
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दाेलनका माग बारे आफ्नाे ७ बुँदे धारणा सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस दाङकाे सम्मेलनलाई सम्बाेधन गर्दै उनले शिक्षकका मागहरू आत्मसाथ गर्न आग्रह गरेका छन् ।
१) शिक्षा विधेयक समयमै संसदीय समितिबाट पारित गरेर अघि बढ्न भएको ढिलाई अन्य सबै विधेयकहरुमा पनि देखिँदै आएको प्रवृत्ति हो । एक दलले अर्को दललाई दोष लगाएर हामी उम्किन पाउन्नौं, त्यसो नगरौं ।
२) शिक्षक महासंघ लगायतसँग विगतमा गरिएको सम्झौता नै विधेयक अन्तिम टुंगोमा पुग्ने मुल आधार बन्नुपर्छ, यसमा खासगरी मुख्य ३ राजनैतिक दल साझा ढंगले सहमत बनौं, सरकार यसमै प्रतिबद्ध बनोस् ।
३) शिक्षक र बिधालय कर्मचारीका माग के पूरा गर्ने त्यो मुख्य कुरा हो,
प्रक्रियामा थप १ महिना अरु समय लाग्दा फरक पर्दैन। शिक्षक महासंघ संसदीय समितिमा विचाराधीन विधेयकलाई अध्यादेश मार्फत जारी गर्दा निस्चयनै संवैधानिक र कानुनी प्रश्न उठ्छ भन्ने वास्तविकताप्रती स्पष्ट रहनुपर्छ ।
४) आन्दोलनले उठाएका मागहरू मध्ये विधेयक पारित हुनुपुर्व नै सरकारले गर्नसक्ने निर्णयको बुँदा पहिचान गरेर सरकार संवाद मार्फत निर्णयमा पुग्नुपर्दछ ।
५) बाँकी बुँदाहरु संसदको आगामी अधिवेशन शुरु हुने पहिलो दिननै संसदमा पेश गर्नेगरी सहमतिमा पुग्न सरकार र शिक्षक नेतृत्व हार्दिक ढंगले सहमत हुन जरुरी छ । यसमा नेपाली काँग्रेसको स्पष्ट र दृढ प्रतिबद्धता रहेकोे छ ।
६) यो प्रकृतिको सहमति साथ आफ्नो गाउँ र बिधालय फर्किन सबै आदरणीय गुरु-गुरुआमाहरु सहमत रहन नम्र अपील छ ।
७) स्वयं सम्माननिय प्रधानमन्त्रीले अविलम्ब समाधानमा अन्य सबै कार्य थाती राखेर बिशेष तदारुकता राख्न सार्वजनिक आह्वान छ ।