काठमाडौं : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिउँसो ४ बजे प्रदेश सभामा विश्वास मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक आव्हान गरिएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश समितिमा सभापति रहेका सांसद बानियाँ साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री भएका हुन् । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप लगाएका छन् । तर, कांग्रेसभित्रकै लामा समुह बानियाँसँग असन्तुष्ट छ । लामाले मुख्यमन्त्रीबाट हट्नु केही अघि नियुक्त गरेका ३ मन्त्रीलाई निरन्तरता दिनुपर्ने अडान राखेर अड्डी कसिरहेका छन् ।



