काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते विहान आएको विनाशकारी बाढीले सिन्धुपाल्चोक जिल्लामा ठूलो शोक र अन्योल सिर्जना गरेको छ। विभिन्न कामका सिलसिलामा रसुवा पुगेका सिन्धुपाल्चोकका ठूलो संख्यामा नागरिक बेपत्ता भएका छन्। पछिल्लो तथ्यांकअनुसार जिल्लाभरका कुल २४५ जना बेपत्ता भएका छन्।
यस विपद्को सबैभन्दा ठूलो चोट सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई परेको छ। गाउँपालिकाका अनुसार, सो पालिकाका मात्रै १ नम्बर वडा अध्यक्षसहित ७३ जना नागरिक हालसम्म सम्पर्कविहीन छन्। आफ्ना ठूलो संख्याका बासिन्दा एकैसाथ बेपत्ता भएपछि सिंगो भोटेकोशी गाउँपालिका शोकमा डुबेको छ।
गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले घटना लगत्तैदेखि नागरिकको खोजी र उद्धारका लागि आफू अहोरात्र खटिरहेको बताएका छन्। उनले भने, ‘बाढीमा हाम्रा पालिकाबासी परेको खबर पाउनासाथ हामी आधा घण्टाभित्रै विमानस्थल पुगेका थियौं। तत्काल निजी हेलिकप्टर बुक गरेर उद्धारका लागि निस्कन खोज्दा सरकारको एकद्वार नीतिका कारण निजी हेलिकप्टर उड्न सम्भव भएन।’
तत्काल उद्धारमा देखिएको कानुनी जटिलताप्रति दुःखेसो पोख्दै अध्यक्ष शेर्पाले अहिले फरक तरिकाले खोजी कार्य जारी राखेको जानकारी दिए। ‘हामी आफैं र विभिन्न वडाका वडाअध्यक्षज्यूहरु विभिन्न स्थानमा पुगेर खोजतलास गरिरहेका छौं। तर, विडम्बना नै भन्नुपर्छ, हाम्रो १ नम्बर वडाका अध्यक्षज्यूसहित ७३ जना अझै पनि सम्पर्कविहीन हुनुहुन्छ,’ उनले थपे।
यस विपद्को घडीमा पालिकास्तरबाट भइरहेको प्रयास र आगामी रणनीतिका बारेमा छलफल गर्न अध्यक्ष शेर्पाले शनिबार काठमाडौंमा आकस्मिक सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा उनले पालिकाका नागरिकको खोजी कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै सबै दललाई एकजुट भएर यो संकटको सामना गर्न आग्रह गरे।
बैठकमा सहभागी सबै राजनीतिक दलका प्रतिनिधिले विपद्को समयमा आफ्ना नागरिकको खोजीमा अध्यक्ष शेर्पा र जनप्रतिनिधिले गरिरहेको सक्रिय प्रयासको प्रशंसा गर्दै धन्यवाद दिए। अध्यक्ष शेर्पाले बेपत्ता भएका व्यक्तिका परिवार र विपद् प्रभावितका लागि पालिकाको तर्फबाट गर्न सकिने राहत र सहयोगका बारेमा पनि दलका नेताहरुसँग राय लिएका छन्। बैठकपछि उनले पालिकाले छिट्टै नै राहत र सहयोगसम्बन्धी ठोस निर्णय गर्ने प्रतिबद्धता जनाए।




