
एजेन्सी, १५ भदौ । आईपीएलमा चेन्नाइको टिममा अप्रत्याशित रुपमा समावेश गरेर धोनीले चम्काएका पाथिराना श्रीलंकन टिमको स्टार बलर बनेका छन्।
पाथिराना चम्किंदा श्रीलंकाले एसिया कपको आफ्नो पहिलो खेलमा बंगलादेशलाई पाँच विकेटले हरायो।
तीव्र गतिका बलर पाथिराना पूर्व स्टार श्रीलंकलन बलर मालिंगाको जस्तो समान बलिङ शैलीका कारण ‘बेबी मालिंगा’को उपनामले समेत चर्चित बनेका छन्।
समूह चरणको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ४२.४ ओभरमा मात्र १६४ रनमा अल आउट भएको थियो।
बंगलादेशलाई ध्वस्त पार्न प्लेएर अफ द म्याच बनेका पाथिरानाले ७.४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। बंगलादेशका लागि हसन शान्टोले सर्वाधिक ८९ रनको योगदान दिंदा अन्य ब्याटर टिक्न सकेनन्।
जवाफमा १६५ रनको सहज विजयी लक्ष्य श्रीलंकाले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। श्रीलंकाका लागि चरिथ असलंकाले सर्वाधिक अविजित ६२ रनको योगदान दिए।