काठमाडौँ । लोकतान्त्रिक कानुन व्यवसायीहरुको संस्था डीएलए नेपालको आगामी १२औँ महाधिवेशनमा पूर्वमहासचिव लक्ष्मी दाहाल रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। महाधिवेशन भदौ १९ र २० गते काठमाडौँमा हुँदैछ। ११औँ महाधिवेशनमा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी रहेकी रावलले यसपटक पनि अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी हुन्। उनी १०औँ महाधिवेशनबाट महासचिवमा निर्वाचित भएकी थिइन्। नेपाल बार एसोसिएसनकी पूर्वकेन्द्रीय सदस्यसमेत रहेकी रावलले ‘अनुभवको नेतृत्व, संस्थाको रूपान्तरण’ भन्ने नारासहित आफ्नो उम्मेदवारी र १० बुँदे कार्ययोजना सार्वजनिक गरेकी छन्।

डीएलएको नेतृत्वमा अहिलेसम्म महिला अध्यक्ष नभएको उल्लेख गर्दै रावलले संस्थाको नेतृत्वमा महिलाको सहभागिता सुनिश्चित गर्न पनि आफ्नो उम्मेदवारी महत्वपूर्ण रहेको बताइन्। यद्यपि, आफ्नो उम्मेदवारी महिला भएकै कारण नभई संस्थाप्रतिको निष्ठा, कार्यसम्पादन क्षमता र स्पष्ट दृष्टिकोणका आधारमा रहेको उनको भनाइ छ। ‘म पदको खोजीमा होइन, जिम्मेवारी निर्वाह गर्ने अवसरको खोजीमा आएकी हुँ। मेरो उम्मेदवारी योग्यता, समावेशी नेतृत्व र संस्थागत रूपान्तरणको साझा अभियान हो,’ रावलले भनिन्।

रावलले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा डीएलएलाई बाह्य हस्तक्षेप र गुटबन्दीबाट मुक्त राख्दै विधिको शासनअनुसार सञ्चालन गर्ने, स्वतन्त्र न्यायपालिकाको रक्षा गर्ने तथा संस्थालाई प्रविधिमैत्री बनाउने विषयलाई प्राथमिकता दिइएको छ। त्यसैगरी कानुन व्यवसायीहरूको क्षमता अभिवृद्धि, सदस्यको व्यावसायिक विकास र संस्थाको आफ्नै भवन निर्माणलाई पनि उनले आफ्नो कार्ययोजनामा समेटेकी छन्।

डीएलए नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरूको संगठन हो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको