काठमाडौं। जेनजी आन्दोलनपछिको देशको अवस्था सहज बनाउन ६ महिनाभित्र निर्वाचन गराउनुपर्ने म्यान्डेट पाएको अन्तरिम सरकारका मन्त्री एकपछि अर्को विवादमा फसेका छन् । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले फर्जी आयोजक र फर्जी निम्तोपत्र बनाएर अमेरिका भ्रमण स्वीकृत गराएका छन् ।
मन्त्रिपरिषद्को सोमबारको बैठकबाट अमेरिकामा आगामी ३ माघमा आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुने भनी भ्रमण स्वीकृत गरिएको छ । नेपाल सरकार वा अमेरिकामा रहेको नेपाली दूतावास वा अमेरिकी सरकारको अभिलेखमा नभएको आयोजक देखाई मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउनु अनियमित र गैरजिम्मेवार भएको भन्दै विरोध सुरु भएको छ ।
नागरिक सरकारमा बसेका मन्त्रीको विदेश भ्रमण मोह विषयमा चौतर्फी आलोचना भइरहँदासमेत अस्तित्वमै नभएका आयोजक खडा गरेर भ्रमणमा जानुले जेनजी आन्दोलन र सुशासनको नाराको मजाक भएको भन्दै राजनीतिक तथा प्रशासनिक वृत्तमा आलोचना भएको छ ।
प्रधानमन्त्रीको चासो रद्द हुनसक्छ भ्रमण
गैरसरकारी वा सरोकारवाला नै नचिनिएको कार्यक्रममा भाग लिनका लागि खेलकुदमन्त्री अमेरिका जान लागेको सूचना पाएपछि मन्त्रिपरिषद्बाट स्वीकृत भएको गुप्ताको भ्रमण रद्द हुने सम्भावना बढेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । ‘मन्त्रीज्यूले नै भनेपछि विस्तृत डकुमेन्ट क्याबिनेटमा माग्ने कुरा भएन, यदि त्यस्तो आयोजक नै अस्तित्वमा नभएको अवस्था हो भने उहाँको भ्रमण स्वीकृति रद्द हुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
मन्त्रिपरिषद्को २१ पुसमा बसेको बैठकको निर्णयको ८ नम्बरमा मन्त्री गुप्ताको अमेरिका भ्रमण स्वीकृत’दयगत उल्लेख छ । ‘२०८२ माघ ३ गते संयुक्त राज्य अमेरिकामा आयोजना हुने रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेन–जीसम्बन्धी कार्यक्रममा सहभागी हुन माननीय युवा तथा खेलकुदमन्त्रीलाई स्वीकृति प्रदान गर्ने,’ निर्णयमा उल्लेख छ ।
सहयोगीलाई अमेरिका उडाउने गृहकार्य
मन्त्री गुप्ताले आफूनिकट केही युवालाई ‘जेनजी मुभमेन्ट’को नाम राखेर कार्यक्रम आयोजना गर्न लगाएको उनकै सचिवालयका व्यक्तिले सार्वजनिक गरिदिएका छन् । ‘मन्त्रीज्यूका सहयोगी, स्वास्थ्यकर्मी तथा जेनजी मुभमेन्ट एक्सपर्ट गरी पाँच–सात जनालाई आफ्नै खर्चमा जाने गरी भ्रमण दलका सदस्य बनाएर भिसा प्रयोजनका लागि समन्वय गरिएको छ,’ गुप्ताको सचिवालयका एक युवाले राजधानीसँग भने ।
नेपालस्थित अमेरिकन दूतावासको कन्सुलर शाखामा यूएस युथ काउन्सिलको सदस्यको हैसियतमा सहज पहुँच भएका गुप्ताले मन्त्रीको भ्रमण दलका सदस्य भन्दै कति व्यक्तिलाई भिसा सहजीकरण गरेको भन्ने यकिन हुन सकेको छैन । गुप्ताले हन्ड्रेड ग्रुपको टिम म्यानेजमेन्टमा संलग्न केही युवालाई आफू मन्त्री भएलगत्तै युवा तथा खेलकुदसम्बन्धी कार्यक्रमको आयोजना गर्न र सहभागिताका लागि जाने तयारी गर्न निर्देशन दिएका छन् । आजकाे राजधानी दैनिकमा खबर छ ।

