डा. शशांक काेइराला । भदौ २३ र २४ गते जेनजीले भ्रष्टाचारको विरोधनमा र सुशासनको पक्षमा तथा सामाजिक संजालमाथिको प्रतिबन्धको विरोध गर्दै गरेको प्रदर्शनमा जीवन गुमाउने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै सोही प्रर्दशनमा घाइते हुनुभएकाहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । उक्त घटनाको निष्पक्ष छानबिन गरेर सम्पुर्ण वास्तविकता सार्वजनिक गरिनुपर्छ ।

भदौ २३ र २४ प्रर्दशनपछि आजको मितिसम्म मेरो मनमा निरन्तर केहि प्रश्नहरू उठिरहेका छन् । ०६२÷६३ को जनआन्दोलनमा हामीले भनेका थियौँ– लोकतान्त्रिक अधिकारका लागि अब उप्रान्त कसैले पनि रगत बगाउनु पर्ने छैन, तर अहिले फेरि रक्तपात र भयावहको अवस्था किन आयो ?

यो परिस्थिति आउनुमा क–कस्को के के कमजोरी रह्यो ? ऐतिहासिक धरोहर सिंहदरबार, सवोच्च अदालत, शीतल निवासजस्ता सम्पदालाई किन निशाना बनाइयो ? जहानियाँ राणाशासन विरुद्ध फरक ढंगले बिद्रोहको बिगुल फुक्ने पिताजी कृष्णप्रसाद कोइरालाको बिराटनगरस्थित निवास किन ध्वस्त बनाइयो ?

लौहपुरुष गणेशमान सिंहको निवास चाक्सिवारी र सन्त नेता किसुनजीको आश्रममा भएको आक्रमणलाई लोकतन्त्रमाथि प्रहारका रुपमा मैले बुझेको छु ।

मिडिया हाउस, ब्यापारिक प्रतिष्ठान, निजि घर आदि जल्नु कुनै कोणबाट पनि सहि थिएन । निजि क्षेत्रलाई निरुत्साहित गरेर आजको विश्वमा कुनै देश समृद्ध बन्न संभव छैन् ।
सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी माथि भएको भौतिक आक्रमण अत्यन्तै निन्दनीय र दुःखद थियो । यो अमानवीय घटनाको म निन्दा गर्दछु ।

आजको मितिमा मुख्य बिषय फागुन २१ को निर्वाचन हो । सो निर्वाचनमा जान हामीले सबै राजनीति दल, नागरिक समाजलगायत सबैलाई एकतावद्ध बनाउनु नेपाली कांग्रेसको दायित्व हो । यतिबेला नेपाली काँग्रेस आन्तरिक रुपान्तरणको चरणमा छ भने सँगै देशलाई सहि दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ । मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो । त्यही कारण काँग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ । तर निर्वाचनका लागि वातावरण बनाउने जिम्मेवारी सरकारको हो । यतिबेला देशमा भयरहित वातावरण छैन । सरकारलाई वातावरण बनाउन दबाब दिउँ, प्रहरीबाट लुटिएका हतियार र जेलबाट भागेका कैदी फर्काउने दायित्व पनि सरकारको नै हो । यो जिम्मेवारी पूरा गर्न सरकारलाई दबाब बढाउँदै केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर फागुन २१ को निर्वाचनमा जाऔं ।

यतिबेला विशेष महाधिवेशनमा पार्टी जानुहुन्न । तर बिशेष महाधिवेशन माग गरेका साथीहरूलाई पनि विश्वासमा लिएर अगाडि बढ्नु व्यवहारिक हुन्छ । पार्टी महाधिवेशनको विषयमा पक्ष–विपक्षमा बाँडिएर द्वन्द्व बढाउने भन्दा विशेष महाधिवेशनको माग राख्ने साथीहरूको भावनालाई पनि समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोजेर जानुपर्छ ।

जेनजी आन्दोलनपछि सरकार मात्र बदलिएको छ । तर ०७२ मा बनेको हाम्रो संविधान यथावत छ । निर्वाचन मार्फत बन्ने प्रतिनिधि सभाले आवश्यक संविधान संशोधन गरेर जेनजीको जायज माग पूरा गर्न सक्छ ।

खासगरी काँग्रेस पार्टीले निर्णय गरिरहँदा वर्तमान संविधान, संघीयता, समावेशीता, जनसंख्याको आधारमा प्रतिनिधित्व, प्रेस स्वतन्त्रता आदिको हेक्का राख्नैपर्छ । मुलतः हामीले सोच्नुपर्छ अबको दिनमा सरकारको डेलिभरी क्षमता कसरी बढाउने ? कसरी रोजगारीका अवसर बढाउने जस्ता विषयको अगुवाई कांग्रेसले गर्नुपर्छ ।

दुई छिमेकी मित्रराष्ट्रसंगको सम्बन्ध सुदृढिकरणमा हामीले विषेश ध्यानदिनुपर्छ । नेपालको हितमा उपयोग हुनेगरि मित्रराष्ट्रहरूको सरोकारलाई समेत ध्यानमा राखेर अगाडि बढ्नुपर्छ ।

सामाजिक न्याय र समतामुलुक समाज निमार्णको वीपीको विचारलाई स्थापित गर्न र नेपाललाई त्यो मार्गबाट समुन्नतिमा पु¥याउन द्वन्द व्यवस्थापनको बिषयलाई केन्द्रमा राख्नुपर्छ भन्नेमा म शुरुदेखी नै प्रष्ट छु । आज नेपालमा द्वन्द व्यवस्थापन गर्नुपर्ने निम्न क्षेत्र छन् –
पुरानो पुस्ता र आजको पुस्ताबीचको द्धन्द
मधेश र पहाडबीचको द्धन्द
लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनबीचको द्धन्द

राष्ट्र र पार्टीको वर्तमान विषम परिस्थितिमा हठात प्रतिक्रिया, आरोप, प्रत्यारोप, आवेग, हठ भन्दा विपरित विचारप्रति सहिष्णुता, सहअस्तित्वका साथ द्वन्द व्यवस्थापनसंग वीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई मनन् गर्दै एकतावद्ध पार्टी निर्माण आजको आवश्यकता हो । म सदैब यहि अभियानमा छु ।

धन्यवाद । जय नेपाल !
प्रा डा शशांक कोइराला
२०८२ कार्तिक २६

( केन्द्रीय समिति बैठकमा राख्नुभएकाे धारणा)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर