काठमाडौं, भदौ १३ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी अधिवेशन प्रक्रिया अघि बढाइने बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहे पनि विधान र संविधानले तोकेको समयसीमाभित्र महाधिवेशन सम्पन्न गर्नु वैधानिक दायित्व भएकाले आवश्यक तयारी अगाडि बढाइने उनले बताएका हुन्।
शनिबार जारी विज्ञप्तिमा डा. कोइरालाले नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको पदावधि यही मंसिर मसान्तसम्म तथा संविधानअनुसार थप छ महिनाभित्र समाप्त हुने उल्लेख गर्दै स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन करिब एक वर्षभित्र हुने भएकाले पार्टीलाई एकताबद्ध, सक्षम र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन्।
उनले पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतले विगतका स्थापित सिद्धान्त र अभ्यासका आधारमा यथाशीघ्र टुंग्याउने विश्वास व्यक्त गर्दै अदालतबाट न्याय प्राप्त हुने अपेक्षा रहेको बताए। उनले आवेग, उत्तेजना र आरोप–प्रत्यारोपको राजनीति नभई संयमता, धैर्यता, आत्मीयता र लोकतान्त्रिक संस्कारका माध्यमबाट नेपाली कांग्रेसलाई पुनः सबै तहमा लोकप्रिय र सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सकिने धारणा राखेका छन्।
विज्ञप्तिमा सर्वोच्च अदालतमा विवाद विचाराधीन रहेको अवस्थामा पार्टीभित्र थप विभाजन र विवाद सिर्जना गर्ने गतिविधि कुनै पनि पक्षबाट हुन नहुने उल्लेख गरिएको छ। तर अदालतबाट यस्ता गतिविधि रोक्न आदेश जारी नभएको र चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमाथि १५औँ महाधिवेशन सम्पन्न गराउने वैधानिक जिम्मेवारी रहेको भन्दै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी प्रक्रिया अघि बढाइने जनाइएको छ।
डा. कोइरालाका अनुसार पूर्वनिर्धारित प्रक्रियाअनुसार क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति तथा निर्वाचन समिति गठनलगायतका काम सम्पन्न गरी वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रीय महाधिवेशनसम्मका सबै तहका अधिवेशन सञ्चालन गरिनेछ।
उनले तथाकथित विशेष महाधिवेशनबाट गठन गरिएको स्वघोषित कार्यसमितिका गतिविधिमा सहभागी नहुन तथा चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले सञ्चालन गर्ने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न पार्टीका पदाधिकारी, सदस्य, प्रतिनिधि, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।
यसैबीच डा. कोइरालाले गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बाढीका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै उनले बेपत्ता व्यक्तिको खोजी, उद्धार, राहत, सुरक्षित आवास, पुनर्स्थापना तथा उचित क्षतिपूर्तिका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
उनले राजनीतिक दल, भ्रातृ तथा शुभेच्छुक संघ–संस्था, निजी क्षेत्र, उद्योगी–व्यवसायी, वित्तीय संस्था, मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकायलाई प्रभावित नागरिकको सहयोगमा जुट्न अपिल गरेका छन्। साथै विपद्को कठिन घडीमा मानवीय सेवामा सक्रिय हुन नेपाली कांग्रेसका सबै तहका नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।
`आजको आवश्यकता विभाजन होइन, एकता हो। नेपाली कांग्रेसलाई एकताबद्ध, सक्षम र जनविश्वास प्राप्त पार्टीका रूपमा स्थापित गर्दै लोकतन्त्र, राष्ट्रियता र नागरिक स्वतन्त्रताको रक्षाका लागि सबै कांग्रेसजन एकजुट हुन आवश्यक छ,´ डा. कोइरालाले विज्ञप्तिमा उल्लेख गरेका छन्।
हेर्नुस् विज्ञप्ति






