काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाको युवा मामिला उपसभापतिमा महेन्द्र बस्नेत निर्विरोध निर्वाचित भएका छन्। समितिको तेस्रो अधिवेशनबाट बस्नेत उक्त पदमा निर्विरोध चयन भएका हुन्। लामो समयदेखि विद्यार्थी राजनीति, संगठन निर्माण तथा सामाजिक अभियानमा सक्रिय बस्नेतको निर्विरोध निर्वाचनलाई अमेरिकामा रहेका नेपाली युवालाई संगठनको मूलधारमा जोड्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। अधिवेशनबाट मुनिन्द्र नेम्वाङ सभापतिमा निर्वाचित भएका छन्।
नेपालमा रहँदा नेपाल विद्यार्थी संघ मा विभिन्न जिम्मेवारी सम्हालेका बस्नेत एक दशकभन्दा लामो समय विद्यार्थी राजनीतिमा सक्रिय थिए। संगठन विस्तार, युवा परिचालन तथा सामाजिक अभियानमा काम गरेको अनुभव उनले हासिल गरेका छन्। अमेरिका पुगेपछि पनि उनी गैरआवासीय नेपाली संघ ९एनआरएनए० लगायत विभिन्न सामाजिक तथा सामुदायिक संस्थामार्फत नेपाली समुदायसँग जोडिँदै आएका छन्। अमेरिकामा रहेका नेपाली युवाका समस्या, सम्भावना र नेतृत्व विकासका विषयमा निरन्तर काम गर्दै आएका बस्नेतले अब जनसम्पर्क समितिमार्फत युवा सहभागितालाई थप प्रभावकारी बनाउने योजना अघि सारेका छन्।
जिम्मेवारी पाएसँगै उनले नेपाली युवालाई जनसम्पर्क समिति र नेपाली समुदायसँग थप नजिकबाट जोड्ने, नेतृत्व तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने र युवाको सिर्जनशीलता तथा प्रतिभालाई संस्थागत रूपमा अघि बढाउने बताएका छन्।
त्यसैगरी युवालाई संगठनको निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउने, अमेरिकामा रहेका नेपाली युवाबीच सहकार्य तथा अनुभव आदानप्रदानको वातावरण बनाउने र शिक्षा, रोजगारी, उद्यमशीलता तथा सामाजिक सेवाका क्षेत्रमा युवालाई प्रोत्साहित गर्ने उनको प्राथमिकता छ। “युवाको सहभागिता केवल कार्यक्रममा उपस्थित हुनेमा सीमित नभई नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा हुनुपर्छ,” बस्नेतले भने, “मलाई प्राप्त जिम्मेवारीलाई युवाको आवाजलाई संस्थागत रूपमा अघि बढाउने अवसरका रूपमा लिएको छु।”
नयाँ नेतृत्वमा सभापति मुनिन्द्र नेम्वाङ र युवा मामिला उपसभापति महेन्द्र बस्नेतसहितको टोली आएपछि नेपाली जनसम्पर्क समिति अमेरिकाले युवा पुस्तालाई संगठनमा थप सक्रिय बनाउँदै नेपाली समुदायका मुद्दालाई प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ।
निर्विरोध निर्वाचित भएपछि बस्नेतले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने अधिवेशनका प्रतिनिधि, अग्रज, सहकर्मी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।




