काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सर्वोच्च अदालतमा पुनः सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा हिजो (आइतबार) देखि सुरु भएको बहस आज पनि निरन्तर रहने भएको हो। हिजो रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय टीकाराम भट्टराई र चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए भने आज बाँकी कानुन व्यवसायीहरूले बहस गर्नेछन्।
निवेदक पक्षको बहस सकिएपछि नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी नेतृत्वको टोलीले सरकारको तर्फबाट प्रतिरक्षा बहस गर्नेछ। दुवै पक्षको बहस र जवाफी बहस सकिएपछि मात्र अदालतले उनीहरूलाई थुनामुक्त गर्ने वा थुनामै राख्ने भन्नेबारे अन्तिम निर्णय सुनाउनेछ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनीहरूलाई मुलुकी अपराध संहिताको दफा १८१ लापर्बाहीपूर्ण काम र १८२ हेलचेक्र्याइँपूर्ण कामअनुसार कारबाही गर्न सिफारिस गरेको थियो।
जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि उनीहरूलाई पाँच दिनको म्याद दिएको छ भने सर्वोच्चले यस मुद्दालाई प्राथमिकतामा राखेर सुनुवाइ गरिरहेको छ।
दफा १८१ अनुसारको कसुर पुष्टि भएमा ३ देखि १० वर्षसम्म कैद र १८२ अनुसार २ वर्षसम्म कैद हुन सक्ने कानुनी व्यवस्था छ। आजको सुनुवाइ पछि उनीहरूको रिहाइ हुने वा नहुनेबारे टुङ्गो लाग्ने अपेक्षा गरिएको छ।



