काठमाडाै‌ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरूले देशका वास्तविक मुद्दाबाट ध्यान भड्काएर संसदलाई झुठा कथा सिर्जना गरी सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाएको आरोप लगाएका छन्। उनले कुनै पार्टीको नाम नलिएपनि रास्वपामाथि निशाना साँधेको प्रष्ट छ । बुधबार प्रतिनिधिसभामा आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी दिएपछि समसामयिक राजनीतिमा बोल्दै उनले सरकारलाई रचनात्मक प्रश्न सोध्नुको सट्टा अर्थहीन विषयमा विषयान्तर गर्न खोजिएको बताए।

‘देश र जनताको हितमा केन्द्रित हुनुपर्ने यस सम्मानित सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो देशको समृद्धिका लागि होइन, युवाहरूलाई गाली, निन्दा र भत्र्सनामा भुलाएर समाजलाई उत्तेजनामा ल्याउने नियत हो।’

उनले सहकारी प्रकरणमा अदालतले सयौं व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याएकोमा एक व्यक्तिमाथि मात्रै ‘राजनीतिक प्रतिशोध’ को भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाए। ‘भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूबाट समयले जवाफ माग्नेछ,’ उनले भने, ‘त्यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन, दयालाग्दो पनि छ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार बलियो संसदीय गणितको जगमा बनेको उल्लेख गर्दै यसलाई कमजोर पार्न ‘आजै ढल्छ, भोलि नै ढल्छ’ भनेर हल्ला फैलाइएको बताए। उनले भने, ‘अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ।’

आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका कामहरू प्रस्तुत गरे। उनले दैलेखमा ११२ अर्ब घनमिटर ग्यास फेला परेको र एक वर्षभित्र उत्पादन थाल्ने, नवलपरासीको धौवादीमा फलाम खानी उत्खनन सुरु भएको र हुम्लाको सिमीकोट सडक सञ्जालमा जोडिएको जस्ता कामहरूलाई सरकारको प्राथमिकताको उदाहरणका रूपमा प्रस्तुत गरे।

त्यसअघि, उनले तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनमा आफ्नो सहभागिताबारे सदनलाई जानकारी गराएका थिए।

अतिकम विकसित मुलुकहरूको समूहको अध्यक्षको हैसियतले आफूले पूर्वाधार अभाव, उच्च पारवहन लागत र जलवायु परिवर्तनजस्ता समस्याबारे विश्वको ध्यानाकर्षण गराएको बताए।

उनले तुर्कमेनिस्तानका राष्ट्रपति, किर्गिज्स्तानका प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भएका द्विपक्षीय भेटवार्ताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन मद्दत पुगेको विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर