मुमाराम खनाल / समुचित गृहकार्य र पर्याप्त कानुनी आधार बिना गरिने गिरफ्तारीले अन्तत: प्रत्युत्पादक परिणाम निम्त्याउँछ। धेरै ‘ठूला’ गिरफ्तारीमा गृहमन्त्रीको गृहकार्य सून्य देखियो। जसले परिणामभन्दा बढी सनसनी मात्र पैदा गर्यो। गृहमन्त्रीले त इतिहास किन पो पढ्लान् र! बालेन्द्र सरकारका सल्लाहकारहरूले यो दृष्टान्त पढेर उनलाई सुनाउन सक्छन् है।
सन् १९७७ को भारतीय निर्वाचनमा तात्कालिन ‘जनता पार्टी’ले इन्दिरा गान्धीको सरकारलाई हराएर सत्ता सम्हाल्यो। र, इन्दिरा गाँधीले सन् १९७५ लगाएको ‘इमर्जेन्सी’ कालमा सत्ताको दुरुपयोग गरेको आरोपमा इन्दिरा गान्धीलाई कारवाही गर्नुपर्ने दबाब बढ्यो। यौटा समुहले ‘गान्धीलाई गिरफ्तार गर्न सक्यौ भने हिरो हुन्छौ’ भनेर गृहमन्त्री चौधरी चरणसिंहलाई उक्सायो।
‘हिरो बन्नको लागि’ चरणसिंहले इन्दिरा गान्धीलाई पक्राउ गरे। तर निम्छरो तयारी तथा कांग्रेस कार्यकर्ताको ठूलो दबाबको कारणले अदालतले उनलाई तुरून्तै रिहा गर्यो। गृहमन्त्रीको उक्त कदम प्रतिशोधपूर्ण र प्रशासनिक अक्षमताको प्रतीक प्रमाणित बन्न पुग्यो। परिणाम, भारतीय जनमत इन्दिरा गान्धीप्रति सहानुभूति राख्ने ठाउँमा मोडियो। सरकारको नैतिक तथा राजनीतिक विश्वसनीयता स्वाट्टै घट्यो। जसले भित्रैदेखि विभाजित ‘जनता पार्टी’लाई अझ कमजोर बनाउँदै लग्यो। अन्ततः सन् १९८० को निर्वाचनमा इन्दिरा गान्धीको पुनरागमनको आधार तयार मात्र गरेन, जनता पार्टीको पराजय र विघटन पनि सँगसँगै गर्यो।
सत्ता जिम्मेवार हुन्छ। उट्पट्यांग कुरालाई पनि ताली ठोकेर वाहवाही गर्ने ‘हुँडार’को समुह त यता फेसबुकतिर मात्रै हो, पाइने।



