काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच राष्ट्रिय सहमति निर्माण हुनु अपरिहार्य रहेको बताउनुभएको छ । राष्ट्रिय सहमति बिना देशले सही मार्ग समात्न नसक्ने उहाँको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार चितवनको भरतपुरमा आयोजित प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताउनुभएको हो ।
उद्घाटन समारोहमा मन्तव्य राख्दै अध्यक्ष लिङ्देनले परिवर्तन र विकासका लागि जनतामा तीव्र अभिलाषा रहेको उल्लेख गर्नुभयो । “हामीले जनताको विशिष्ट चाहनालाई सम्बोधन गर्नै पर्छ,” उहाँले भन्नुभयो, “विगतको नेतृत्वमा रहेका कमजोरीका कारण जनताले नयाँ विकल्प रोजेका हुन् । समस्या केवल नेताहरूमा मात्र होइन, उनीहरूले ल्याएको वर्तमान संविधान र संवैधानिक व्यवस्थामा पनि छ ।” उहाँले यस व्यवस्थामा रहेका त्रुटिहरू सुधार र परिवर्तन नगरेसम्म तथा राष्ट्रिय सहमति कायम नगरेसम्म मुलुक अघि बढ्न नसक्ने जिकिर गर्नुभयो ।
यो राजनीतिक सुधार र परिवर्तनको ऐतिहासिक जिम्मेवारी तथा चुनौती रास्वपाको यस महाधिवेशनमाथि आइपुगेको उहाँले औँल्याउनुभयो । रास्वपा नेतृत्व र प्रतिनिधिहरूलाई सचेत गराउँदै उहाँले भन्नुभयो, “इतिहासले तपाईँहरूलाई एउटा दुर्लभ अवसर प्रदान गरेको छ । दल र व्यक्तिको जीवनमा यस्तो अवसर सधैँ आउँदैन । यदि यो अवसर चुकाउनुभयो भने त्यो धोका तपाईँको पार्टी र नेतृत्वलाई मात्र हुने छैन, बरू सिङ्गो देश र आशावादी जनताप्रति ठुलो अन्याैैल हुने छ ।”
उहाँले रास्वपाको प्रथम महाधिवेशनले मुलुकलाई सही दिशा दिने नीतिगत निर्णय गर्न सकोस् भन्दै सफलताको सुखद् शुभकामना समेत व्यक्त गर्नुभयो ।



