काठमाडौं । वातावरणीय न्यायका लागि सरकार र सरोकारवाला निकाय एकजुट भई कार्ययोजना अघि सार्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । विश्व वातावरण दिवसका अवसरमा बुधवार राजधानीमा भएको जलवायु पदयात्रापछि बोल्दै सहभागीले वातावरण प्रदुषण रोक्न र भावी पुस्तालाई सुरक्षित राख्नका लागि पहल गर्न सरकारले ढिलो गर्न नहुने धारणा राखे ।

वातावरण विनाश र त्यसले निम्त्याउन सक्ने जलवायुजन्य विपद्का बारे सजग र सतर्क नहुने हो भने भविष्यमा हाम्रा विकासले विपद् निम्त्याउनेछ । यसलाई रोक्न सरकारले उपर्युक्त कदम चाल्नुपर्छ, वातावरणीय न्यायका पक्षमा काम गर्दै आएको संस्था साथसाथैले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले भन्नुभयो ।

वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा सरोकार राख्ने विभिन्न ६८ वटा संघसंस्थालाई समन्वय गरी साथसाथैले काठमाडौंको भद्रकालीदेखि बसन्तपुर दरवार स्क्यारसम्म पैदययात्रा गरेको थियो । उक्त पैदलयात्रामा प्रतिनिधि सभाका उपासभामुख इन्दिरा रानामगर, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, एमालेका सचिव योगेश भट्टराई, प्रतिनिधिसभामा एमालेका सचेतक सुनिता बराल, नेपाली कांग्रेसकी नेतृ एवं संविधानसभा सदस्य लक्ष्मी परियार, वातावरण क्षेत्रमा काम गर्ने अभियन्ताहरुको सहभागिता थियो ।
‘वातावरणीय न्यायका लागि सँगसँगै पदयात्रा’ मा उपसभामुख इन्दिरा रानामगरले नेपालको आर्थिक समृद्धिको मुख्य आधार र पर्यटकको मुख्य आकर्षक हिमाल पग्लिएर कालापत्थरमा परिणत हुन लागेका विषय चिन्ताको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सबैको सरोकारको विषय बन्नुपर्छ र यसको समाधानका लागि आजैदेखि सबै आ–आफ्नो तर्फबाट जुट्औँ । आफ्नो दिनचर्यामा वातावरण संरक्षणका लागि विद्युतीय चुलोको प्रयोगबाटै सुरुवात गरौँ ।”


उहाँले जलवायु परिवर्तनले पारेका असर र त्यसको न्युनिकरणका लागि साथसाथैका अभियन्ताहरुले सगरमाथा कालापत्थर सहित मुलुकका विभिन्न क्षेत्रमा पुगेर गरेको कामको सह्राहाना समेत गर्नुभएको थियो ।

आयोजक संस्था साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले वातावरण जोगाउनु सबैको जिम्मेवारी भएका कारण यो पदयात्रा मार्फत सन्देश दिएको बताउनुभयो ।

पृथ्वीलाई स्वच्छ र प्रदुषणरहित बनाउनका लागि हामी सबैको हात हुन्छ । त्यसका लागि आपसमा सहकार्यको जरुरी छ । जनचेतनाको खाँचो पनि छ, अध्यक्ष कार्कीले भन्नुभयो, यो पदयात्रामा सहभागी भएर सबै संघ संस्थाले ऐक्यवद्धता जनाउनुभएको छ । हामी पृथ्वीलाई सुरक्षित राख्ने अभियानमा निरन्तर लाग्नेछौं ।
कार्कीले वातावरण जोगाउन सबैको सहकार्यको आवश्यकता औल्याउँदै यसका लागि आजैदेखि सबैले व्यक्तिगत रुपमै घरपरिवारबाटै पहलकदमी लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालका हिमाल कालो हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालले भोग्नुपरेका यस्ता समस्याको समाधानका लागि कार्बन बढी उत्सर्जन गर्ने औद्योगिक र विकसित मुलुकसँग क्षतिपूर्ति मागदाबी गर्नुपर्छ ।” उहाँले वातावरणीय विनाशका कारण स्थानीय जनता विस्थापित हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै आजैदेखि वातावरण संरक्षणमा जुट्न सबैलाई ऐक्यबद्धता गर्न आग्रहसमेत गर्नभयो । उहाँले विकासका नाममा हेलचेक्र्याई गर्दा विनाश निम्तिरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

एमालेका सचेतक सुनिता बरालले वातावरण संरक्षणका क्षेत्रमा आफूहरु नीतिगत रुपमै काम गर्न सांसदहरुको समूह बनाउने तयारीमा रहेको जानकारी गराउनुभयो । नेपाली कांग्रेसका नेतृ लक्ष्मी परियारले वातावरण संरक्षणमा सरोकारवालासँगै राजनीतिकर्मी पनि संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिनुभयो । मधेसी आयोगका सदस्य रेणुदेवी साहले नेपालको सुन्दर प्राकृतिक सम्पदा जोगाएर पर्यटन प्रवद्र्धन गर्नसके मात्र समृद्धि हासिल हुने बताउँदै यसमा सबैले ऐक्यबद्धताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपस्थित सबै संस्थाका प्रतिनिधिले वातावरण संरक्षणका लागि ऐक्यबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर