सिन्धुपाल्चोक। पाँच पोखरी क्षेत्रमा महाशिवरात्रिको पावन अवसरमा आयोजना गरिएको विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। फागुन १ गतेदेखि सुरु भएको आध्यात्मिक, सांस्कृतिक, साहसिक योग यात्रा सम्पन्न भएकाे हाे । समुद्री सतहबाट करिब ४२०० मिटर उचाइमा अवस्थित पवित्र पाँच पोखरी क्षेत्रमा याेग आयोजना गरिएको थियो। विश्वकै अग्ला तालहरूमध्ये करिब ९औँ स्थानमा मानिने यस धार्मिक स्थलमा सम्पन्न कार्यक्रमले सहभागीहरूलाई अद्वितीय आध्यात्मिक अनुभूति प्रदान गरेको आयोजकले जनाएको छ।
न्यू भिजन नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा हिमाली काखमै योग, ध्यान तथा साउन्ड हिलिङ्ग अभ्यास गरिएको थियो। शान्त वातावरण, हिमालको सकारात्मक ऊर्जा र प्राकृतिक सौन्दर्यबीच गरिएको साधनाले सहभागीहरूलाई मानसिक शान्ति, आत्मिक सन्तुलन र सकारात्मक ऊर्जा प्रदान गरेको बताइएको छ।

कार्यक्रमको विशेष आकर्षण सांस्कृतिक प्रस्तुति पनि रहेको थियो। कलाकार सबनम खड्गीले जीवित देवी कुमारीको भाव झल्काउने कुमारी नृत्य प्रस्तुत गर्नुभएको थियो। साथै ४२०० मिटरको उचाइमै मञ्जुश्री नृत्य प्रस्तुत गरी हिमाली भू–भागमा सांस्कृतिक चेतना र धार्मिक आस्थाको सशक्त सन्देश प्रवाह गर्नुभएको थियो। उच्च हिमाली क्षेत्रमा यस्ता सांस्कृतिक प्रस्तुति हुनु आफैंमा ऐतिहासिक र प्रेरणादायी मानिएको छ।
कार्यक्रममा काठमाडौं महानगरपालिका (सम्पदा तथा पर्यटन विभाग) को सहकार्य, पाँचपोखरी थाङपाल गाउँपालिका को सहयोग, थर्ड रक एडभेञ्चर्स, हिमानलयन वेलनेस फाउन्डेसन ,नेचुरल साउन्ड हिलिङ इन्टरनेशनल स्कुलकाे को साथ रहेको थियो। विभिन्न संघ–संस्थाको सहकार्यले कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने आधार तयार गरेको आयोजकको भनाइ छ।

आयोजक संस्थाका अध्यक्ष योगी अशोक शर्मा भट्टको विशेष पहलमा सम्पन्न उक्त कार्यक्रममा महाशिवरात्रिको अवसरमा योग, साउन्ड हिलिङ्ग, कुमारी नृत्य तथा मञ्जुश्री नृत्य एकैसाथ सम्पन्न गरिएको थियो। उहाँका अनुसार यस प्रकारको कार्यक्रमले पाँच पोखरी क्षेत्रलाई आध्यात्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको समन्वित गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

उक्त कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिका, न्यू भिजन नेपाल, काठमाडौं महानगरपालिका तथा पर्यटन र योगप्रति आस्था राख्ने गरी जम्मा २५ जना सहभागी हुनुभएको थियो।
प्राकृतिक शान्ति, हिमाली ऊर्जा, योग–ध्यान साधना र समृद्ध सांस्कृतिक प्रस्तुतिको संगमले सहभागीहरूका लागि यो यात्रा जीवन परिवर्तन गर्ने अनुभवका रूपमा स्थापित भएको छ। साथै यस कार्यक्रमले पाँच पोखरी क्षेत्रको धार्मिक आस्था, ऐतिहासिक महत्व तथा पर्यटन प्रवर्द्धनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।



