दुबई, यूएई। यूएईमा रहेका इस्माली समुदायलाई एकताबद्ध, संगठित र सामाजिक सेवामुखी बनाउने उद्देश्यले स्थापित इस्माली समाज, यूएईको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी २०२६–२०२८ कार्यकालका लागि मानबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल एशोसिएसन (एनआरएनए एनसीसी यूएई) का अध्यक्ष भीम मल्ल ठकुरी हुनुहुन्थ्यो। विभिन्न नेपाली सामाजिक संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार तथा यूएईभर रहेका इस्माली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

कार्यक्रमको सञ्चालन इस्माली समाज, यूएईका महासचिव मनोज ज्ञवालीले गर्नुभएको थियो। कार्यक्रमको शुभारम्भ दीप प्रज्वलनसँगै शान्ति, सद्भाव र समृद्धिको कामना गर्दै गरिएको थियो। त्यसपछि गुल्मेली भजन टोलीद्वारा प्रस्तुत मादलसहितको मंगलमय भजनले सम्पूर्ण सभाहललाई आध्यात्मिक तथा सांस्कृतिक वातावरणले भरिएको थियो। भजनको मधुर प्रस्तुतिले कार्यक्रममा उपस्थित सबैलाई नेपाली मौलिक संस्कृति र परम्पराको अनुभूति गराउँदै विशेष आकर्षण थपेको थियो।
अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष मानबहादुर कुँवरले सम्पूर्ण सदस्यहरूलाई धन्यवाद व्यक्त गर्दै आफूलाई दिएको विश्वासप्रति आभार प्रकट गर्नुभयो। उहाँले आगामी दुई वर्ष समाजको संस्थागत विकास, पारदर्शी नेतृत्व, सामाजिक सेवा, शिक्षा, संस्कृति संरक्षण, युवा तथा महिला सशक्तीकरण, आपसी एकता र सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव, महिला सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, प्रवक्ता, सदस्यहरू तथा सल्लाहकार मण्डलसहितको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
कार्यक्रममा उपस्थित अतिथिहरूले नवगठित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यूएईमा रहेका इस्माली समुदायको हित, एकता र सामाजिक सेवामा संस्थाले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
“एकता, सद्भाव र सहकार्य हाम्रो पहिचान” भन्ने मूल नारालाई आत्मसात गर्दै सम्पन्न भएको यस प्रथम अधिवेशनले इस्माली समाज, यूएईको संस्थागत यात्रामा नयाँ अध्यायको सुरुवात गरेको विश्वास गरिएको छ। नवगठित कार्यसमितिले समाजलाई अझ सक्रिय, उत्तरदायी, समावेशी र उदाहरणीय संस्थाको रूपमा स्थापित गर्ने दृढ संकल्प व्यक्त गरेको छ।




