काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले पार्टी महाधिवेशनको विषयमा पक्ष–विपक्षमा बाँडिएर द्वन्द्व बढाउने भन्दा विशेष महाधिवेशनको माग राख्ने साथीहरूको भावनालाई पनि समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोज्नुपर्ने बताउनुभएको छ ।
जारी केन्द्रीय समितिको बैठकमा बुधबार आफ्नो धारणा राख्दै डा कोइरालाले यतिबेला विशेष महाधिवेशनमा पार्टी जानु नहुने भन्दै बिशेष महाधिवेशन माग गरेका साथीहरूलाई पनि विश्वासमा लिएर अगाडि बढ्नु व्यवहारिक हुने बताउनुभयो ।
कोइरालाले सामाजिक न्याय र समतामुलुक समाज निमार्णको वीपीको विचारलाई स्थापित गर्न र नेपाललाई त्यो मार्गबाट समुन्नतिमा पु¥याउनका लागि द्धन्द व्यवस्थापनलाई केन्द्रमा राख्नुपर्नेमा आफू प्रष्ट भएको बताउनुभयो । उहाँले राष्ट्र र पार्टीको वर्तमान विषम परिस्थिति रहेको अवस्थामा हठात प्रतिक्रिया, आरोप, प्रत्यारोप, आवेग, हठ भन्दा विपरित विचारप्रति सहिष्णुता, सहअस्तित्वका साथ द्धन्द व्यवस्थापन गर्दै वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मनन् गर्दै एकतावद्ध पार्टी निर्माण आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले आफू सदैब यहि अभियानमा रहेको पनि उल्लेख गर्नुभयो । कोइरालाले भने – ‘आज नेपालमा द्धन्द व्यवस्थापन पुरानो पुस्ता र आजको पुस्ताबीच, मधेश र पहाडबीच, लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनबीचमा गर्नुपर्छ ।’
डा. कोइरालाले आज मुख्य बिषय भनकै फागुन २१ को निर्वाचन भएको बताउँदै उक्त निर्वाचनमा जान सबै राजनीति दल, नागरिक समाजलगायत सबैलाई एकतावद्ध बनाउनुपर्ने दायित्व नेपाली कांग्रेसको भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘यतिबेला नेपाली काँग्रेस आन्तरिक रुपान्तरणको चरणमा छ भने सँगै देशलाई सहि दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ । मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो । त्यही कारण काँग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ ।’ कोइरालाले निर्वाचनका लागि वातावरण बनाउने जिम्मेवारी सरकारको भएको बताउँदै भन्नुभयो– ‘यतिबेला देशमा भयरहित वातावरण छैन । सरकारलाई वातावरण बनाउन दबाब दिउँ, प्रहरीबाट लुटिएका हतियार र जेलबाट भागेका कैदी फर्काउने दायित्व पनि सरकारको नै हो । यो जिम्मेवारी पूरा गर्न सरकारलाई दबाब बढाउँदै केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर फागुन २१ को निर्वाचनमा जाऔं ।’
पूर्वमहामन्त्री कोइरालाले जेनजी आन्दोलनपछि सरकार मात्र बदलिएको तर संविधान यथावत रहेको भन्दै फागुन २१ को निर्वाचन मार्फत बन्ने प्रतिनिधि सभाले आवश्यक संविधान संशोधन गरेर जेनजीका जायज माग पूरा गर्न सक्ने पनि बताउनुभयो । उहाँले काँग्रेस पार्टीले निर्णय गरिरहँदा वर्तमान संविधान, संघीयता, समावेशीता, जनसंख्याको आधारमा प्रतिनिधित्व, प्रेस स्वतन्त्रता आदिको हेक्का राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो –‘मुलतः हामीले सोच्नुपर्छ अबको दिनमा सरकारको डेलिभरी क्षमता कसरी बढाउने ? कसरी रोजगारीका अवसर बढाउने जस्ता विषयको अगुवाई कांग्रेसले गर्नुपर्छ ।’
उहाँले दुई छिमेकी मित्रराष्ट्रसंगको सम्बन्ध सुदृढिकरणमा हामीले विषेश ध्यान दिनुपर्ने भन्दै नेपालको हितमा उपयोग हुनेगरि मित्रराष्ट्रहरूको सरोकारलाई समेत ध्यानमा राखेर अगाडि बढ्नुपर्ने स्पष्ट पानुभयो ।
भदौ २३ र २४ गतेपछि आफ्नो मनमा केहि प्रश्न उठिरहेको भन्दै ०६२/६३ को जनआन्दोलनमा लोकतान्त्रिक अधिकारका लागि अब उप्रान्त कसैले पनि रगत बगाउनु पर्ने छैन भने तर अहिले फेरि रक्तपात र भयावहको अवस्था किन आयो ? यो परिस्थिति आउनुमा क–कस्को के के कमजोरी रह्यो ? ऐतिहासिक धरोहर सिंहदरबार, सवोच्च अदालत, शीतल निवासजस्ता सम्पदालाई किन निशाना बनाइयो ? जहानियाँ राणाशासन विरुद्ध फरक ढंगले बिद्रोहको बिगुल फुक्ने पिताजी कृष्णप्रसाद कोइरालाको बिराटनगरस्थित निवास किन ध्वस्त बनाइयो भनि प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो– ‘ लौहपुरुष गणेशमान सिंहको निवास चाक्सिवारी र सन्त नेता किसुनजीको आश्रममा भएको आक्रमणलाई लोकतन्त्रमाथि प्रहारका रुपमा मैले बुझेको छु । मिडिया हाउस, ब्यापारिक प्रतिष्ठान, निजि घर आदि जल्नु कुनै कोणबाट पनि सहि थिएन । निजि क्षेत्रलाई निरुत्साहित गरेर आजको विश्वमा कुनै देश समृद्ध बन्न संभव छैन् । सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी माथि भएको भौतिक आक्रमण अत्यन्तै निन्दनीय र दुःखद थियो । यो अमानवीय घटनाको म निन्दा गर्दछु ।’
उहाँले भदौ २३ र २४ गते घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै उक्त घटनाको निष्पक्ष छानबिन गरेर सम्पुर्ण वास्तविकता सार्वजनिक गरिनुपर्ने माग गर्नुभयो ।



