बागलुङ । नेपाली कांग्रेस गलकोट नगर सभापतिका लागि पवन हमालले उम्मेदवारी घोषणा गरेका छन् । गलकोट नगरपालिका–५ का वडा अध्यक्षसमेत रहेका हमालले पार्टी संगठनलाई थप सबल र प्रभावकारी बनाउने प्रतिबद्धतासहित नगर सभापतिमा उम्मेदवारी दिएको बताएका छन् ।
हमाल बागलुङ जिल्लाकै कान्छो वडा अध्यक्षका रूपमा निर्वाचित भएका थिए । स्थानीय तहमा सक्रिय रहँदै आएका उनी गलकोटका मतदाता तथा स्थानीयवासीबीच लोकप्रिय युवा नेताका रूपमा परिचित छन् । नगर सभापतिमा उम्मेदवारी घोषणा गर्दै हमालले पार्टीभित्र एकता र सहकार्यलाई प्राथमिकतामा राख्दै संगठन सुदृढीकरणमा आफ्नो भूमिका केन्द्रित गर्ने बताएका छन् । उनले आफ्नो उम्मेदवारीको उद्देश्य स्पष्ट पार्दै भनेका छन्, ‘एकता, सहकार्य र समर्पणका साथ सबल संगठन, जिम्मेवार नेतृत्व र समुन्नत गल्कोट निर्माणका लागि नेपाली कांग्रेस गल्कोट नगर सभापतिमा मेरो उम्मेदवारी ।’
हमालले पार्टी संगठनलाई जनतासँग अझ नजिक जोड्ने, युवा पुस्ताको सहभागिता बढाउने तथा स्थानीय आवश्यकतासँग जोडिएको राजनीतिक गतिविधिलाई प्राथमिकता दिने बताएका छन् ।




