डा. शशांक काेइराला ।

नेपालीहरूको महान चाड बडादशैँ २०८२ को अवसरमा देश विदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरूमा सु–स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्दछु ।

हामी यो बडादशैँ फरक र विषम परिवेशमा मनाउदै छौ । भाद्र २३ र २४ गते भएको प्रर्दशनका क्रममा ज्यान गुमाउने सम्पुर्ण युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँहरू आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
साथै नेपाली कांग्रेसका सभापति आदरणीय शेरबहादुर देउवा, कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणालगायत सम्पुर्ण घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

यतिबेला हाम्रो मुलुक विषम परिस्थितीबाट गुज्रिहरेको छ । नेपाली जनताको लामो संर्घष र बलिदानबाट प्राप्तभएको संघीय लोकतान्त्रिक गणतन्त्रको जग संविधानमाथि प्रहार भएको छ । यो अवस्थामा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जोगाउनु सबै प्रमुख दायित्व हो ।

नेपालमा प्रजातन्त्र र स्वतन्त्रताको विगुल फुकेको पिताजी कृष्णप्रसाद कोइरालाले स्थापना गरेको ऐतिहाँसिक धरोहर कोइराला निवास, २०४६ सालको आन्दोलका सर्वोच्च कमाण्डर गणेशमान सिंहको चाक्सीबारीस्थित निवास, सन्त नेता कृष्णप्रसाद भट्टराई नाममा स्थापित आश्रम आगजनी भएर ध्वस्त भएका छन् ।
यी केबल कसैका घर थिएनन । सिंगो नेपालको प्रजातान्त्रिक आन्दोलनका इतिहाँस थिए र नेपालीहरूका साझा सम्पति थिए । त्यसैगरी संसद भवन, सर्वोच्च अदालत, सिंहदरबार, शीतल निवासजस्ता राष्ट्रिय सम्पति र सम्पदामाथि आगजनी भएको छ । यसले हाम्रो इतिहाँसलाई नामेट बनाएको छ । प्रमुख राजनीतिक दलका पार्टी कार्यालय, लोकत्नत्रमा विश्वास राख्ने नागरिकहरुको नीजी सम्पत्ति लगायत मेरो घर तथा व्यापारिक प्रतिष्ठानहरू आगजनी र तोडफोडले ध्वस्त भएका छन् ।

यो विंध्वसले नेपालको राष्ट्रियता, लोकतन्त्र, अर्थतन्त्र र इतिहासलाई एकैपटक नामेट पार्ने गम्भिर षड्यन्त्र भएको छ । हामीले राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र जोगाउने साझा दायित्वलाई पूरा गर्नुपर्ने छ । यो कार्य बिभाजनले होइन–सहमति, सहकार्य एकता र सुझबुझपूर्ण निणर्यबाट मात्र संभव छ । यसो गर्न सकिएन भने हामीले इतिहाँसले दिएको जिम्मेवारी पूरा गर्न सक्दैनौ । अझ वीपी कोइराला, गणेशमान सिंहजस्ता दुरदर्शी नेताहरूले स्थापना गरेको पार्टी नेपाली कांग्रेसको काँधमा आएको थप जिम्मेवारी बहन गर्नुपर्ने छ । त्यसो भएकाले हामीले हतारमा होइन आन्तरिक एकता कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र जोगाउनुपर्ने दायित्व निर्वाह गरी इतिहाँसले सुम्पेको गहन जिम्मेवारी पूरा गर्नुपर्छ ।

हामीले इतिहाँसमा जस्तै यो पटक पनि मुलुकलाई संकटबाट बाहिर निकाल्न सर्वप्रथम एकताबद्ध हुन आवश्यक छ । योे विषम परिस्थितीमा पार्टीको आन्तरिक एकतामा खलल् पुग्ने कुनै पनि गतिविधी गर्नु पार्टी हित र लोकतन्त्रका पक्षमा हुँदैनन् ।  कांग्रेस कमजोर हुँदा जहिले पनि लोकतन्त्र कमजोर भएको इतिहाँसबाट पाठ सिक्दै हामीसँग आन्तरिक एकता कायम गर्नुको विकल्प पनि छैन् । त्यसकारण मुलुक संकटमा रहेका बेलामा हामी को के बन्ने, को के हुने. भन्ने विषय गौण हो ।

अन्त्यमा नेपाली कांग्रेसले इतिहाँसका कठिन मोडमा झै यो पटक पनि सबै लोकतन्त्रवादी नागरिक समाज, बुद्धिजीवी, राजनीति दल, सरकार, पेशाव्यवसायी तथा आम नागरिकसंग समन्वय गरेर मुलुकलाई निकास दिने बाटो छिट्टै तय गर्ने विश्वास यस बडा दशैँका अवसरमा म सबैमा दिलाउन चाहन्छु

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर