काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतको अन्तिम फैसला नआउँदै १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने भएको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाउने निर्णयसम्बन्धी यसअघिको फैसलामा पुनरावलोकनको अनुमति दिए पनि कांग्रेसले त्यसको टुंगो नलाग्दै महाधिवेशनको तयारीलाई निरन्तरता दिएको हो।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै तल्लो तहका अधिवेशनको मिति हेरफेर गरेका छन्। तर, केन्द्रीय महाधिवेशनको मिति भने परिवर्तन गरिएको छैन। कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै गरिसकेको छ।
नयाँ कार्यतालिकाअनुसार भदौ २ देखि १० गतेसम्म काठमाडौं उपत्यका र उपत्यकाबाहिर निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइनेछ। भदौ ११ गते निर्वाचन अधिकृतलाई जिल्लामा खटाइनेछ भने भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि परिचालन गरिनेछ। भदौ १६ देखि २० गतेसम्म वडास्तरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ।
सम्पन्न हुन बाँकी नेपाली जनसम्पर्क समितिका अधिवेशन भदौ मसान्तभित्र सक्ने लक्ष्य राखिएको छ। देशभरका ६ हजार ७ सय ४३ वटै वडामा भदौ २४ गते गाउँ–नगर वडा अधिवेशन हुनेछ। त्यसबाट क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् भने भदौ २७ गते गाउँ–नगरपालिका अधिवेशन हुनेछ।
त्यस्तै, भदौ ३१ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन, असोज ३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने तालिका छ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुनुका साथै कार्यसमिति निर्वाचन हुनेछ।
असोज ७ गते जिल्ला र असोज १० गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कांग्रेसको तयारी छ। त्यसपछि असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ।
यस्ताे छ कार्यतालिका





