काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको उत्तेजक अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका युवा नेता किरण नेपालीले कडा आपत्ति जनाउँदै चुनौती दिएका छन्। सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै नेता नेपालीले रास्वपा सांसद सुनारलाई चेतावनीसहितको जवाफ फर्काएका हुन्। सुनारले विपक्षी दलका सांसदलाई ढोकाबाहिरै ठिक पार्ने आशयको अभिव्यक्ति दिएका थिए ।
रास्वपा सांसदको अभिव्यक्तिको प्रतिवाद गर्दै युवा नेता नेपालीले लेखेका छन्, `माननीय ज्यू, तपाईं ढोकामा ठिक पार्ने सपना नदेख्नुस्। म सानो पिउसो नै काफी छु तपाईंलाई ठिक पार्न। गरी खान छोडिदिएका छौँ, चुमचुम नगर्नुस्, ठेगान लगाउन नपरोस् ।´
नेता नेपालीले पद र शक्तिको आडमा अहंकार नदेखाउन चेतावनी दिँदै जनताको विश्वासलाई कमजोरीको रूपमा नलिन आग्रह गरेका छन्। `हामी चुप छौँ भने त्यसको अर्थ सत्य बोल्न नसक्ने होइन। समय आउँदा जनताले सही र गलतको हिसाब आफैँ गर्छन्,` उनले थपेका छन्, `पद र शक्तिको आडमा अहंकार देखाउनेहरू इतिहासमा धेरै टिकेका छैनन्।´
उनले लोकतन्त्रमा जनता नै सर्वोपरि हुने उल्लेख गर्दै जिम्मेवार भएर काम गर्न र अनावश्यक विवाद सिर्जना नगर्न समेत सुझाव दिएका छन्। लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने र जनताको आवाजभन्दा ठूलो कुनै शक्ति नहुने भन्दै नेता नेपालीले रास्वपा सांसदलाई जनताको भावनाको सम्मान गर्न सचेत गराएका छन्।
सुनारले यसअघि संसदभित्रै विपक्षी सांसदलाई भिड्न आइज चन्दै असंसदीय हर्कत गरेपछि आलाेेचित भएका थिए ।



