काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र स्थापित परम्पराविपरीत केही व्यक्ति भेला हुँदैमा त्यसलाई विशेष महाधिवेशनको मान्यता दिन नसकिने बताएका छन् । १४औँ महाधिवेशनबाट निर्वाचित सभापति र केन्द्रीय कार्यसमितिलाई विस्थापित गर्ने अधिकार कुनै भेलालाई नरहेको उनको जिकिर छ ।
मंगलबार ९कात्तिक २४० गणेशमान सिंहको ११३औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको शान्तिवाटिकास्थित उनको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि पार्टीको विधान, नियम र स्थापित परम्पराअनुसार अघि बढ्नुपर्ने बताएका हुन् ।
‘नेपाली कांग्रेसको विधान, नियम र स्थापित परम्परालाई बेवास्ता गर्दै केही व्यक्तिहरू भेला भएर कुनै कार्यक्रमलाई विशेष महाधिवेशनको संज्ञा दिँदैमा त्यसले वैधानिक विशेष महाधिवेशनको मान्यता प्राप्त गर्न सक्दैन,’ उनले भने ।
उनले पार्टी सभापति र केन्द्रीय कार्यसमितिको सहमतिमा मात्र विशेष महाधिवेशन हुने कांग्रेसको परम्परा रहेको उल्लेख गरे । पार्टीको स्थापित अभ्यास र प्रक्रियाविपरीत विशेष महाधिवेशनको व्याख्या गरेर निर्वाचित नेतृत्वलाई विस्थापित गर्न खोज्नु उचित नहुने उनको भनाइ थियो ।
कांग्रेसभित्रको विवाद र राजनीतिक अन्योल समाधान गर्न व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिँदै उनले गणेशमान सिंहको त्याग, निष्ठा र आदर्शलाई आत्मसात् गर्नुपर्ने बताए ।
उनले २०४६ सालको जनआन्दोलनपछि तत्कालीन राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा गणेशमान सिंहले आफू प्रधानमन्त्री नबनी कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरेको प्रसंग स्मरण गरे । उक्त निर्णयले प्रधानमन्त्री जनताको चाहना र छनोटअनुसार बन्नुपर्छ भन्ने लोकतान्त्रिक सन्देश दिएको उनको भनाइ थियो ।
गणेशमान सिंहले लोकतन्त्रलाई राजनीतिक अधिकारमा मात्र सीमित नराखी आर्थिक क्रान्तिसँग जोड्नुपर्ने मान्यता राखेको पनि उनले स्मरण गरे । बेरोजगारी अन्त्य, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधार लोकतन्त्रका महत्त्वपूर्ण उपलब्धि हुनुपर्ने उनको भनाइ थियो ।
नेता सिंहले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेरजस्ता अग्रज नेताहरूले देखाएको सिद्धान्त र आदर्शअनुसार कांग्रेस अघि बढ्नुपर्ने बताए । राष्ट्रियता र लोकतन्त्रमाथि चुनौती उत्पन्न भइरहेका बेला अग्रज नेताहरूको त्याग र राजनीतिक विचारलाई आत्मसात् गर्नु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।





