अभिषेक ओझा । नेपालमा विपद् नयाँ कुरा होइन। हरेक वर्ष बाढी, पहिरो, डुबान, आगलागी र खडेरीजस्ता घटनाको सामना गर्नुपर्छ। तर पछिल्ला वर्षहरूमा मौसमको व्यवहारमा आएको परिवर्तनले यी जोखिमलाई झन् जटिल बनाएको अनुभव हुन्छ। कतिपय ठाउँमा एकैछिनमा धेरै पानी पर्छ, कतै लामो समयसम्म पानी पर्दैन। वर्षा हुने समय पनि पहिले जस्तो अनुमान गर्न सजिलो छैन। यसको असर बिस्तारै हाम्रो दैनिक जीवनमा देखिन थालेको छ। बाढी र पहिरोले मानिसको ज्यान लिन्छ, घर भत्काउँछ, सडक र पुल बगाउँछ। किसानको बाली नष्ट हुन्छ, पशुचौपाया मर्छन् र साना व्यवसायमा क्षति पुग्छ। एउटा विपद्ले एउटा परिवारलाई केही दिनका लागि मात्र होइन, धेरै वर्षसम्म असर पार्न सक्छ।

विपद्को असर कति टाढासम्म पुग्छ : बाढी आएको ठाउँमा पानी घटेपछि विपद् सकियो भन्ने हुँदैन। किसानको खेतमा बालुवा थुप्रिएको हुन सक्छ, खानेपानीको मुहान वा पाइप बिग्रिएको हुन सक्छ, सडक र पुल भत्किएका हुन सक्छन्। विद्यालय बन्द हुन सक्छ र बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या हुन सक्छ। गरिब परिवारका लागि यसको असर अझ ठूलो हुन्छ। घरमा भएको थोरै अन्न, पशु वा कृषि सामग्री गुमेपछि परिवारको आम्दानी नै रोकिएको हुन सक्छ। यस्तो अवस्थामा ऋण लिनुपर्ने वा भएको सम्पत्ति बेच्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले विपद् व्यवस्थापनको कुरा गर्दा केवल मानिसको ज्यान जोगाउने विषय मात्र हेर्नु हुँदैन। मानिसले विपद्पछि कसरी आफ्नो जीवन फेरि चलाउन सक्छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ।

सुदूरपश्चिममा जोखिमको आफ्नै स्वरूप छ : सुदूरपश्चिममा काम गर्दा मैले बाढी र पहिरोको जोखिमलाई नजिकबाट बुझ्ने अवसर पाएको छु। धेरै ठाउँ नदी र होचा भूभागसँग जोडिएका छन्। पहाडी तथा चुरे क्षेत्रमा धेरै पानी पर्दा त्यसको असर तलका बस्तीमा पनि पर्न सक्छ। कहिलेकाहीँ तराईमा ठूलो पानी नपरे पनि माथिल्लो क्षेत्रमा परेको पानीले नदीको बहाव बढाउन सक्छ। यसले नदी किनार र होचा बस्तीमा बस्ने परिवारलाई जोखिममा पार्न सक्छ। त्यसैले बाढीको जोखिम हेर्दा नदीको छेउमा रहेको बस्ती मात्र हेरेर पुग्दैन। माथिल्लो क्षेत्रदेखि तलसम्म पानी कसरी बग्छ र त्यसले कुन ठाउँलाई असर गर्न सक्छ भन्ने बुझ्नुपर्छ।

सूचना आयो, अब के गर्ने : विपद्को समयमा पूर्वसूचना पाउनु मात्र पर्याप्त हुँदैन। सूचना पाएपछि समयमै सही काम गर्न सक्नु नै यसको मुख्य उद्देश्य हो। त्यसका लागि योजना पहिले नै तयार हुनुपर्छ र सम्बन्धित सबैले आफ्नो जिम्मेवारी बुझेको हुनुपर्छ। योजना कागजमा मात्र सीमित भयो भने वास्तविक विपद्को समयमा त्यसको उपयोग गर्न गाह्रो हुन्छ। मौसम वा बाढीको जोखिमबारे सूचना प्राप्त भएपछि केही काम तुरुन्तै अघि बढाउन सकिन्छ। जोखिममा रहेका परिवारलाई कसरी र कसले सूचना दिने, कुन परिवारलाई पहिले सुरक्षित स्थानमा लैजाने, पशुचौपाया कहाँ सार्ने, सुरक्षित स्थान र वैकल्पिक बाटो कुन हो, उद्धार तथा राहतका सामग्री कहाँ राखिएका छन् र स्वयंसेवक, सुरक्षाकर्मी तथा स्थानीय जनशक्तिलाई कसरी परिचालन गर्ने भन्ने कुरा पहिले नै स्पष्ट हुनुपर्छ। यसका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय तथा स्थानीय विपद् व्यवस्थापन निकायबाट प्राप्त सूचनालाई स्थानीय अवस्थासँग जोडेर हेर्न आवश्यक हुन्छ। माथिल्लो क्षेत्रमा परेको वर्षा, नदीको बहाव, विगतको बाढीको अवस्था र स्थानीय जोखिमलाई आधार बनाएर सम्भावित असर पहिचान गर्न सकिन्छ। पूर्वसूचना समुदायसम्म पुर्याउँदा पनि केवल सूचना पठाएर जिम्मेवारी पूरा हुँदैन। मानिसले सूचना बुझे कि बुझेनन्, त्यसपछि के गर्ने भन्ने थाहा पाए कि पाएनन् र आवश्यक काम सुरु भयो कि भएन भन्ने कुरा महत्वपूर्ण हुन्छ। त्यसैले सूचना सरल भाषामा, सही समयमा र उपयुक्त माध्यमबाट समुदायसम्म पुग्नुपर्छ। यस प्रक्रियामा स्थानीय सरकार, सुरक्षा निकाय, स्वयंसेवक, समुदाय र अन्य सरोकारवालाबीचको समन्वय पहिले नै तय भएको हुनुपर्छ। यसो गर्न सकेमा विपद् सुरु भएपछि निर्णय गर्न समय खर्च गर्नुभन्दा उपलब्ध समयलाई मानिस, पशुचौपाया र महत्वपूर्ण सम्पत्ति जोगाउन प्रयोग गर्न सकिन्छ।

समुदायलाई आफ्नो जोखिम आफैं बुझ्न दिनुपर्छ : कुनै गाउँ वा बस्तीको जोखिम त्यहाँका मानिसलाई भन्दा बाहिरबाट आएको व्यक्तिलाई बढी थाहा हुन्छ भन्ने हुँदैन। वर्षौंदेखि त्यही ठाउँमा बसिरहेका मानिसलाई कुन ठाउँमा पहिले पानी पस्छ, कुन बाटो बन्द हुन्छ, कुन घरका मानिसलाई छिटो सहयोग चाहिन्छ भन्ने राम्रोसँग थाहा हुन्छ। त्यसैले जोखिम पहिचान गर्दा समुदायसँग बसेर कुरा गर्नुपर्छ। कुन ठाउँमा बाढी आउँछ, कुन परिवार बढी जोखिममा छ, सुरक्षित ठाउँ कहाँ छ, पशुचौपाया कहाँ राख्न सकिन्छ, बाढी आएको बेला कुन बाटो प्रयोग गर्न सकिन्छ, यी कुरा नक्सामा मात्र होइन, समुदायसँग छलफल गरेर पनि पहिचान गर्नुपर्छ। मैले जोखिम तथा क्षमता मूल्याङ्कन, स्थानीय विपद् जोखिम व्यवस्थापन योजना, तयारी तथा प्रतिकार्य योजना र विभिन्न अभ्यासमा काम गर्दा समुदायको यस्तो ज्ञान निकै उपयोगी भएको अनुभव गरेको छु।

विपद् आउनुअघि नै केही गर्न सकिन्छ : हामी प्रायः विपद् आएपछि उद्धार र राहतको कुरा गर्छौँ। तर मौसम र नदीको अवस्थाबारे केही समयअघि नै जानकारी पाउन सकिन्छ भने त्यही समयलाई प्रयोग गरेर क्षति कम गर्न सकिन्छ। मानौँ, आगामी केही घण्टा वा दिनमा ठूलो बाढी आउन सक्ने संकेत देखियो। त्यस्तो अवस्थामा जोखिममा रहेका परिवारलाई पहिले नै सुरक्षित ठाउँमा लैजान सकिन्छ। पशुचौपायालाई सार्न सकिन्छ। अन्न तथा महत्वपूर्ण सामान सुरक्षित गर्न सकिन्छ। आवश्यक ठाउँमा आर्थिक सहयोग पहिले नै पुर्याउन सकिन्छ। उद्धार सामग्री र जनशक्तिलाई तयारी अवस्थामा राख्न सकिन्छ।

यसलाई म सरल भाषामा “विपद् आउनुअघि नै काम गर्ने तरिका” भन्छु।
यसमा मुख्य कुरा भनेको सही समयमा निर्णय लिनु हो।

सही समयमा निर्णय गर्न सही जानकारी चाहिन्छ : केवल “धेरै वर्षा हुँदैछ” भनेर सबै ठाउँमा एउटै निर्णय गर्न सकिँदैन। वर्षा कहाँ भइरहेको छ, कति समयमा कति पानी परेको छ, माथिल्लो क्षेत्रमा पानीको अवस्था कस्तो छ, नदीको बहाव कस्तो छ र कुन बस्ती जोखिममा छ भन्ने कुरा हेर्नुपर्छ। विगतमा कुनै क्षेत्रमा कति वर्षा भएपछि वा नदीको बहाव कुन अवस्थामा पुगेपछि बाढी आएको थियो भन्ने जानकारी पनि उपयोगी हुन्छ। मेरो विचारमा राम्रो पूर्वसूचना त्यस्तो हुनुपर्छ जसलाई विश्वास गर्न सकियोस्, स्थानीय अवस्थासँग जोड्न सकियोस्, केही समयअघि नै जानकारी दिन सकोस् र सूचना पाएपछि के गर्ने भन्ने स्पष्ट होस्। पूर्वसूचना को उद्देश्य संख्या हेर्नु मात्र होइन। त्यो संख्याले मानिसलाई सही समयमा सही काम गर्न मद्दत गर्नुपर्छ।

स्थानीय ज्ञान र वैज्ञानिक जानकारी सँगै चाहिन्छ : मौसमको पूर्वानुमान र नदीको मापन जस्ता वैज्ञानिक जानकारी धेरै महत्वपूर्ण छन्। तर स्थानीय मानिसको अनुभवलाई पनि त्यत्तिकै महत्व दिनुपर्छ। कुनै ठाउँमा वर्षा धेरै भयो भने स्थानीय मानिसले नदीको पानीको रंग, बहाव, आसपासको जमिनको अवस्था वा माथिल्लो क्षेत्रको अवस्थाबाट पनि जोखिमको संकेत पाउन सक्छन्। वैज्ञानिक जानकारी र स्थानीय अनुभवलाई एकअर्काको विकल्प बनाउनु हुँदैन। दुवैलाई जोडेर प्रयोग गर्दा निर्णय अझ राम्रो हुन सक्छ।

अभ्यास नगरी तयारी पूरा हुँदैन : विपद्को तयारी कागजमा योजना बनाएर मात्र पूरा हुँदैन। योजना व्यवहारमा कत्तिको काम गर्छ भन्ने हेर्न समय-समयमा अभ्यास गर्नु आवश्यक हुन्छ। प्रदेश, स्थानीय तह, वडा र समुदायमा गरिने अभ्यासले वास्तविक विपद्को समयमा आउन सक्ने समस्या पहिले नै देखाइदिन्छ। अभ्यासका क्रममा सूचना जोखिममा रहेका मानिससम्म समयमा पुग्यो कि पुगेन, कसले के जिम्मेवारी लियो, विभिन्न निकायबीच समन्वय भयो कि भएन, उद्धारका सामग्री कहाँ छन्, सुरक्षित स्थान र त्यहाँ पुग्ने बाटो ठीक छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सकिन्छ। समुदायले सूचना बुझे कि बुझेन र सूचना पाएपछि के गर्नुपर्छ भन्ने स्पष्ट भयो कि भएन भन्ने कुरा पनि अभ्यासबाट थाहा हुन्छ। यस्ता अभ्यासको उद्देश्य केवल उद्धार गर्ने तरिका देखाउनु होइन। योजना, जिम्मेवारी, स्रोतसाधन र समन्वयमा रहेका कमजोरी पत्ता लगाएर वास्तविक विपद् आउनुअघि सुधार गर्नु हो। अभ्यासपछि देखिएका कमजोरीका आधारमा योजना सच्याउने, जिम्मेवारी स्पष्ट गर्ने र आवश्यक सामग्री तथा स्रोतको व्यवस्था मिलाउन सकिन्छ। विपद्को समयमा को जिम्मेवार हो भनेर खोज्नुभन्दा विपद् आउनुअघि नै कसले के गर्ने भन्ने कुरा अभ्यास गर्नु बढी उपयोगी हुन्छ। त्यसैले नियमित अभ्यासलाई विपद् तयारीको एउटा महत्वपूर्ण भागका रूपमा लिनुपर्छ।

किसान र जीविकोपार्जनलाई पनि ध्यान दिनुपर्छ : जलवायु परिवर्तनको असर किसानले प्रत्यक्ष रूपमा भोगिरहेका छन्। कहिले पानी ढिलो पर्छ, कहिले धेरै पर्छ। कहिलेकाहीँ लामो समयसम्म पानी नपर्दा खेती गर्न समस्या हुन्छ। धेरै पानी पर्दा तयार भएको बाली पनि नष्ट हुन सक्छ। पशुपालनमा पनि यसको असर पर्न सक्छ। चरन क्षेत्र, पानीको उपलब्धता र पशु स्वास्थ्यमा समस्या आउन सक्छ। त्यसैले जलवायु परिवर्तनको कुरा गर्दा वातावरणको मात्र कुरा गरेर पुग्दैन। किसानको आम्दानी र परिवारको खानासँग पनि यो विषय जोडिएको छ। किसानलाई समयमै मौसमको जानकारी दिने, उपयुक्त खेती प्रणाली अपनाउन सहयोग गर्ने, पानीको व्यवस्थापन सुधार्ने र आवश्यक ठाउँमा बीमाजस्ता उपायसँग जोड्ने काम पनि सँगसँगै गर्नुपर्छ।

सबै क्षति रोक्न सकिँदैन : जति राम्रो तयारी गरे पनि सबै विपद् रोक्न सकिँदैन। केही क्षति हुन सक्छ। यस्तो अवस्थामा परिवारलाई आर्थिक रूपमा पनि सहयोग चाहिन्छ। बीमा तथा अन्य आर्थिक सुरक्षा उपायले विपद्पछि परिवारलाई फेरि आफ्नो जीवन सुरु गर्न सहयोग गर्न सक्छ। यसले घरायसी खर्च चलाउन वा नयाँ आम्दानीको स्रोत सुरु गर्न पनि केही आधार दिन सक्छ। यसलाई विपद् आउनुअघि गरिने कामसँग जोड्न सकिन्छ। पहिले नै केही सम्पत्ति र जीविकोपार्जन जोगाउने प्रयास गर्ने र रोक्न नसकिएको क्षतिको लागि आर्थिक सुरक्षा राख्ने दुवै कुरा आवश्यक छन्।
अबको तयारी कस्तो हुनुपर्छ : मेरो विचारमा अब विपद् व्यवस्थापनलाई राहत र उद्धारमा मात्र सीमित राख्नु हुँदैन। पहिलो कुरा, विगतका विपद्को तथ्यांक राम्रोसँग राख्नुपर्छ। कुन ठाउँमा कस्तो विपद् भयो, कति परिवार प्रभावित भए र कस्तो क्षति भयो भन्ने जानकारी आगामी तयारीमा प्रयोग गर्न सकिन्छ। दोस्रो, पूर्वसूचना प्रणालीलाई स्थानीय तहसम्म प्रभावकारी बनाउनुपर्छ। सूचना समयमै आउनुका साथै मानिसले बुझ्ने भाषामा समुदायसम्म पुग्नुपर्छ। तेस्रो, सूचना आएपछि गर्ने काम पहिले नै तय हुनुपर्छ। चौथो, स्थानीय समुदायलाई योजनाको सुरुदेखि नै सहभागी गराउनुपर्छ। पाँचौँ, सडक, पुल, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थाजस्ता संरचना बनाउँदा भविष्यको जोखिमलाई पनि ध्यान दिनुपर्छ। छैटौँ, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनसँग अनुकूल हुने कामलाई विकास योजनासँग जोड्नुपर्छ। जलवायु परिवर्तनले नेपालमा विपद्को जोखिमलाई अझ जटिल बनाउँदै लगेको छ। अनियमित वर्षा, अत्यधिक वर्षा, बाढी, पहिरो र डुबानको असर मानिसको जीवनदेखि खेती, व्यवसाय र पूर्वाधारसम्म पुगेको छ। तर जोखिम बढ्दै छ भन्दैमा हामी केवल विपद् आएपछि प्रतिक्रिया दिने अवस्थामा बसिरहनु हुँदैन।हामीले पहिले नै जोखिम बुझ्नुपर्छ। मौसम र नदीको सूचना समयमै लिनुपर्छ। समुदायलाई त्यसबारे जानकारी दिनुपर्छ। सूचना आएपछि के गर्ने भन्ने कुरा पहिले नै तय गर्नुपर्छ। आवश्यक स्रोत तयार राख्नुपर्छ र नियमित अभ्यास गर्नुपर्छ। मेरो आफ्नै कामको अनुभवले पनि यही सिकाएको छ- राम्रो विपद् योजना त्यो होइन जुन राम्रोसँग लेखिएको हुन्छस राम्रो योजना त्यो हो जुन आवश्यक परेको बेला मानिसले व्यवहारमा लागू गर्न सक्छ।

त्यसैले अब हाम्रो सोच पनि अलि परिवर्तन हुनुपर्छ। “विपद् आएपछि के गर्ने” भन्दा “विपद् आउनुअघि हामी के गर्न सक्छौँ ?” यो प्रश्नलाई हाम्रो विपद् व्यवस्थापनको केन्द्रमा राख्न सकेमा धेरै मानिसको जीवन, जीविकोपार्जन र विकासका उपलब्धि जोगाउन सकिन्छ। अन्ततः जलवायु परिवर्तनसँग जुध्नु भनेको केवल वातावरण जोगाउने विषय होइन। यो मानिसको जीवन, घर, खेती, आम्दानी र भविष्य जोगाउने विषय पनि हो ।

(ओझा दशकदेखि विपद् व्यवस्थापनमा काम गरिरहेका छन्)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको