काठमाडौं । मोडल तथा नायिका सृष्टि खड्काले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री सहयोग गरेकी छन्। खड्काले टुरिजम सिस्टरहुड नेपाल एसोसिएसनसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रका लागि आवश्यक राहत सामग्री पठाएकी हुन्।
उनले बाढीपीडितको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै खाना पकाउने सामग्री (कुकिङ युटेन्सिल), खाद्यान्न तथा किराना सामग्री, सेनेटरी प्याड, डायपर, बच्चाका लागि आवश्यक खाद्य सामग्रीलगायतका सामग्री सहयोग गरेकी छन्। बाढीका कारण प्रभावित परिवारहरू खाद्यान्नसँगै दैनिक उपभोग्य तथा स्वास्थ्य र सरसफाइका सामग्रीको अभावमा रहेकाले आवश्यकताअनुसारका सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाइएको उनले बताइन्र । ‘अहिले तत्कालका लागि आवश्यक सामाग्री सहयोग गरेको छु । केही दिनपछि आफै बाढीप्रभावित क्षेत्रमै पुगेर थप सहयोग गर्नेछु,’ उनले भनिन्,‘विपद्मा सानो सहयोगको पनि ठुलो अर्थ हुन्छ । आउनुस् सबैले आआफ्नो ठाउाँबाट सहयोग गरौं ।’
खड्काले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गरेको जनाएकी छन्। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा सरकारी तथा गैरसरकारी संघसंस्था, निजी क्षेत्र र विभिन्न व्यक्तिहरूले राहत तथा उद्धारमा सहयोग गरिरहेका छन्।






