काठमाडौं, २८ असोज । नेपालको धारिलो बलिङसामू यू-१९ प्रिमियर कप क्रिकेटमा बहराइन सस्तैमा समेटिएको छ। दीपेश कंडेलले ६ विकेट लिएपछि ३७.५ ओभर टिके पनि बहराइन ७७ रनमै अलआउट भयो।
मलेसियामा भएको खेलमा टस हारेर नेपालले पहिले बलिङ गरेको थियो। जहाँ दीपेशले ९.५ ओभर बिलङ गर्दे ८ मेडन ओभर राखेर मात्र ४ रन दिएर ६ विकेट लिए। त्यसैगरी दुर्गेश गुप्ताले ८ ओभरमा २२ रन दिएर ४ विकेट लिए।
बहराइनका लागि महोमद बसिलले सर्वाधिक ३४ रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हराएको थियो। १६ टिम सहभागी यस प्रतियोगितामा नेपालले समूह चरणमा अब साउदी अरेबियासँग भिडन्त गर्नेछ।
चार समूहबाट शीर्ष एकरएक टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् भने प्रतियोगिताका शीर्ष ३ टोलीले यसै वर्ष हुने यू-१९ एसिया कप खेल्न पाउनेछन्। भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने एसिया कपमा सोझै छनोट भइसकेका छन्। यू-१९ विश्वकपका लागि पनि छनोट भइसकेको नेपाललाई यो प्रतियोगिताको उपाधिको प्रबल दाबेदारको रुपमा हेरिएको छ।




