कबिर शर्मा । नेपाली कांग्रेस गरिमामय इतिहास बोकेको सङ्घर्षशील पार्टी हो। यस पार्टीले २००७ सालको क्रान्तिदेखि हालसम्मको परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। राष्ट्रियता लोकतन्त्र र समाजवादको आधारभूत सिद्धान्त अंगालेको यस पार्टीले यसका पक्षमा खेल्दै आएको भूमिका यहाँहरुलाई पनि सर्वबितिदै छ। बदलिँदो कांग्रेसले मात्र देशको देश बदल्न सक्ने तथ्यलाई महसुस गरी भर्खरै विशेष महाधिवेशन सम्पन्न गरी समुन्नत नेपाल सम्मानित नेपालीको लक्ष्य पूरा गर्न हामी चुनावमा होमिएका छौं । यस्तो गरिमामय मूल्य, मान्यता र आदर्शलाई आत्मसाथ गरी पार्टीको तर्फबाट मैले काठमाडौँ क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार हुने अवसर प्राप्त गरेको छु। यसलाई मैले आफ्नो निजी स्वार्थलाई भन्दा पनि समाजको सेवामा समर्पण गर्दै राष्ट्र, राष्ट्रियता, स्वाधिनताको पक्षमा आफूलाई समर्पण गरेको छु । मेरो बारेमा मेरो आम मतदातालाई सूचित गराउने पनि मेरो दायित्व हो। तसर्थ यस सामाजिक सञ्जाल मार्फत केही तथ्यगत जानकारी प्रस्तुत गरेको छु।
आसन्न २०८२ फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको तर्फबाट उमेद्वारी दर्ता पछि प्रथमपटक म आफ्नाबारेमा केहि कुराहरु राख्न गइरहेको छु। म सँग यस भन्दा अगाडि परिचित नहुनु भएका मतदाताज्यूहरुलाई मेरो बारेमा जान्न र मतदान मार्फत यस क्षेत्र तथा समग्र देशकै लागि योग्य नेतृत्व छान्ने गम्भिर निर्णय प्रकृयामा तपाँइहरुलाई यसले केहि सहयोग पुर्याउनेछ भन्ने आशा पनि गरेको छु।
मेरो जन्मः
म हालको काठमाण्डौ क्षेत्र न. २ भित्र कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमै जन्मिएको एक युवा हुँ। मेरो घर अहिले पनि यहिँ नै छ। यहिं जन्मे, हुर्केको हिसाबले यहाँको सुखदुखसँग मेरो दैनिक प्रत्यक्ष सम्बन्ध जोडिएको छ। यहाँको सडक सफा हुँदा मेरो यात्रा सहज हुन्छ, यहाँको क्याम्पस स्तरिय हुँदा मैले मेरो छोरीको पढाइको लागि कता पठाउने भनेर सोच्नु पर्दैन। यस क्षेत्रको बासिन्दाको रुपमा तपाइँहरुले विगतमा जे भोग्दै आउनुभएको छ, त्यो मेरो पनि विगत ३८ वर्षको यथार्थ हो।
शिक्षा:
मैरो शिक्षादीक्षा यसै मूलपानी भेगमा रहेको सामान्य विद्यालयमा भएको हो। मैले मेरो उच्च शिक्षामा विज्ञान रोजेँ। मैले काठमाण्डौको त्रिचन्द्र क्याम्पसबाट भूगर्भशास्त्रमा विएस्सी पास गरेँ। भूगर्भशास्त्रको केन्द्रिय विभाग कीर्तिपूरबाट भूगर्भशास्त्रमै एम एस्सी पनि गरेँ।हाल म काठमाडौं उपत्यकाको भूमिगत जलसतहहरुको वर्तमान स्थिति र भूमिगत जलसतहको अध्ययन/अनुसन्धान गर्ने क्रममा रहेको छु । यसको उद्देश्य भनेको बढ्दो सहरिकरणसँगै कसरी हाम्रो भूमिगत जलसतहमा व्यापक गिरावटका कारण जमिन भासिने सम्भावनाको अध्ययन गर्नु हो।
पेसा म जन्मजात राजनितिज्ञ होइन, र मैले यसलाइ कमाइ खाने पेसाको रुपमा लिएको पनि छैन । राजनीतिलार्इ देश र जनाताको शिर उच्चोराख्न गरिने माध्यम ठानेको छु । पेशाले म एक भूगर्भशास्त्री हुँ। मैले २०७० सालमा भूगर्भशास्त्रीकै रुपमा देशको विभिन्न विकास परियोजनामा प्राविधिकको रूपमा काम गर्ने मौका पाएँ। मैले मेलम्ची खानेपानी आयोजना, चमेलिया जलविद्युत आयोजना, दोरदी जलविद्युत आयोजना जस्ता अनेकौँ जलविद्युत आयोजनामा काम गर्ने अवसर प्राप्त गरे ।यसका साथै, देशभरिका विभिन्न सडक आयोजनाका भौगर्भिक सर्भेहरु, २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण पछि क्षतिग्रस्त वस्तिहरुको भौगर्भिक जोखिम मूल्याङ्कनको काम गरी अनुभव प्राप्त गरे । परिणामत: म अहिले पनि परामर्शदाता भूगर्भविदको रुपमा काम गरिरहेकै छु।
मेरो रचि:
नेपालको माटो, चट्टान, खनिज, भूगोल, जलसम्पदा, पूर्वाधार, आधुनिक बस्ति विकास नै मेरा सर्वाधिक रुचिका विषय हुन। मैले विपीको जेल जर्नल, मदन भण्डारीको जनताको बहुदलिय जनवाद, प्रचण्डको प्रचन्डपथका आधारहरू समेत सम्यक अध्ययन गरेको छु । मेरो सर्वाधिक प्रिय पुस्तक मेरै भूगर्भशास्त्रका गुरु डा. मेघराज धितालले लेख्नुभएको पुस्तक “नेपाल हिमालयको भूगर्भशास्त्र” ले मलाइ उतिकै आकर्षण गरेको छ ।
राजनीतिक क्रियाशीलता:
भूगर्भशास्त्रीका हैसियतले मलाई देशको करिब करिब ६५ जिल्लाको अध्ययन, अवलोकन, भ्रमण गर्ने अवसर पाए। यसले मेरो देश, समाज र राजनितिलाई हेर्ने मेरो दृष्टिकोणमा व्यापक परिवर्तन ल्याएको छ। मैले के बुझेँ भने केवल २०० किमी उत्तर देखि दक्षिण लाग्दा यहाँको भूगोल र भूगर्भमा व्यापक विसमता देखिन्छ। यसबाट के कस्ता भौतिक निर्माण कहाँ के कसरी गर्नुपर्छ भन्ने तथ्य बुझेको छु । उत्तरको जमिन र दक्षिणको माटो नै फरक छ। उत्तरको भूगर्भमुनि लुकेको बहुमुल्य पत्थर र दक्षिणको चुरे र तराई मुनिको पेट्रोलियम भण्डारमा फरक छ। हिमाल र पहाडमा विदयालय, बाटो वा स्वास्थचौकी बनाउने प्रविधि र चुनौती फरक छन। उत्तरका विपद र दक्षिणका मानिसले भोग्ने विपदमा पनि फरक छ।
यसरी देशको भौगोलिक विषमताका कारण सिर्जित भएको पूर्वाधार र पहुँचको अन्तरले देशभित्र जुन आर्थिक तथा शैक्षिक असमानता जन्मिन पुग्यो, त्यसैको जगमा आजसम्म राजनीति गर्ने नेताहरुले सत्तामा बस्नेहरुको नकरात्मक आलोचना गरेर स्वयं आफूलाई सत्तारोहण गराइरहे र यो म्यूजिकल चेयर रेसको अन्तय भएको छैन अझै चलिरहेको छ।
अरुको नकरात्मकताको प्रचार गर्ने र रुमानी सपना बाँडेर निर्वाचित हुनु बाहेक हाल यस क्षेत्रबाट तथा देशभरीबाट नै निर्वाचित नेताहरूले उल्लेख्य स्मरणीय कार्य गर्न सकेका छैनन् । यसको कारण देशको भूधरातल नबुझ्नु नै थियो। देशको भूगोलमा आधारित स्रोतको पहिचान र समस्याको पहिचान गर्नु नसक्नु नै थियो। सपना देख्नु नराम्रो कदापि थिएन तर सपनालाई योजना वा परियोजनामा परिवर्तन गर्न चाहिने स्रोत (Resource), समय (Time) र साधन लागनी (Investment) को बारेमा कहिल्यै तयारी भएको पाइएन । परिणामत: हामीले कहिले देश कहिले स्विजरल्यान्ड, कहिले दश वर्षमा युरोप हुने सपनालाई पत्यायौँ, त कहिले उपत्यकाको फोहोरलाई मोहोर बनाउने, ३ वर्षमै युरोपमाझैँ उपत्यकाका सडकमा टाइम टु टाइम सार्वजनिक सवारी गुड्ने सपनामा विश्वास गर्यौ ।
देश घुम्ने क्रममा मैले बुझेँ, सपना सुनाउनु र योजना कार्यान्वयन गर्नुमा फरक रहेछ। सपना एक नेताले मात्रै पनि देखाइदिन सक्छ, तर योजना बनाउन एक भुगोल प्रविधि बुझेको नेतासँग विज्ञ पनि सँगै वस्नु पर्छ भन्ने मान्यता स्थापित गर्न एक भूगोल, भुगर्भ र प्रविधि बुझेकै मानिस स्वयं राजनीतिमा आउनु पर्छ भन्ने ठानेर मैले प्रतिनिधि सभाको निर्वाचनमा उमेद्वारी दिने निर्णय गरेँ।
सपना र योजनाः
मैले जितेँ भने म क्षेत्र न. २ र समग्र देशकै कायापलट गरिदिन्छु भनेर बाँडनका लागि मसँग रुमानी सपना छैनन्। तर म मेरो क्षेत्रका मतदाताको शिर भने कदापि झुक्न दिने छैन । म आफ्नो जिम्मेवारीलाइ सत्य, निष्ठा र इमान्दारीताका साथ पूरा गर्नेछु ।
मेरो निर्वाचन क्षेत्रको भौगोलिक विविधता, यहाँको जनसंख्या, पूर्वाधारको पहुँचको फरक, आयस्रोत आदि अन्य निर्वाचन क्षेत्रको भन्दा फरक छ।पटाप , नाङ्लेभारेको केराबारी ग्रामिण क्षेत्रदेखि काठमाडौँ माहानगर पालिकाका कोटेश्वर,बत्तिसपुतली जस्ता क्षेत्रहरू यहाँ रहेका छन्। शङ्खरापुरका नाङ्लेभारे, जहरसिङ पौवा कात्तिके वज्रयोगिकनि शालिनदि पालुवारी झुले वनदेवि जस्ता क्षेत्रमा कृषि आयआर्जन, पर्यटन र रोजगारीका लागि अवसर दिने पर्याप्त विकास निर्माणका काम गर्नुपर्नेछ भने सहरोउन्मुख क्षेत्रहरूमा विभिन्न खालको सिपहरूबाट रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गर्नुपर्ने देखिन्छ। भूगोल, प्रविधि, शिक्षा, आय आर्जनका स्रोतमा मेरो निर्वाचन क्षेत्रको विविधता मेरो देशको समग्र भुगोलको जस्तै छ। यसैले, सबै समस्यालाई एउटै विधि, प्रकृया र समान स्रोतले सम्बोधन गर्न सकिँदैन। यसका लागि विकास र रोजगारीका विभिन्न ढाँचाहरू तयार गरी कार्यान्वयनमा ल्याउनु छ।संघीयता लागु भएसँगै देशमा ३ तहको सरकार छन् । काठमाडौंका क्षेत्र नं २ मा पनि स्थानीय, प्रदेश र संघीय सरकारहरुका संरचना छन् तर यहाँको क्षेत्रिय प्रतिनिधिको रुपमा मेरो भूमिका तीनै तहका सरकारहरूसँग समन्यव गरी कार्यान्वयन गर्नु हुने छ ।
मेरो मुख्य ध्येय, विकास भयो कि भन्ने हुने छ। मेरो क्षेत्रमा हुने विकासमा मैले क्रेडिट पाउनु पर्छ भन्ने सोच बाट म हिजो पनि मुक्त थिएँ भोलि पनि रहनेछु। क्षेत्र न. २ को सहरी विकाश, वैज्ञानिक भू-उपयोग वर्गीकरण, स्रोतको पहिचान, पूर्वाधार विकास, शैक्षिक उन्नति, विपद् पूर्वतयारी तथा व्यवस्थापन, भूमिगत जलस्रोत पुनर्भरण कार्यक्रम, संस्कृति संरक्षण आदिमा मेरा केहि योजनाहरु छन्। कान्तिपुर एकेडेमीको स्थापना होस् वा यहाँको सामुदायिक विद्यालयमा सुरु गरिएको रोबोटिक्स र एआइ कक्षाहरुको स्थापना यसको सुरुवात मात्र हो। यस क्षेत्रको विकाश गर्दै जाँदा गरेको कामको जस नआउला अरु कसैले जस लेला वा कसैले मेरो मूल्यांकन नगर्ला भन्ने हिनताबोध बाट म मुक्त छु। सधैँ रहनेछु।
सम्भावित निति निर्माताको रुपमा मेरो केहि बुझाइहरु
• प्रतिनिधि सभा सदस्यको मुख्य काम भनेको ऐन, नियम, कानुन बनाउने हो। सुशासनको प्रत्याभूति, समुन्नत नेपाल र सम्मानित नेपालीको नारा कार्यान्वयन गर्न विद्यमान संविधान, ऐन नियम तथा कानुनको संशोधन गर्नुपर्ने हुन्छ । यसका लागि सदनभित्र म आफ्नो आवाजलाई बुलन्द बनाउने छु ।
• देश स्रोत नभएर गरिब भएको होइन। स्रोतको समयमा पहिचान र प्रयोग नभएर गरिब भएको हो। नेतृत्वको ढिला सुस्ति र इमान्दारिता नभएर हो। उदाहरणः हाल दैलेखमा पहिचान भएको भनिएको, नेपाललाई ५० वर्ष पुग्ने भनिएको प्राकृतिक ग्याँस आज भन्दा करिब ३० वर्ष अघि नै थाहा भएको थियो। गणेश हिमालको शिसा जस्ता गोदावरीको मार्बल, हेटौडाको चुनढुङ्गा, धादिङको रुबी खानी पत्ता लागेको जुग भइसक्यो।
• खनिज सम्पदा, पानी, प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता हामीसँग भएको सम्पति हुन। भएको स्रोतको पहिचान र प्रबर्धन नगरि असम्भव महत्वाकांक्षा जनतालाई बेचेर देश धनि हुन सक्दैन।
• सरकारी कार्यालयमा हुने ढिला सुस्ती र भ्रष्टचारको एक मात्र कारण कर्मचारी अनैतिक भएर होइन। कर्मचारी भ्रष्ट हुनुमा कर्माचारीको न्यून तलब वा उच्च आर्थिक महत्वाकाङ्छा मात्र नभएर व्यक्तिको प्रगतिको गणनाको एक मात्र मापक पैसा हो भन्ने गलत भाष्य समाजमा स्थापित हुनु एक प्रमुख कारण हो। शिक्षक कर्मचारी, प्रहरी स्वास्थकर्मीहरु जस्तो विशिष्ट पेसाको सामाजिक मर्यादा पैसाको आधारमा नभइ उनिहरुको योगदानको आधारमा सम्मान गरिने परिपाटी नबसी भ्रष्टचार रोक्न सकिँदैन भन्ने मेरो ठहर छ ।
• नकरात्मताको विक्री (sales of negativity) नेपाली राजनितिको विकृति हो। रुमानी सपना र कार्यान्वयन गर्न सकिने योजनामा फरक छ। गाली गर्नु र योजना बनाउनु फरक कुरा हो। गाली गर्नेहरु नेता बन्न सक्छन, तर योजना बनाउन शेक्षिक र प्राविधिक ज्ञान अनिवार्य छ।
• सार्वजनिक खरिद ऐन र नियमावली “सस्तो नै राम्रो” भन्ने मान्यतामा आधारित छ। न सस्तो सँधै राम्रो हुन्छ, न महंगो किनेर राम्रो हुन्छ। सार्वजनिक खरिद सेवाको आवश्यकताको आधारमा हुनु पर्छ। हरेक खरिदको लागि विशिष्ट मापदण्ड बनाइनु पर्छ।
• उत्पादनमा आधारित अर्थतन्त्र मात्र दिगो हुन्छ। सामाजिक सुरक्षाको आर्थिक स्रोत वस्तुको निर्यात हुनु पर्छ। राज्यको निति नीति उद्योगीलाई सताउने होइन, सघाउने हुनु पर्छ। आयात र रेमिटान्सको आम्दानी बाँडेर सामाजिक सुरक्षा दिगो बनाउन सकिँदैन।
• भूकम्प बाढी पहिरो आदि भूविपद्लाई ध्यानमा नराखी बनेका निजी वा सार्वजनिक संरचनाले देशलाई वर्षौ पछाडि धकेल्न सक्छन्।
इतिहास हेर्दा, २०८२ को चुनाव सम्म आइपुग्दा असल नेतृत्वको खोजीमा क्षेत्र नं २ ले परिक्षण नगरेको भनेको कुनै शक्ति छैन। म चाहन्छु, यो चुनावमा जनताले म, नयाँ अनुहार, ४० मुनिको वा परीक्षण नभएको आधारमा होइन, मेरो पृष्ठभूमि, मेरो योग्यता र मेरो इमान्दारितालाई आधार बनाएर मात्र मलाई भोट खसालोस्। म मेरा प्रतिस्पर्धीको कमजोरी के छ भनेर खोतल्दै समय खेर फाल्न चाहन्न।नकरात्मकता सुन्न रमाइलो हुन्छ, तर त्यसले आफ्नै मष्तिष्कमा नकरात्मक उर्जा पनि पैदा गर्छ। त्यसैले यस क्षेत्रमा मतदाता रहनु भएका तमाम मतदाताज्यूहरुलाई मेरो के अनुरोध छ भने मतदान गर्ने बेला तपाईहरू उम्मेद्वारहरुको योग्यता मापन गर्ने आधारहरु बनाउनुस। ती आधारहरूलाई अङ्कभार दिदै जादा म अब्बल ठहरिए भने मात्र मलाई मतदान गर्नुहोला।
पुरानो पार्टी, नयाँ नेताः
उमेद्वारी दर्तापछि केहि मतदाताज्यूहरुले मलाई सुनाउनु भयो, कबिर शर्मा व्यक्तिगत रुपमा त ठिक छ, तर पार्टी पुरानो भयो। पुरानो पार्टीको उम्मेदवार भएकै कारण म योग्य हो वा होइन भन्ने द्विविधामा रहनु भएका तपाई सबै मतदातालाई यति भन्न चाहन्छु, इतिहासको विभिन्न कालखण्डमा नेताहरु कमजोरी रहेको कुरा सत्य नै हो। तर यो त्यहि पार्टी हो, जसको मूल जरामा बिपीको सङ्घर्ष, गणेशमानको त्याग र किसुनजीको निष्ठा पनि बसेको छ। सत्य र निष्ठाको जरोमा उभिएको पार्टीमा कुनै हाँगामा रोग लाग्न सक्छ, यस यथार्थ प्रति सचेत रहँदै, सवै विकारबाट आफूलाई मुक्त राख्दै आफ्नो सामाजिक भूमिका निर्वाह गरिरहन्छु।
मेरो बारेमा थप जान्न चाहने साथीहरुले मलाई फेसबुकमा मेसेज गर्न सक्नुहुने छ। म मेरो विगत, वर्तमान, राम्रा नराम्रा कुनै पनि प्रश्नबाट आफूलाई पर राख्ने छैन।
(शर्मा काठमाडौं क्षेत्र नं २ का कांग्रेसबाट प्रतिनिसभामा उम्मेदवार हुन्)


