माेहनकुमार श्रेष्ठ ।
यसपटक बालुवाटारमा जेनजी पुस्ताका उदयमान युवा नेताहरुसंग साक्षात्कार गर्ने अवसर जुर्यो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दलहरु र जेनजी प्रतिनिधिका बीच बुधबार त्रिपक्षीय संयुक्त बैठक भएको थियो। त्यति ठूलो संख्यामा भएको तन्नेरी पुस्ताको बलिदान, सयौं घाइते र खर्बौंको भौतिक सम्पत्ति ध्वस्त भएको जेनजी विद्रोह र त्यसको जगमा बनेको जेनजी सरकारले बोलाएको बैठकमा सरकारको प्राथमिकता एवं जेनजी पुस्ताको फरकफरक धारणाले यथास्थितिमा परिवर्तन चाहने हामी जस्ता राजनीतिकर्मीलाई खिन्न तुल्यायो।
प्रधानमन्त्रीको कुर्सीबाट केपी ओलीलाई विस्थापित गरी सुशीला कार्की श्रीमानलाई स्थापित गर्ने र अहिलेकै प्रणाली, पद्धति र यथास्थितिलाई निरन्तरता दिने त्यो जेनजी विद्रोहको उद्धेश्य पक्कै थिएन। होनहार तन्नेरीहरुको बलिदान हुँदै गर्दा र कैयन् संरचनाहरु जल्दै गर्दाका जेनजीका माग र एजेण्डाहरु एउटा थियो भने बालुवाटार बैठकमा आइपुग्दा जेनजीका माग र एजेण्डा अर्को बन्न पुगेको आभास कम्तीमा मलाई चाँहि भयो। आफ्ना एजेण्डाका संवाहक जेनजीहरु त्यो बैठकमा आइपुग्न छुटेका वा छुटाइएका पो हुन् कि !
थरिथरि जेनजीका थरिथरिका कुरा सुन्दा जीवित जेनजीहरु ‘मिसगाइड’ हुन पुगेको र विभिन्न कोणबाट जेनजीका एजेण्डा ‘हाइज्याक’ भएको भन्ने आरोपलाई होइन भन्न नसकिने देखिन्थ्यो। निर्वाचनमा जान नहुने, निर्वाचनमा जान नसकिने, बलिदानलाई सम्बोधन नगरी निर्वाचनको औचित्य नहुने, कुनैपनि मूल्यमा निर्वाचन हुनैपर्ने, गणतन्त्र र संविधानमा सम्झौता हुन नहुने लगायतका विभिन्न विषयमा जेनजीका केही अस्पष्ट, विरोधाभासपूर्ण र मतैक्य नरहेको कुरा सुन्दा लाग्यो कि राजनीतिक दलहरुसंगको पहिलो बैठकमा प्रधानमन्त्री कार्कीले भन्नुभएको कुरा ठिकै रहेछ। प्रसङ्गवश यहाँ उल्लेख गर्नु सान्दर्भिक नै होला, उहाँले भन्नुभएको थियो- “यी जेनजीहरुले मेरो टाउको खाइसके, तिनका कुराहरु साझा र एकनासका छैनन्, कुरा बुझ्दैछन्, तिनीहरुलाई पनि बोलाउँछु, तपाईहरु पनि आइदिनोस्, एकै ठाऊँमा बसेर छलफल गरौं न है !”

हाम्रो पवित्र चाहना थियो, दलीय स्वार्थको असफल छायाँ जेनजीमा पर्नु हुँदैन, जेनजीबाट जनभावना अनुरुपको परिवर्तन मुखरित हुनुपर्छ। मूलभुत विषयमाथि प्रहार नगरे जेनजी विद्रोहको औचित्य पुष्टि हुन सक्ने छैन । तर किन्तु परन्तु गरेर झण्डै ६ दर्जन बढीको सहादत, सयौं घाइते र देशले भोग्नुपरेको अकल्पनीय भौतिक क्षतिको अवमूल्यन हुन पुग्छ भने बोध त्यहाँ पुगेका सबै जेनजीमा देखिएन। यो विद्रोहलाई कुनै नयॅा ठाऊॅमा पुऱ्याइएन भने यसको भार थेग्न गाऱ्हो पर्नेछ भन्ने जेनजीले बुझ्नुपर्ने हो । परिवर्तनको हुटहुटी भएका तर असंगठित जेनजी तागतले वर्षौंदेखिको कुशासन र दुष्चक्रलाई ढलाएको, हेलिकप्टर चढेर भाग्न बाध्य तुल्याएको कुरा बिर्सेर विद्रोहको मूल उद्धेश्यभन्दा पर जानु, वहकिनु र जानेर नजानेर प्रयोग हुनु “हाइज्याक”को आरोपलाई पुष्टि गर्ने बलियो आधार बन्नसक्छ। संविधानको खारेजी वा संविधान संशोधन, संसद विघटन, अन्तरिम सरकार, अन्तरिम संविधान, प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारको अन्त्य, भ्रष्टाचारीलाई कारबाही जेनजी प्रदर्शनका क्रममा घन्किएका नाराहरु थिए । यी विषयलाई वार्ताको टेबुलमा पुऱ्याउने दायित्व जेनजी कै थिए । तिकडमका माहिर खेलाडीहरुले जेनजीलाई एक हुन नदिएर, टुक्रा टुक्रामा विभाजित गराएर, फरकफरक मुद्धामा अडान लिन लगाएर यिनलाई ‘मिसगाइड’ गरिरहेका पो छन् कि भन्ने आशंका गर्ने प्रशस्त ठाऊॅ देखियो ।
प्रिय जेनजी,
तिम्रो पुस्ताका कलिला साथीहरुको क्रुर हत्या सम्झ, तिम्रै पुस्ताका गरिखाने, देश बचाउने देश बनाउने सपना बोकेका तर घाइते र अङ्गभङ्ग भएका युवा साथीहरुलाई छातीमा राखेर अलिक जिम्मेवार बन । खरानीको थुप्रोबाट जुरुक्क उठेर देश बनाउने र देश बचाउने तिम्रो सामर्थ्यलाई कमजोर नठान । तिमीहरुलाई विभाजित गर्न कुनै अवाञ्छित शक्ति वा स्वार्थ समूहहरु लागेका पो छन् कि, पहिचान गर । विगतका त्रुटि, कमजोरी सच्याएर देशलाई अघि बढाउने, सबल, सक्षम र समृद्ध तुल्याउने कार्यभार पूरा गर्न तयार होऊ । असफल विचार, असफल मार्गचित्रबाट असफल ठाऊँमै पुगिन्छ भन्ने प्रमाणित भइसकेको छ। संविधान संशोधन नगरी हुने निर्वाचनबाट जेनजीले प्राप्त उपलब्धि पनि गुमाउने हो, केही प्राप्त गर्नेछैन। कसैले नहार्ने देशले जित्ने वैकल्पिक विचार र मार्गचित्रबाट अघि बढ्न त्यहि बालुवाटार बैठकमा एक्लै जस्तो भएपनि हामीले (राप्रपाले) चर्कै स्वरमा भनेको सायद सुनियो पनि होला- राष्ट्रिय चरित्र सहितको परम्परागत शक्तिको प्रतिनिधि संस्था राजसंस्था(राजा), अहिलेको परिवर्तनकारी शक्ति जेनजी र राजनीतिक दलहरुका बीच त्रिपक्षीय समझदारी गरौं । फेरि पनि कुनै न कुनै शक्तिलाई निषेध गर्ने हो भने अहिलेका जेन अल्फा समेत विद्रोहका लागि तयार हुनुपर्नेछ।
भगवान ! देशले त्यो नियति भोग्न नपरोस् !
( राप्रपा प्रवक्ता श्रेष्ठ प्रधानमन्त्रीले आव्हान गर्नुभएकाे सरकार, जेनजी र दलहरूकाे बैठकमा सहभागी हुनुहुन्थ्याे)

