तेजन खड्का
काठमाडौं- नेपाली संगीत क्षेत्रमा छोटो समयमा चर्चा कमाएको नाम हो रचना रिमाल। फोटो फिरिममा, मिनरल वाटर, पहिलो पल्ट भेट हुँदा, सुनन पियारीजस्ता थुप्रै गीतले अहिले गायिका रचना रिमाललाई चर्चासँगैकाे शिखरमा पुर्याएको छ ।
टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा होस् अथवा संगीतप्रेमीहरुको मन-मनमा, अहिले आफ्नो मीठो स्वरका कारण प्रशंसामाथि प्रशंसा पाइरहेकी छन् रचनाले । छोटो समयमा एक हजार बढी गीतमा स्वर दिइसकेकी छिन् ।
गायिका रिमाललाई हामीले सोध्यौँ- तपाईंको जिन्दगीको सबैभन्दा खुशी क्षण के थियो नि ?
उनको जवाफ छ- ‘नेपाल आइडलको अडिसनमा छनौट हुनु !’
अनि दु:खको क्षण नि ? उनले फ्याट्टै जवाफ दिइन्- ‘आउट’ हुनु ।’
छोटो, मिठो, रमाइलाे अनि तत्काल जवाफ दिने चर्चित गायिका रचना रिमालको यो स्टाइललाई धेरै दर्शक/श्रोताले रुचाएका छन् । झापाको ग्रामिण भेगमा मध्यम परिवारमा हुर्किएकी रचनालाई लाखौं दर्शकको अगाडि प्रस्तुत हुन त्यति सहज थिएन ।
नेपाल आइडलको ‘सीजन थ्रि’ को अडिसनमा ‘जाउँ कि नजाउँ’ उनलाई दोधार थियो । कारण थियो, नजिकिँदै गरेकाे एसईई ।
त्यहाँ जाँदा उनलाई पढाई बिग्रिने र भाग लिनेभन्दा संगीत सिक्ने समय भएको भन्दै धेरैले सुझाएका थिए । तर उनको उत्कट चाहना रोकर कहाँ रोकिन्थियो र ? अडिसनबारे थाहा पाएपछि उनले एकपटक कोशिस गर्ने जमर्को गरिन् । आमाले हात समाएर नेपाल आइडलको मञ्च चढाएपछि निक्कै तारिफ बटुल्न सफल भइन् रचना । र टप ८ सम्मको यात्रा गरिन् ।
रचना प्रतिस्पर्धाबाट आउट भइन् भने दर्शक/श्रोताको मनमा ‘इन’ !
धेरै जसो मानिसहरु आफ्नो सफलताको प्रतिक ‘जित’ लाई ठान्छन् । तर रचनाको लागि हार नै सपना साकार बनाउने माध्यम बन्यो । उनलाई जान्ने बुझ्नेहरु भन्छन्- ‘हार होस् त रचनाको जस्तो । प्रतिस्पर्धामा आउट भए पनि चलेकी रचना नै छिन् ।’
तर यो कुरामा रचनाको फरक मत छ ।
रचनाले भनिन्- ‘मैले प्रतिस्पर्धामा हारे पनि संघर्ष जारी राखेँ । कसैले मेरो स्वर मन पराउनु हुन्छ, कसैले अरुको । हारेको फिल भएको छैन, जितेकै फिल भएको छ । आउट भए पनि धेरैले माया गरिदिनु भएको छ । धैरै गीत गाउन पाएँ, त्यहि नै मेरो लागि ठूलो कुरा हो । आउट भए पनि म दु:खी छैन ।’
नेपाल आइडलको यात्रापछि उनलाई पछाडि फर्किनु परेको छैन रे । ‘रेकर्डिङ र कन्सर्टमा बिजी हुन्छु, रचनाले भनिन् ।’
‘रुमाल चिनो’ भन्ने रचनाको पहिलो गीत १० कक्षामै हुँदा रेकर्डिङ भएको थियो । उनको जिन्दगी गीत-संगीतकै भरमा टिकेको छ । उनको पहिलो चर्चित गीत ‘फोटो फिरिममा’ हो । उक्त गीतले उनको करियरको बाटो मात्र खोलिदिएन, देश-विदेशमा कार्यक्रम गर्न हवाईजहाज सयर गरायो । ‘फोटो फिरिममा’ काे भ्यूज झण्डै डेढ करोड छ ।

पहिलो कमाई २५ सय
सानो छँदा गाउँमा साप्ताहिक रुपमा आयोजना हुने भजन-किर्तनमा गीत गाउँदा-गाउँदै रचनाकाे स्वर मिठास बन्दै गएको थियो । उनका बुबा पुरोहित थिए । उनी आरतीमा भजन गाउन बुबासँगै जान्थिन्, जहाँ भजन किर्तन हुन्थ्यो । उनी गाउँथिन्, अरु स्वरमा स्वर मिलाउँथे ।
सानैदेखि गीत-संगीत भनेपछि हुरुक्कै हुने रचनाले पहिलो कमाई २५ सय पाएको बताइन् । ‘कभर गीत गाउँदा एक जनाले मलाई २५ सय रुपैयाँ दिनु भएको थियो । अहिले त चित्तबुझ्दो रकम पाएकी छु । डिमाण्ड गर्न पाएकी छु’, उनले भनिन् ।
झापा घर भएकी रचनाले पहिलो ‘हवाई यात्रा काठमाडौं टु भद्रपुर’ गरेकी थिइन्, त्यो पनि पहिलो गीत रेकर्डको क्रममा । ‘चटपटे बेच्ने यी बाल प्रतिभाको यति राम्रो स्वर’ भनेर युट्युबमा अन्तर्वार्ता भाइरल भएपछि सांगीतिक क्षेत्रका हस्तीहरुको ‘नोटिस’ भएकी थिइन् । यो कुरा नेपाल आइडलमा भाग लिनु अगाडिकै हो ।
उनलाई वसन्त सापकोटाले आफ्नै शब्द संगीतमा ‘रुमाल चिनो’ बोलको गीत रेकर्डिङ गर्ने अवसर दिएका थिए । एउटा भजनमा भाग लिँदा गाउने अवसर नदिएपछि गायिका बन्ने हुटहुटी रचनामा जागेको थियो । सोही कारण गायनमा लाग्नुअघि उनले केही गीतहरु गाएर फेसबुकमा राखिन्- ‘संगीतकार वसन्त सापकोटा अंकलले मेरो फेसुबकका केही गीतहरु सुन्नु भएछ । मेरो स्वर मीठो लागेपछि मलाई काठमाडौं बोलाउनु भयो र गीत रेकर्ड गराउनु भयो ।’ यसरी गायनमा आफूलाई पहिलो पटक वसन्त सापकोटाले ब्रेक दिएको उनले बताइन् ।
आफूलाई लक्की ठान्छु
प्रारम्भमा रचनालाई सांगीतिक क्षेत्रमा लागेर केहि हुँदैन जस्तो लाग्थ्यो रे । तर त्यस्तो होइन रहेछ । रचना अनुभव सेयर गर्छिन्- ‘कति जना बिचमै छोडिदिनु हुन्छ । तर नछोड्नु, एक दिन अवश्य सफलता मिल्छ । संगीत साधना चाहिँ चाहिन्छ है ।’
अरुको तुलनामा तपाईँलाई सफलता छिट्टै मिल्यो हैन र ? भन्ने प्रश्नमा उनले भनिन्- ‘हो नि, धेरै जना अग्रजहरु लामो समयदेखि संघर्षरत हुनुहुन्छ । म छोटो समयमा चिनिन पाएँ । माया पाएँ । त्यो देख्दाखेरी मलाई लक्की फिल हुन्छ ।’
प्रेम होइन करिअर बनाउने बेला हो
रचनालाई प्रेम प्रस्तावहरु धेरै आउँछ रे । ‘तपाईँलाई प्रेम प्रस्ताव कत्तिको आउँछ ?’ भन्ने प्रश्नमा रचनाले लजाउँदै भनिन्- ‘माया गर्नेहरुलाई, प्रेम प्रस्ताव गर्नेहरुलाई धन्यवाद भन्छु । ‘रिलेसन’ को नजरले सोचेका छैन । म त सानै छु नि ! धेरै कामहरु गर्न बाँकी छ । सफलता चुम्नु छ ।’
उनले अहिले प्रेम गर्नेभन्दा पनि आफ्नो करिअर बनाउने समय भएको बताइन् ।
रचनाले अहिलेसम्म आफ्नो धेरै राम्रा-राम्रा फ्यान पाएकी छिन् । ‘कसैले धेरै मेहनत गरेर स्केच बनाएर ल्याइदिनु हुन्छ । कति त टाढा-टाढाबाट भेट गर्न भनेर आउनुहुन्छ । त्यो देख्दा धेरै खुशी लाग्छ,’ उनी भन्छिन्- ‘तर कसैलाई व्यक्तिगत भेटेको छैन ।’ कलाकारहरुको अटोग्राफ लिन खोज्ने रचना अहिले आफैँ अटोग्राफ दिन पाउँदा खुशी छिन् ।
गीत गाउन छोड्दिम जस्तो लाग्थ्यो !
गाउँघरमा भजन धेरै गाउँथिन्, रचना । स्कुलमा ‘क्लास’ चढ्दै गएपछि गीत गाउन थालिन् । स्कुलमा अतिरिक्त क्रियाकलाप अन्तर्गतका कार्यक्रमहरु हुन्थे । उनलाई गीत गाएर सुनाउन भित्री इच्छा हुन्थ्यो । ‘स्कुलमा हुने प्रतियोगितामा नाम टिपाएर पनि गीत गाउन नपाउँदा, उद्घोषकले नाम लिई कार्यक्रम सकिँदा गीत गाउनै छोड्दिउँ जस्तो लाग्थ्यो’, रचनाले विगत सम्झिन्- ‘अबदेखि गीत गाउँदिन भन्थेँ । तर मेरो मन कहाँ मान्थ्यो र । तीन/चार दिनपछि गीत गाउन मन लागिहाल्थ्यो ।’
ममीको प्रेरणा

रचनालाई सांगीतिक क्षेत्रमा आउने प्रेरणा दिने धेरै छन् । ‘मलाई सांगीतिक क्षेत्रमा प्रेरणा दिने धेरै हुनुहुन्छ । गाउनु पर्छ, गाउन छोड्नु हुँदैन भन्ने धेरै हुनुहुन्छ’, रचना भन्छिन्- ‘विशेष चाहिँ मेरो ममी हो । ममीले नै नेपाल आइडलको स्टेजसम्म पुर्याउनु भएको हो । गाउन सिकाउनु भएको हो । मलाई सपाेर्ट गर्ने देश-विदेशमा धेरै हुनुहुन्छ।’
रचनाको भर, बन्यो पक्की घर

रचनाको परिवारमा पाँच जना सदस्य छन्, रचनासहित बाबा-ममी, दिदी र बहिनी । रचनाले चिटिक्क परेको नयाँ पक्की घर परिवारलाई उपहार दिँदैछिन् । यो कुराले उनलाई औधी खुशी लागेको छ । आफ्नो संघर्षको सन्तुष्टि मिलेको छ । ‘रचनाको धमिराले खाएको घर थियो, मक्किएको । कहिले सर्प आएर दु:ख दिने, सिलिङबाट सर्प झर्ने । डरै मर्दो’, उनले भनिन् ।
त्यो देख्दा मलाई दु:ख लागेको थियो । जसको पनि चाहना हुन्छ नि आफ्नो परिवार राम्रो होस्, सुखी होस्, खुशी होस् भन्ने । त्यसैले जसरी नि विदेशमा काम गर्न गएर भए पनि घर बनाउँछु भन्ने सोच्थेँ । तर आज गीत गाएर नै नयाँ घर दिन पाएँ’, उनले भावुक हुँदै आफ्नो अठोट पूरा भएको सुनाइन् ।
कुरा काट्नेहरु अहिले प्रशंसा गर्नुहुन्छ
सुरुवाती दिनमा रचनाको कामको कुरा काट्नेहरु नभएका होइनन् । कुरा काट्नेहरु गाउँमा भेटिए, गाउँ पर पनि । तर रचनाले यस कुराको कुनै वास्ता गरिनन् । ‘सबैले सपोर्ट गर्नुहुन्छ भन्ने पनि छैन’, ‘कसैले कुरा काटेनन् भने कसरी अगाडि बढ्ने ?’ कुरा काट्नेहरु नै सफलताको सिँढी भएको उनी स्वीकार गर्छिन् ।
‘त्यो कुरामा चिन्ता गर्ने कि काम गरेर अघि बढ्ने, आफूमा भर पर्छ । पहिले मेरोबारे जे पायो त्यहि भन्नेले अहिले केहि पनि भन्न सक्नु हुन्न’, रचनाले भनिन्- ‘त्यसमा मलाई ‘प्राउडफिल’ हुन्छ।’
म्युजिकमै ब्याचलर गर्न खोज्दैछु

पढाईमा खासै समय दिन नभ्याएकी रचनाले म्युजिकमै ब्याचलर गर्न खोज्दैछिन् । किनकि उनलाई थाहा छ, आफूले जान्नु पर्ने, सिक्नु पर्ने कुराहरु धेरै छन् ।
‘सधैँ एकै किसिमको शैली नचल्न सक्छ । त्यसैले आफूलाई समयसंगै ‘अपग्रेड’ गर्नुपर्ने हुन्छ’, रचना भन्छिन्- ‘राम्रो गर्ने हो, मेहेनत गर्दै जाने हो, पछिको दिन त कसले देखेको छ र ?’
अनि आफ्नै रचनामा नयाँ गीत ल्याउने योजना छैन त ? भन्ने प्रश्नमा रचनाले भनिन्- ‘छ नि । गीतहरु लेखेकी छु । सबैलाई देखाएर, सुनाएर ल्याउँछु । प्रतिक्रिया त चाहियो नि !’



