काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको विदेश नीति तथा राष्ट्रिय सुरक्षा रणनीतिमा ‘खतरनाक विचलन’ देखिएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सरकारको छोटो अवधिमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका विषयमा गम्भीर संकट उत्पन्न भएको दाबी गरे।
सरकारले तिब्बती मामिला हेर्ने संस्था ९टीओबी० तथा पश्चिमी कूटनीतिज्ञहरूलाई दलाई लामाको जन्मोत्सवका नाममा नेपालमा राजनीतिक गतिविधि गर्ने अनुमति दिएको आरोपसमेत उनले लगाए। “हालै सरकारले टीओबी तथा पश्चिमी कूटनीतिज्ञहरूलाई दलाई लामाको जन्मोत्सव मनाउने बहानामा खुलेआम राजनीतिक चलखेल गर्न अनुमति दिएको छ,” थापाले भने।
उनले भदौमा भएको सत्ता परिवर्तनसँग दलाई लामा र तिब्बती संस्थाहरूको भूमिकालाई जोड्दै सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षाप्रति प्रश्न उठाए। उनका अनुसार उक्त सत्ता परिवर्तनपछि दलाई लामाले बधाई तथा शुभकामना दिएका थिए भने भदौमा भएको विध्वंसमा टीओबीका प्रतिनिधिहरू अग्रपंक्तिमा सक्रिय रहेको उनको दाबी छ। थापाले त्यस घटनाप्रति चीन सरकारले गम्भीर चासो व्यक्त गर्दै चेतावनीसमेत दिएको जिकिर गरे। चीनको आपत्तिपछि नेपालमा आयोजना हुने भनिएको एक अन्तर्राष्ट्रिय सम्मेलन स्थगित भएको दाबीसमेत उनले गरे।
उनले नेपालमा रहेका तिब्बती शरणार्थीको विषयमा पनि सरकार स्पष्ट हुनुपर्ने बताए। उनका अनुसार निर्वासित तिब्बतीहरूलाई नेपालले मानवीय आधारमा शरण दिएको भए पनि उनीहरूलाई राजनीतिक शरणार्थीका रूपमा मान्यता दिएको छैन। “निर्वासित तिब्बतीहरूलाई नेपालको मानवीय आधारमा शरण दिएको हो। उनीहरूलाई राजनीतिक शरणार्थीका रूपमा कहिल्यै मान्यता दिइएको छैन,” थापाले भने। थापाले तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा शक्ति सञ्चय भइरहेको दाबी गर्ने केही शोधकर्ताहरूको भनाइसमेत संसदमा प्रस्तुत गरे। उनले भदौमा लुटिएका हतियारसमेत त्यहाँ लुकाइएको हुनसक्ने आशंका व्यक्त गरे।
यस्ता गतिविधिले नेपालको राष्ट्रिय सुरक्षा र छिमेकी मुलुकसँगको सम्बन्धमा गम्भीर असर पार्न सक्ने भन्दै थापाले सरकारको विदेश नीति तथा सुरक्षा रणनीतिबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरे। उनले राष्ट्रिय हित, सार्वभौमसत्ता र छिमेकी मुलुकसँगको सम्बन्धलाई केन्द्रमा राखेर सरकारले विदेश नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए।




