
काठमाडौं : नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले शिक्षकमाथि सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताए। उनले अहिले नै पूरा हुने माग पूरा गर्ने र कतिपय कुराहरू संविधान संशोधन गर्दा तथा त्यसपछिका छलफलका माध्यमबाट टुंग्याउनुपर्ने बताए।
‘शिक्षकका सबै माग एकैपटक पूरा हुने अवस्था छैन। कतिपय कुरा संविधान संशोधन गर्दा नै सम्बोधन गर्ने कुरा भए। गर्छु भनेर भएन। त्यतिबेलाको बहुमतले के भन्छ, त्यसैगरी उहाँहरूलाई बुझाउनुपर्यो,’ उनले भने, ‘ऐन जारी गर्ने विषयमा तलमाथि नहुने गरी विश्वास दिलाउने काम गर्नुपर्यो।’
विश्वकर्माले सबैभन्दा पेचिलो विषय राहत शिक्षकको विषयमा सरकारले गम्भीर भएर आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग छलफल गर्नुपर्ने बताए।
‘राहत शिक्षकको विषयमा यसअघि पनि विभिन्न सम्बोधन भएका थिए। यसपटक पनि यो विषय उठ्यो। अब सरकारले यसलाई कसरी सम्बोधन गर्ने भन्ने बुझाउनुपर्छ’ उनले भने, ‘राहत शिक्षक भनेको अस्थायी हो भन्ने कुरा त उहाँहरूले बुझ्नुभएकै छ। उहाँहरूले जागिर खाँदैमा अस्थायी हो भनेर खानुभएको हो।’
विश्वकर्माले तत्काललाई कक्षा १२ को परीक्षा स्थगित गरेर समस्या समाधान गर्नतर्फ सरकार लाग्नुपर्ने सुझाव पनि दिए।
उनले सरकारले एक सूचना जारी गर्दा स्थगित हुने कुरालाई ध्यान दिन आग्रह गर्दै भने, ‘सरकारको एक सूचनाले परीक्षा रोकिन सक्थ्यो। आन्दोलन त एकैपटक रोक्न सकिने कुरा भएन। सरकारले आन्दोलनरत शिक्षकसँग वार्ताको चरणमा रहेकोले परीक्षा स्थगित भएको भनेर सूचना दिनुपर्ने थियो।’