तेजन खड्का,गत भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीले धेरैका घर मात्र बगाएन, सपना, सम्पत्ति र सहारा समेत खोस्यो। बाढीका कारण कोही घाइते भए, कोही आफन्तविहीन बने। विपत्तिले हिमाल, पहाड र तराई छुट्याएनस पीडा सबैको साझा बन्यो। यही विपद्को घडीमा देश तथा विदेशबाट सहयोगका हातहरू अगाडि बढिरहेका छन्। नेपाली कलाकार, गायक–गायिका, अभिनेता–अभिनेत्री, खेलाडी तथा अन्य सेलिब्रिटी पनि राहत तथा उद्धार अभियानमा जोडिएका छन्। कसैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्, कसैले रकम सार्वजनिक नगरी सहयोग गरेका छन्। केहीले सामाजिक सञ्जालबाट सहयोगको अपिल गरिरहेका छन् भने केही कलाकार आफैं राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका छन्।
कसले कति सहयोग गरे ?
सार्वजनिक भएका विवरणअनुसार ‘कुल ब्वाय’ पारस बम ठकुरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका छन्। वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा २ लाख रुपैयाँ सहयोग गरेका छन्। उनीहरूले विपत्तिको समयमा पक्ष–विपक्ष नभनी आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रहसमेत गरेका छन्।
अभिनेता विराज भट्टले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।अभिनेत्री नीता ढुंगानाले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छन्। आशाकी निर्मात्री शर्मिला थापाले १ लाख सहयोग गरेकी छन् । चलचित्र गायिका मेलिना राई, रचना रिमाल र बेनिशा पौडेलले जनही १ लाख रुपैयाँ सहयोग गरेका छन्। पूर्वमिस नेपाल माल्भिका सुब्बा र निर्माता तथा अभिनेता गोविन्द शाहीले जनही ५० हजार रुपैयाँ सहयोग गरेका छन्। नायिका बिनिता कार्कीले ६१ हजार २ सय ४२ रुपैयाँ, दिब्या रायमाझीले ५१ हजार रुपैयाँ, प्रीति राईले ३५ हजार रुपैयाँ, शिव परियार र एलिना चौहानले जनही २५ हजार रुपैयाँ, राधिका हमालले २१ हजार रुपैयाँ तथा रामकृष्ण ढकालले ११ हजार रुपैयाँ सहयोग गरेका छन्।
सुशील पोखरेलरहरि ओम सिने मेकर्सले ३३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा सहयोग गरेका छन्। नायिका बिपना थापाले रक्षा बन्धनमा दाजुबाट पाएको दक्षिणासमेत बाढीपीडितको सहयोगमा समर्पण गरेकी छन्।
अनमोलले गरे सहयोग, रकम सार्वजनिक गरेनन्
अभिनेता अनमोल केसीले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्। तर उनले आफूले गरेको सहयोगको रकम सार्वजनिक गरेका छैनन्। अनमोलले विपत्तिमा परेको नेपालीलाई एक्लो महसुस हुन नदिन सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्। रकम सानो–ठूलोभन्दा पनि सहयोगको भावना ठूलो हुने उनको सन्देश छ। पूर्वमिस नेपाल माल्भिका सुब्बा, अभिनेता प्रमोद खरेललगायतले पनि राहत कोषमा सहयोग गरेका छन्।
एलिनाले कार्यक्रमको सम्पूर्ण रकम बाढीपीडितलाई दिने
गायिका एलिना चौहानले आर्थिक सहयोग गर्नुका साथै आफ्नो सांगीतिक कार्यक्रमबाट उठ्ने सम्पूर्ण रकम नेपाल पठाएर बाढीपीडितको सहयोगमा प्रयोग गर्ने घोषणा गरेकी छन्।
त्यस्तै गायिका रचना रिमालले १ लाख रुपैयाँ सहयोग गर्नुका साथै अस्ट्रेलियामा तय भएका आफ्ना कार्यक्रमसमेत स्थगित गर्ने निर्णय गरेकी छन्। देश शोकमा रहेका बेला उत्सव मनाउन मनले नमानेको भन्दै उनले कार्यक्रम स्थगित गरेकी हुन्।
रकम नखुलाए पनि सहयोगको अपिल
सबै कलाकार तथा सेलिब्रिटीले आफूले गरेको सहयोगको रकम सार्वजनिक गरेका छैनन्। राजेश हमाल, अनमोल केसी, सन्दीप लामिछाने, प्राश्ना शाक्यलगायतले राहत तथा उद्धार अभियानमा साथ दिएका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न आग्रह गरेका छन्। राजेश हमालले बाढी प्रभावितका लागि सहयोगको अपिल तथा राहतसम्बन्धी सूचना प्रवाहमा सक्रियता देखाएका छन्। उनको आर्थिक सहयोगको रकम भने सार्वजनिक भएको छैन।
दुर्गेश थापा राहत सामग्री लिएर प्रभावित क्षेत्रमा
गायक दुर्गेश थापा आर्थिक सहयोगमा मात्र सीमित छैनन्। उनी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका छन्। थापा नुवाकोट पुगेर प्रभावित परिवारलाई लत्ताकपडा, सिरक, डसना, सिरानी, तन्ना तथा बालबालिकाका कपडालगायत सामग्री वितरण गरेका छन्। उनले आफ्नै तर्फबाट र ‘रोयल किड्स’को सहयोगमा राहत सामग्री लिएर प्रभावित परिवारसम्म पुगेको बताएका छन्। पछिल्लो विवरणअनुसार उनले बालबालिकाका लागि ४० थान कपडा तथा सिरक–डसना समेत वितरण गरेका छन्।
साइग्रेस पनि राहत लिएर घटनास्थलमा
चर्चित कथा वाचक तथा अभिनेता साइग्रेस पोखरेल पनि आफ्नो टिमसहित बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। उनले राहत सामग्री लिएर प्रभावित नागरिकलाई सहयोग गरेका छन् र अरूलाई पनि सहयोगका लागि आग्रह गरेका छन्।
विशाल मिश्राले कन्सर्टको रकम दिने
बलिउड संगीतकार तथा गायक विशाल मिश्राले नेपाल र भारतको असममा गर्ने कन्सर्टबाट उठेको रकम बाढीपीडितको राहतमा खर्च गर्ने घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत विपत्तिप्रति दुःख व्यक्त गर्दै नेपाल र असममा एक–एकवटा कन्सर्ट गर्ने र ती कार्यक्रमबाट उठेको रकम बाढी प्रभावितका लागि खर्च गर्ने बताएका छन्।
गीतकार संघले १ लाख १५ हजार सहयोग
कलाकार तथा संगीतकर्मीको संस्थागत सहयोग पनि अगाडि आएको छ।
गीतकार संघ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार रुपैयाँ सहयोग गरेको छ। संघले बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको र देश शोकमा रहेको भन्दै आफ्नो वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रमसमेत स्थगित गरेको छ।
कार्यक्रम स्थगित गरेर ऐक्यबद्धता
विपत्तिको अवस्थालाई मध्यनजर गर्दै विभिन्न सांगीतिक कार्यक्रमसमेत स्थगित भएका छन्। भारतीय चर्चित गायिका दीपा नारायण झाको प्रस्तुति रहने ‘द ग्रान्ड तीज सेलिब्रेसन’ पनि भोटेकोशी बाढीबाट भएको क्षतिप्रति संवेदनशीलता जनाउँदै स्थगित गरिएको छ।
यसले कलाकार तथा संगीत क्षेत्रले राहत रकम मात्रै होइन, आफ्ना कार्यक्रम र गतिविधिमार्फत समेत विपत्तिप्रति ऐक्यबद्धता जनाइरहेको देखाएको छ।
रकमभन्दा ठूलो सहयोगको भावना
विपत्तिको समयमा सहयोग रकमले मात्र मानवीयता मापन हुँदैन। कसैले लाखौँ रुपैयाँ दिएका छन्, कसैले केही हजार। कसैले आफूले पाएको दक्षिणा पीडितका लागि दिएका छन् भने कसैले आफ्ना सांगीतिक कार्यक्रमबाट उठेको रकम पीडितलाई दिने घोषणा गरेका छन्। कसैले राहत सामग्री बोकेर प्रभावित क्षेत्रमा पुगेका छन् भने कसैले सामाजिक सञ्जालबाट सहयोगको अपिल गरिरहेका छन्। कलाकार तथा सेलिब्रिटीहरूको यो सक्रियताले रकम कति भयोभन्दा पनि विपत्तिमा परेका नागरिकको साथमा उभिनु ठूलो कुरा हो भन्ने सन्देश दिएको छ।
भोटेकोशीको बाढीले धेरै परिवारको घर, सम्पत्ति र सहारा खोसेको अवस्थामा उद्धार तथा राहतका लागि राज्यसँगै नागरिक समाज, कलाकार, खेलाडी, व्यवसायी र विभिन्न क्षेत्रका व्यक्तिहरूको सक्रियता बढिरहेको छ।
चलचित्र विकास बोर्डले समेत बाढीबाट प्रभावित चलचित्रकर्मीको विवरण संकलन गर्ने, आवश्यक राहत उपलब्ध गराउन पहल गर्ने र चलचित्र क्षेत्रलाई विपद् सहयोग अभियानमा परिचालन गर्ने निर्णय गरेको छ। बोर्डले बाढीपीडितको सहयोगार्थ च्यारिटी शो आयोजना गर्न चलचित्रकर्मी संघ–संस्थालाई चलचित्र उपलब्ध गराउने र त्यसबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सहयोग गर्ने निर्णय गरेको छ। बोर्ड अध्यक्ष दिनेशराज दाहाल ‘दिनेश डीसी’ले आफ्नो आधा महिनाको तलब बराबरको रकम कोषमा सहयोग गर्ने निर्णय गरेका छन्।
विपत्तिले हिमाल, पहाड र तराई छुट्याएन। त्यसैले अहिले देखिएको सहयोगको भावना पनि भूगोल, क्षेत्र र पेशाभन्दा माथि उठेको छ। दुःखमा परेको नेपालीका लागि अगाडि बढेको हरेक हात एउटा भरोसा बनेको छ। कसैको पाँच लाख, कसैको एक लाख, कसैको २५ हजार वा कसैको केही सामग्री—पीडितका लागि सबै सहयोगको आफ्नै मूल्य छ। अन्ततः विपत्तिको घडीमा कलाकारको परिचय पर्दा र मञ्चमा मात्र सीमित हुँदैन। पीडामा परेको समाजसँगै उभिँदा उनीहरूको अर्को परिचय पनि देखिन्छ—मानवीयताको।




