काठमाडौँ । नेपाली कांग्रेस सम्बद्ध युवा–विद्यार्थी शक्तिले पार्टीभित्र बढ्दै गएको गुटगत खिचातानीविरूद्ध सशक्त खबरदारी गर्ने उद्देश्यसहित मंसिर १२ गते तिनकुनेस्थित राेयल बैंक्वेटमा बृहत् युवा–विद्यार्थी भेला आयोजना गर्ने भएका छन्।
देशभरका आस्थावान युवा–विद्यार्थीहरूको नेतृत्वमा हुन लागेको उक्त कार्यक्रममा पार्टी कमजोर पार्ने “विशेष महाधिवेशन” जस्ता अस्वभाविक अभ्यासले लोकतान्त्रिक संगठन प्रणालीमाथि आघात पुर्याएको निष्कर्ष निकालिएको छ। युवा–विद्यार्थी नेताहरूले स्पष्ट सन्देश दिएका छन्— “विशेषको राजनीति काँग्रेसको शक्ति होइन, कमजोरीको मार्ग हो। पार्टी बचाउने एकमात्र बाटो समयमै नियमित अधिवेशन हो।”
भेलाको तयारीस्वरूप आज जमलस्थित एल्लाे प्यागाेडामा रणनीतिक बैठक सम्पन्न भएको छ। बैठकमा बाग्लुङ जिल्लाबाट पार्टी संगठनका प्रमुख नेतृत्वकर्ता लगायत प्रभावशाली नेतागणको उपस्थिति थियो। सहभागी नेताहरूले विशेष–महाधिवेशन पक्षधरहरूको स्वार्थप्रेरित कदमलाई ‘पार्टीको आस्थामाथि षड्यन्त्र’ को संज्ञा दिँदै संगठन संरचनाविपरीतका गतिविधिलाई तत्काल रोकिनुपर्नेमा जोड दिएका छन्।
बैठकमा पार्टीका भ्रातृ–संस्थाका केन्द्रीय सदस्यहरू, महिला–संघ, किसान–महासंघ, तरुण–दल, युवा–विद्यार्थी संघ तथा देशभरका दबंग युवा–विद्यार्थी कार्यकर्ताको सहभागिता थियो। कार्यक्रमको दिन विभिन्न जिल्लाबाट र्यालीसहित हजारौँ कार्यकर्ता राजधानी प्रवेश गर्ने निर्णयसमेत भएको छ।
तरुण दलका केन्द्रीय सदस्य तथा युवा नेता रोशन पाण्डेले बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै भने,
“काँग्रेसलाई फुट होइन, महाधिवेशन चाहिएको छ। विशेषको खेलले पार्टीलाई थला पार्छ, संगठन तहसनहस हुन्छ। हामी नियमित अधिवेशनमार्फत मात्रै काँग्रेसको अस्तित्व सुरक्षित हुन्छ भन्ने सन्देश बोकेर सडकमा उत्रिँदैछौँ।”
भेलामा नियमित अधिवेशनको मर्म, लोकतान्त्रिक उत्तराधिकार प्रणाली र युवा–विद्यार्थी रोलमोडेल नेतृत्वबारे धारिलो सम्बोधन हुने जनाइएको छ। आयोजक समितिले स्पष्ट चेतावनी पनि दिएको छ—
“मंसिर १२ को मञ्चबाट विशेषको अराजकताविरूद्ध अन्तिम युवा अल्टिमेटम जारी हुनेछ। पार्टीलाई कमजोर बनाउने कदम सह्य हुने छैन।”
अहिले पार्टीलाई चाहिएको छ— नेतृत्व हस्तान्तरणको लोकतान्त्रिक संस्कार, समयमै अधिवेशन, र गुटभन्दा माथि उठेको संगठन। त्यसैका लागि नेपाली कांग्रेस सम्बद्ध युवा–विद्यार्थी शक्ति निर्णायक आन्दोलनको मोर्चामा उत्रिँदैछ।

