काठमाडौं : नेपाली कांग्रेसकाे संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरविरुद्ध “काउन्टर अट्याक”काे रणनीति अख्तियार गरेकाे पाइएकाे छ । असाेज २८ बाट जारी केन्द्रीय समिति बैठकबाट वर्तमान केन्द्रीय कार्यसमितिकाे म्याद थप्ने र १५ औं महाधिवेशन २०८३ सालमा मात्र गर्ने संस्थापन पक्षकाे रणनीति छ ।
मंसिरमा नियमित महाधिवेशनकाे लागि केन्द्रीय कार्यसमिति तयार नभए विशेष महाधिवेशनकाे विकल्पमा जाने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकाे याेजनामा ब्रेक लगाउन संस्थापन पक्षले जिल्ला-जिल्लामा हस्ताक्षर संकलन थालिसकेको छ ।
“केन्द्रीय समिति बैठकले लिने निर्णय हामीलाई मान्ने हुनेछ” भनेर लेखिएको फारममा संस्थापन पक्षले जिल्ला-जिल्लामा पठाएर महाधिवेशन प्रतिनिधिकाे हस्ताक्षर संकलन गराइरहेकाे छ ।
धुबीखाेलामा बसेकाे रणनीतिक बैठकबाट का.वा सभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशाेरसिंह राठौर, नेताहरु विजय गच्छदार, गाेपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक काेइराला, कृष्णप्रसाद सिटाैला, प्रकाशशरण महत (सात भाइ), बालकृष्ण खाँण, रमेश लेखक, एनपी साउद, ज्ञानेन्द्र कार्की लगायतले हस्ताक्षर संकलन सुरु गराएकाे पाइएको हाे ।
विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिकाे हस्ताक्षर संकलन गरिएकाे दाबीपछि संस्थापन पक्षले “केन्द्रीय समितिकाे निर्णय मान्ने हुनेछ” भन्ने नाममा ६० प्रतिशत हस्ताक्षर हस्ताक्षर संकलन लक्ष्य राखेकाे छ
महामन्त्रीद्वयकाे आह्वानमा गरिएको हस्ताक्षर संकलन फर्जी रहेकाे भन्दै दुई तिहाइ महाधिवेशन प्रतिनिधि पार्टी विग्रहकाे विपक्षमा उभिने संस्थापन पक्षकाे दाबी छ । “केन्द्रीय समितिकाे निर्णय मान्ने हुनेछ” भन्ने पक्षमा नेता शेखर काेइराला पनि उभिएकाे संस्थपान पक्षकाे दाबी छ ।
वर्तमान कार्यसमिति म्याद थप्ने केन्द्रीय समिति बैठककाे निर्णय विरुद्ध विशेष महाधिवेशनकाे अस्त्र अगाडि ल्याए महाधिवेशन प्रतिनिधिकै हस्ताक्षर मार्फत काउन्टर दिने संस्थपान पक्षले रणनीति देखिन्छ ।
संस्थापन पक्षकाे रणनीति हेर्दा २०८२ मा नियमित र विशेष दुवै तरिकाबाट कांग्रेसकाे महाधिवेशन हुने सम्भावना न्युन छ । त्यस्ताे अवस्था महामन्त्रीद्वयसहित विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका नेताहरुकाे एक्सन के हुन्छ ? कांग्रेस एक रहने- नरहने तय हुने देखिन्छ ।
(पत्रकार लाेकेन्द्र भट्टकाे फेसबुक वालबाट)



