०८१ साउनमा बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाए।

विद्यार्थी राजनीतिमा सडक संघर्ष गरेका काफ्लेले त्यसपछि प्रदेश सरकारको बजेट, योजना र आर्थिक नीतिसँग जोडिएको मन्त्रालयको नेतृत्व गर्ने अवसर पाए।

यो उनको राजनीतिक जीवनको फरक अनुभव थियो। सडकमा सरकारको विरोध गर्ने भूमिकाबाट सरकारको आर्थिक नीति र बजेट निर्माणको जिम्मेवारी सम्हाल्ने तहसम्मको यात्रा उनले तय गरे।

महामन्त्रीको दाबेदारी : अनुभव कि पुस्तान्तरणको आकांक्षा ?

कांग्रेसको आगामी नेतृत्व चयनको सरगर्मी बढेसँगै काफ्लेले महामन्त्री पदमा आफ्नो दाबेदारी अघि बढाएका छन्। विद्यार्थी संगठनको महामन्त्रीदेखि पार्टीको केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य, मुख्य सचेतक र प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीसम्मको अनुभवलाई उनले आफ्नो राजनीतिक पुँजीका रूपमा प्रस्तुत गर्न सक्छन्।

उनको दाबेदारी केवल एउटा पदको आकांक्षा मात्र होइन, कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने बहससँग पनि जोडिएको छ।

तर महामन्त्रीको जिम्मेवारी संगठन सञ्चालन, पार्टीको नीति निर्माण, आन्तरिक समन्वय र राजनीतिक कार्यदिशासँग जोडिएको हुन्छ। त्यसैले काफ्लेका अगाडि पनि केही प्रश्न छन्।

विद्यार्थी आन्दोलनमा देखिएको उनको विद्रोही स्वभाव पार्टीको संस्थागत नेतृत्वमा कसरी रूपान्तरण हुन्छरु प्रदेशको आर्थिक मन्त्रालय सम्हाल्दा प्राप्त अनुभवलाई पार्टीको राष्ट्रिय आर्थिक तथा विकाससम्बन्धी नीतिमा कसरी उपयोग गर्छन्रु पार्टीभित्रको गुटगत राजनीतिभन्दा माथि उठेर संगठनलाई एकताबद्ध बनाउन उनको भूमिका कस्तो रहन्छ ? यी प्रश्नको जवाफले उनको महामन्त्री दाबेदारीको राजनीतिक आधार र भावी नेतृत्वको दिशा स्पष्ट पार्नेछ।

 संघर्षको इतिहास र नेतृत्वको नयाँ परीक्षा

कुन्दनराज काफ्लेको राजनीतिक यात्रालाई हेर्दा उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित भएका नेता हुन्। राजतन्त्रविरुद्धको संघर्ष, गणतन्त्रको पक्षमा गरिएको जनमतसंग्रह, प्रतीकात्मक विरोध, नेविसंघको नेतृत्व, कांग्रेसको केन्द्रीय सदस्य र प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसम्मको यात्रा उनको राजनीतिक परिचयका मुख्य आधार हुन्।

तर राजनीतिक संघर्षको इतिहास हुनु र पार्टीको नेतृत्वदायी जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नु फरक कुरा हुन्।

गणतन्त्रका लागि सडकमा संघर्ष गरेको पुस्ताका प्रतिनिधि काफ्ले आज कांग्रेसको महामन्त्री बन्ने दौडमा छन्। हिजो राजतन्त्रविरुद्ध प्रश्न उठाएका उनी आज आफ्नै पार्टीभित्र लोकतन्त्र, नेतृत्व हस्तान्तरण र संगठनात्मक सुधारको प्रश्नमा कस्तो भूमिका खेल्छन् भन्ने चासोको विषय बनेको छ।

राजाको शासनविरुद्ध कुकुरलाई श्रीपेच पहिर्‍याएर प्रतीकात्मक विद्रोह गर्ने विद्यार्थी नेताको राजनीतिक यात्रा अब कांग्रेसको केन्द्रीय नेतृत्वमा नयाँ परीक्षा दिन तयार देखिन्छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको