काठमाडौं : नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.२ प्रतिनिधिसभा क्षेत्रीय समितिले जेनजीहरूले राखेकाे मागमा समर्थन व्यक्त गर्दै जेन जेनरेशन पुस्ताले उठाएका वैध मागहरूलाई गम्भीरताका साथ लिएर पार्टीभित्रै नयाँ ढंगबाट पहल थाल्ने प्रतिबद्धता व्यक्त गरेकाे छ । क्षेत्र नं २ का सभापती कविर शर्माकाे अध्यक्षतामा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । `साथै, सो पुस्ताको राजनीतिक सक्रियतालाई नेपाली कांग्रेसमा आबद्ध गराउने विशेष कार्यक्रम तथा योजनाहरू ल्याउने निर्णय गरियो ,´ बैठकपछि सभापति शर्माले भने ।  बैठकले जेनजीकाे प्रदर्शनमा भएकाे दमनकाे विराेध गरेकाे छ भने ताेडफाेड र अराजक गतिविधिकाे पनि छानविन माग गरेकाे छ ।

 बैठकका निर्णणहरू हेर्नुस् –

१. भ्रष्टाचारविरुद्धको प्रदर्शनमा भएको दमनप्रति विरोध र श्रद्धाञ्जलि!

भदौ २३ र २४ भ्रष्टाचारविरुद्धको जागरण अभियान र प्रदर्शनमा सहभागी जेन जेड जेनरेशनका युवाहरूमाथि भएको दमनप्रति घोर आपत्ति जनाउँदै प्रदर्शनको क्रममा सहादत प्राप्त गरेका युवाहरू तथा कर्तव्यपालनाको क्रममा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरिएको छ । साथै, घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरियो ।

२. तोडफोड, लुटपाट र अराजक गतिविधिको छानबिनको माग

प्रदर्शनको नाममा खरबौं रुपैयाँ बराबरको सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड, लुटपाट तथा अराजक गतिविधिमा संलग्न दोषीहरूको निष्पक्ष छानबिन गरी कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरियो ।

३. जेन जेड जेनरेशनको माग सम्बोधन र राजनीतिक सहभागिता

जेन जेनरेशन पुस्ताले उठाएका वैध मागहरूलाई गम्भीरताका साथ लिएर पार्टीभित्रै नयाँ ढंगबाट पहल थाल्ने प्रतिबद्धता व्यक्त गरियो । साथै, सो पुस्ताको राजनीतिक सक्रियतालाई नेपाली कांग्रेसमा आबद्ध गराउने विशेष कार्यक्रम तथा योजनाहरू ल्याउने निर्णय गरियो ।

४. सम्माननीय राष्ट्रपतिप्रति उच्च सम्मान

विषम परिस्थितिका बाबजुद संविधान, लोकतन्त्र र राष्ट्रको पक्षमा राष्ट्रपतिज्यूले लिएको कदमप्रति नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ ले उच्च सम्मान तथा प्रशंसा व्यक्त गरेको छ ।

५. राजनीतिक विश्लेषण र प्रतिवेदन तयारी

यस दुःखद घडीमा काठमाडौं–२ अन्तर्गतका सम्पूर्ण इकाइ तथा समितिहरूमा शोकसभा आयोजना गर्ने निर्णय गरियो । साथै, समसामयिक राजनीतिक घटनाक्रम र जेन जेड पुस्ताको मागका आधारमा नयाँ ढंगले राजनीतिक विश्लेषण गरी क्षेत्रीय समितिमा प्रतिवेदन बुझाउने निर्णय गरियो ।

६. पार्टी सभापति र नेतामाथि आक्रमणप्रति भत्सर्ना

पार्टी सभापति श्री शेरबहादुर देउवा तथा नेता कार्यकर्तामा भएको भौतिक आक्रमणको घोर भत्सर्ना गर्दै उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

७. संविधान दिवस मनाउने कार्यक्रम

२०७२ सालको संविधान जारी भएको गौरवमय दिनको स्मरणमा असोज ३ गते पार्टीका सबै तहका इकाई र समितिहरूमा संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरियो ।

८. गणेशमान सिंहको स्मृति दिवस

२०४६ सालको जनआन्दोलनका कमाण्डर एवं नेपाली कांग्रेसका वरिष्ठ नेता स्व. गणेशमान सिंहको २८औं स्मृति दिवसको अवसरमा असोज २ गते बिहीबार बिहान ७:३० बजे शोभाभगवतीमा हुने माल्यार्पण कार्यक्रममा पार्टीका सबै तहबाट प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरियो ।

९. हरिबोल भण्डारीप्रति हार्दिक श्रद्धाञ्जलि

नेपाली कांग्रेसका महासमिति सदस्य श्री हरिबोल भण्डारीज्युको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर