काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी अधिकारीहरूमाथि गरिएको टिप्पणीप्रति असन्तुष्टि जनाएका छन्। उनले उजुरी परेका विषयमा अनुसन्धान र सोधपुछ हुनुपर्ने भए पनि त्यसका लागि संसदीय मर्यादा र व्यवस्थित प्रक्रिया पालना गर्नुपर्ने बताएका छन्।

समितिको बैठकमा प्रहरी अधिकारीलाई लक्षित गर्दै गरिएको टिप्पणीप्रति प्रतिक्रिया दिँदै आईजीपीले प्रहरीलाई ‘‘घिसार्छु’ भन्ने अभिव्यक्ति दिने प्रवृत्तिमाथि प्रश्न उठाए। ‘प्रहरीहरूलाई घिसार्छु भन्नेहरूले पनि बडा मीठो कुरा गरेको यहाँ सुन्न पाइयो । घिसार्छु भन्ने कुन किसिमको पाषाणयुगीन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ कि भन्ने चिन्ता गरिराखेको बीचमा बडा दूधले नुहाएका कुरा सुनिन्छ,’ उनले भने। रासवपा सांसद खगेन्द्र सुनारले सिन्धुली पुगेर प्रहरीलाई घिसार्छु भन्ने अभिव्यक्ति दिएका थिए ।

महानिरिक्षक कार्कीले लामो समयदेखि निष्ठापूर्वक काम गरेका प्रहरी अधिकारीलाई संसदीय समितिमा बोलाएर जथाभावी आरोप–प्रत्यारोप लगाउनु उचित नभएको बताए। ‘आजसम्म निष्ठापूर्वक काम गरेका मान्छेलाई ल्याएर, यहाँ ल्याएर जथाभाबी भन्या छ। जे मन लाग्यो त्यही भन्नु त उचित होइन होला नि रु कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि,’ उनले भने।

आईजीपीले मञ्चमा बसेर गालीगलौज गर्नु सहज भएको भन्दै यस्तो व्यवहारले संसदीय अभ्यास र सभ्यताको मर्यादा कायम नहुने बताए।

‘सजिलो चाहिँ गालीगलौज गर्ने रहेछ मञ्चमा बसेर । त्यो सिक्न पाए हुन्थ्यो। यो हुर्मत लिने किसिमको परिस्थिति एउटा सभ्यताको हिसाबले पनि, संसदीय कुराले पनि त्यति मजाको चाहिँ लागेन,’ उनले भने।

यद्यपि उजुरी परेका विषयमा अनुसन्धान र सोधपुछ हुनुपर्ने कुरामा आफूहरूको कुनै आपत्ति नरहेको उनले स्पष्ट पारे। तर त्यसका लागि संसदीय अभ्यासअनुसार व्यवस्थित र मर्यादित प्रक्रिया अपनाउनुपर्ने उनको भनाइ छ। ‘उजुरी परेका सम्बन्धमा अनुसन्धान हुनुपर्छ, सोधपुछ हुनुपर्छ, सबै ठीक छ। तर त्यसका पनि व्यवस्थित तरिकाहरू छन्, संसदीय अभ्यासका कुराहरूभित्र पनि,’ उनले भने।

प्रहरी संगठनलाई राजनीतिक पक्ष वा प्रतिपक्षका रूपमा चित्रित गर्न नहुने बताउँदै आईजीपीले प्रहरीको संस्थागत मर्यादा र व्यावसायिकतामाथि अनावश्यक आक्षेप लगाउने प्रवृत्ति उचित नभएको संकेत गरे। हामी प्रहरी मात्रै होइन, हामी मुलुककै प्रतिपक्ष पनि होइन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको